कृषि कर्ममा रमाएको जेटीए जोडी: गाईपालनबाट मनग्य आम्दानी

 साउन २९, २०७६ बुधबार १४:१२:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - बुबाआमा चाहन्थे छोरा जागिरे होस् । तर वीरेन्द्रनगर–९, सुर्खेतका दिपेन्द्र कार्की बुबाआमाको चाहना विपरीत उभिनुभयो ।  कृषि जेटीएको पढाइ पूरा गर्नुभएका कार्कील आफैँ कृषि पेशा गर्न चाहनुहुन्थ्यो । त्यसैले परिवारको असहमति हुँदाहुँदै पनि जागिरतर्फ सोच्दै नसोची कृषि कर्ममा लाग्नुभयो । 

उहाँकी श्रीमती नीताले पनि कृषि जेटीए नै पढ्नुभएको थियो । चाहेको भए दुवै जना परिवारले भने अनुसार कुनै न कुनै जागिरमा जान सक्थे । नीता पनि सुरुवातमा श्रीमानले जागिर गरिदिएको भए हुन्थ्यो भन्ने नै चाहनुहुन्थ्यो । तर दिपेन्द्रले नीतालाई मनाउनुभयो ।

‘सुरुमा म पनि उहाँले जागिर नै गर्नुपर्छ भन्ने सोचमा थिएँ । उहाँले यो व्यवसाय सुरु गरौँ भनेपछि नाइँ भन्न सकिनँ । उहाँलाई नै सहयोग गर्ने निर्णय लिएँ’, नीताले भन्नुभयो, ‘अहिले आफैँ एक्लै गर्छु भन्ने आँट पनि आउँछ ।’  

यतिखेर यही पेशा उनीहरूका लागि गर्वको पेशा बनेको छ । बुबाआमा पनि खुशी छन् ।

कृषि जेटीए पढ्न दिपेन्द्र बर्दिया पुग्नुभएको थियो । नीता पनि त्यही कलेजमा पढ्नुहुन्थ्यो । पढ्ने क्रममा नै दिपेन्द्र र नीताको चिनजान भएको थियो । त्यहीँ उहाँहरूबीच प्रेम बस्यो । कृषि जेटीएको पढाइ सकेपछि दिपेन्द्र सिभिल इन्जिनियरिङ गर्न चितवन जानुभयो ।  नीता भने निम्न माध्यमिक तहमा राहत कोटामा शिक्षक हुनुभयो ।

चितवनमा पढ्ने क्रममा दिपेन्द्रले त्यहाँको कृषि क्रान्तिलाई राम्रोसँग नियाल्ने अवसर पाउनुभयो । आफूले पनि सुर्खेत आएपछि गाईपालन गर्ने योजना परिवारलाई सुनाउनुभयो । तर उहाँको योजना परिवारले अस्वीकार गर्‍यो । जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ उहाँले आफ्नो ईच्छालाई जसरी पनि पूरा गर्ने अठोट लिनुभयो । उहाँले सहकारीबाट ऋण लिएर सुरुमा तीन वटा गाई किनेर व्यवसाय सुरु गर्नुभयो ।

करिब ६ लाख रुपैयाँको लगानीमा व्यावसायिक रूपमा गाईपालन सुरु भयो । व्यवसायमा दिपेन्द्र र नीता दुवै लाग्नुभयो । दिपेन्द्र र नीताले २०६६ सालदेखि निरन्तर व्यवसायिक रूपमा गाइपालन गरिरहनु भएको छ ।  सुरु–सुरुमा दिपेन्द्र दूध बेच्न आफैँ वीरेन्द्रनगरको बजार पग्नुहुन्थ्यो । ‘सुरुमा बीस-पच्चीस लिटर दूध बेच्न आफैँ जान्थेँ । यति धेरै पढेको मान्छे किन जागिर नखाएर दुखारी काम गर्न थाल्यो भनेर कुरा काट्थे । यसको बुद्धि सकियो भनेर पनि भन्थे’, आफ्ना संघर्षका दिन सुनाउँदै कार्कीले भन्नुभयो, ‘पहिले कुरा काट्नेहरूले नै अहिले उदारणीय काम गरेको भन्दै प्रशंसा गर्छन् ।’

 

गाईपालन सुरु गर्दा अस्वीकार गरेको घरपरिवारबाट समेत राम्रो सहयोग मिल्दै आएको छ । दिपेन्द्रका बुबा अहिले छोराबुहारीसँगै गाइ फार्ममा भेटिनुहुन्छ । ‘मैले कृषि पेशाबाट पैसासँगै नाम पनि कमाएको छु । साथै घरपरिवारको साथ पनि पाएको छु’, उहाँले भन्नुभयो, ‘यसबाट मेरो परिवार खुुशी छ ।’

कार्की दम्पतीको गाई फार्ममा अहिले १४ वटा गाई र नौ वटा बाच्छा छन् । दैनिक एक सय लिटर दूध बिक्री हुन्छ । हिउँदको समयमा एक सय ५० लिटरसम्म दूध उत्पादन हुन्छ । एक लिटरकाे ५५ रूपैयाँमा बिक्री हुन्छ । पहिले जसरी दूध बिक्री गर्न समस्या छैन । स्थानीय डेरीमै दूध दिन्छन् ।

‘पहिले होटल–होटलमा दूध बिक्री गर्न जानुपर्थ्याे’ उहाँले भन्नुभयाे, ‘अहिले उत्पादन बढेपछि डेरीमा दिन्छौँ । आम्दानी राम्रो भइरहेको छ ।’

सुर्खेत अझै पनि दूध उत्पादनमा परनिर्भर नै छ । दूधमा सुर्खेतलाई केही हदसम्म भए पनि आत्मनिर्भर बनाउनमा आफूहरूले थोरै भए पनि योगदान गरेको नीता र दिपेन्द्र बताउँछन् । उनीहरू भन्छन्, ‘एक–दुई वटा गाइभैंसी पाल्नुभन्दा व्यावसायिक रूपमा गर्न थालियो भने आत्मनिर्भर गराउन सकिन्छ ।’

उनीहरूलाई गाईपालनका लागि खासै समस्या छैन । आफैँले घाँस खेती गर्छन् । जसले खर्च व्यवस्थापनलाई कम गराइदिएको छ । एक बिघामा घाँस खेती गरिएको छ । घाँसबाट समेत आम्दानी हुन्छ । गाइको मलबाट मात्र वार्षिक साढे तीन लाख आम्दानी हुन्छ । उनीहरूले गँड्याैले मल उत्पादन गर्छन् जुन प्रति किलो १५ रूपैयाँका दरले बिक्री हुन्छ ।

‘मलको माग धेरै नै छ । मैले माग अनुसार पुर्‍याउन सकेको छैन’, दिपेन्द्रले भन्नुभयो । 

यही अवधिमा दिपेन्द्रलेे सानाकिसान सहकारी मार्फत् इजरायल जाने अवसर पाउनुभयो । उहाँ सन २०१५ मा इजरायल गएर एक वर्ष बस्नुभयो । ‘कृषि क्रान्तिले फड्को मारेको देशका बारेमा बुझ्ने अवसर पाएँ । त्यहाँ कृषि फर्म अवलोकन गरेँ’ उहाँले भन्नुभयो, ‘हामीले गोठ राम्रोसँग व्यवस्थापन मात्र गर्न सक्यौँ भने पनि धेरै राम्रो हुन्छ । मैले इजरायलबाट पनि धेरै नयाँ कुरा सिक्ने अवसर पाएँ ।’

अहिले गाईफर्म कार्की दम्पतीका लागि आम्दानीको स्रोत मात्र बनेको छैन, नयाँ व्यवसाय सुरु गर्नेका लागि प्रेरणाको स्रोत पनि बनेको छ । उनीहरूले पाएको सफलता हेर्न जानेहरू थुप्रै छन् ।

भैंसी तथा गाइपालनका लागि हेर्न जानेहरुलाई उनीहरूले सक्दो सहयोग पनि गर्ने गरेका छन् । कार्कीले अर्का साथी छवि खड्कासँगको सहकार्यमा अर्गानिक तरकारी खेती पनि सुरु गर्नुभएकाे छ । उत्पादित तरकारी कोपिला भ्याली समाज सुर्खेतले लैजाने सम्झौता छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया