गाउँमा खाेला पसेपछि माेरङका ५० घर डुबानमा

 साउन १०, २०७६ शुक्रबार २०:१२:१९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – निरन्तरको वर्षाका कारण रंगेली नगरपालिका वडा नम्बर-८ को चाइनागेट नजिकै रहेको मुसहर बस्तीका ५० घर डुबानमा परेको छ । 

रंगेली नगरपालिकाको चाइनागेट नजिकै रहेको मुसहर बस्तीमा चिसाङ खोला पसेपछि ५० घर डुबानमा परेको हो । बिहीबार राति सुतिरहेको समयमा मुसहर बस्तीमा खोला पसेपछि गाउँलेहरु होहल्ला गर्दै गाउँ छोडेर बाहिर निस्किएका थिए ।

घरभित्र पानी परेपछि उनीहरुले चुलो पनि बाल्न सकेका छैनन् । पीडितहरुले गाउँमा पानी पसेको १८ घण्टा बितिसक्दा पनि कसैले चासो नदिएको आरोप लगाएका छन् । स्थानीय वडा सदस्य  मिरा दाहालले पीडित परिवारको पहिचान गरेर राहत वितरण गरिने जानकारी दिनुभयो । 
 
त्यस्तै विराटनगर महानगरपालिका वडा नम्बर-६ रामपुरको केशल्या खोला बाँध फुटाएर गाउँ पसेको छ । खोला गाउँमा पस्दा वडा नम्बर ६, १२ र १६ डुबानमा परेको छ । यी वडाका सिम्राही, दरैया र बखसी पश्चिमको क्षेत्र डुबानमा परेको सिम्राहीका मनोज ऋषिदेवले बताउनु भयो । 

खोला गाउँमा पसेपछि झण्डै ४५ ओटा घर डुबानमा परेका छन् । डुबान क्षेत्रका स्थानीयवासीलाई बखरी आधारभूत विद्यालयमा सारिएको छ भने केहीलाई नजिकै रहेका मन्दिहरुमा राखिएको छ  । त्यस्तै सशस्त्र प्रहरीकाे बेस क्याम्प पनि डुबानमा परेकाे छ । 

अन्तिम अपडेट: चैत २०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया