बैतडीमा नेपाल टेलिकमको टावरमा आगजनी

 साउन १८, २०७६ शनिबार १८:३:२७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको डिलाशैनीमा रहेको नेपाल टेलिकमको टावरमा शुक्रबार राति आगजनी भएकाे छ ।

नचिनेका मानिसहरुकाे समूहले डिलाशैनी गाउँपालिका-४, मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आगजनीबाट टावरमा रहेका ब्याट्री र तारहरु जलेर नष्ट भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

टावरमा कसले र किन आगजनी गरे भन्नेबारे थाहा हुन नसकेको भए पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको टावरमा आगजनी भएसँगै त्यस क्षेत्रका नागरिककाे अन्य ठाउँहरुसँगकाे सम्पर्क विच्छेद भएकाे छ । टावरमा आगजनीपछ सञ्चारविहीन हुनुपरेको स्थानीय नरेन्द्र विष्टले बताउनुभयो ।

यसअघि साउन १५ गते राति बैतडीको पुर्चौँडी नगरपालिकाको वडा नं -१, उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा नचिनेका मानिसहरुकाे समूहले आगजनी र तोडफोड गरेको थियो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया