सीमा नाकाको भन्सार, वर्षभरिको राजस्व संकलन ५ सय ७० रुपैयाँ मात्रै

 भदौ ३, २०७६ मंगलबार ८:१०:४८ | किरण लोहनी
unn.prixa.net

गोरखा – देशभरका भन्सार कार्यालयहरुले वर्षमा करोडौं र कतिपयले त अर्बौं राजस्व संकलन गर्छन् । तर देशको महत्वपूर्ण नाकामा रहेको एउटा भन्सार कार्यालयले एक वर्षमा जम्मा ५ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ ।

चीनसँग गोरखाको एकमात्रै नाकामा रहेको लार्के भन्सारले गएको आर्थिक वर्षभरमा जम्मा ५ सय ७० रुपैयाँ मात्रै राजस्व संकलन गर्न सक्यो । सदरमुकामबाट ४ दिनको पैदलयात्रापछि पुगिने चुमनुब्री गाउँपालिकाको जगत भन्ने ठाउँमा भन्सार कार्यालय रहेको छ । त्यहाँभन्दा माथि चुम र नुब्री उपत्यका रहेका छन् । दुवै क्षेत्रको उत्तर क्षेत्रबाट चीन प्रवेशको नाका छ ।

त्यही नाका भएर जडिबुटीलगायतका सामग्री आयात तथा निर्यात भइरहन्छ, तर वर्षभरिको भन्सार महशुल संकलन भने १ हजार रुपैयाँ पनि नाघ्न सकेको छैन । ‘गत आर्थिक वर्ष ५ सय ७० किलो वनलसुन चीनतर्फ निर्यात भएको थियो, प्रतिकिलो १ रुपैयाँका दरले ५ सय ७० रुपैयाँ भन्सार महशुल संकलन भएको हो’ भन्सार कार्यालयका प्रमुख बुद्धमान श्रीसले भन्नुभयो, ‘तर एक वर्षको खर्च भने ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।’ 

आम्दानी थोरै भए पनि कर्मचारी तलब, कार्यालयको भाडालगायत शीर्षकमा खर्च भने साढे चार लाख रुपैयाँभन्दा बढी हुन पुगेको भन्सार प्रमुख श्रीसले बताउनुभयो । आयात निर्यातको गतिविधि कम भएर मात्रै होइन, १० वर्षयता लगभग निस्क्रिय रहेको भन्सारमा बेला बखतमात्रै कर्मचारी पुग्ने गरेका कारण पनि राजस्व संकलन न्यून भएको स्थानीय बासिन्दाको भनाइ छ । दरबन्दीका कर्मचारी नियमित रुपमा कार्यालयमा नबस्दा महत्वपूर्ण नाकामा रहेको भन्सारले काम गर्न नसकेको हो । चुमनुब्री गाउँपालिका–३ को जगतमा रहेको भन्सार कार्यालयमा ४ कर्मचारीको दरबन्दी भए पनि उनीहरु नियमित रुपमा कार्यालयमा बस्दैनन् । 

आक्कल–झुक्कल कार्यालयमा कर्मचारी पुग्ने भएकाले भन्सारबाट हुनुपर्ने राजस्व संकलनलगायतको काम हुन नसकेको स्थानीय गणेश कार्कीले बताउनुभयो । भन्सार विभागका अनुसार लार्के भन्सारमा १ सुब्बा, १ खरिदार र २ कार्यालय सहयोगीको दरबन्दी रहेको छ । यसअघि ७ कर्मचारीको दरबन्दी रहेपनि लामो समयदेखि निस्क्रिय रहेको भन्सारको कर्मचारी दरबन्दी सरकारले कटौती गरेको हो ।

अहिले कायम गरिएको दरबन्दीका कर्मचारी पनि कार्यालयमा बस्ने गरेका छैनन् । एकजना मात्रै भएपनि नियमित कर्मचारी बस्ने गरेकोमा ३/४ वर्षयता भने कार्यालयमा तालानै लाग्ने गरेको कार्कीले बताउनुभयो । ‘वनलसुन लगायतका जडिबुटी ठूलो परिमाणमा चीनतर्फ निर्यात हुने गरेको छ, वनलसुन, सतुवालगायतका जडिबुटीको प्रति किलो एक रुपैयाँ राजस्व रकम निर्धारण गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘चीनबाट पनि सामान आइरहेको हुन्छ, तर भन्सार महशुल उठाउने कर्मचारी नै नभएपछि त्यसै पास हुन्छ ।’ 
 
उत्तरी भेगमा संकलित धेरैजसो वनलसुन यही नाका भएर तिब्बततर्फ निकासी हुने गरेको छ । यस्तै, दिनमा २/३ शय खच्चड आरुघाटबाट जगत हुँदै चुम र नुब्री उपत्यकातर्फ जाने गरेका छन् । ती खच्चडले के सामान ढुवानी गरेका हुन् र कहाँ लैजान्छन् भन्नेबारे पनि सोधीखोजी हुने गरेको छैन । भन्सार कार्यालयमा कर्मचारी बसेमा खच्चडले बोकेका सामग्रीबाट पनि थप राजस्व संकलन गर्न सकिने स्थानीय बासिन्दाको विश्वास छ । यस्तै, असोज, कात्तिक र चैत वैशाखतिर छेकम्पार र समागाउँसहित चुमनुब्री गाउँपालिकाका बासिन्दाले सीमा नाका हुँदै चीनबाट दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् ।

जगतमा रहेको कार्यालयले सामान ढुवानी गर्ने सिजनमा दुवै नाकामा घुम्ती टोली खटाएर राजस्व संकलन गर्ने गरेको थियो । जगतस्थित कार्यालयमै कर्मचारी नबसेपछि घुम्ती टोली खटिन पनि सकेका छैनन् । लार्के भन्सार प्रमुखको रुपमा दरवन्दी भएका बुद्धमान श्रीसले भने भन्सार विभागकै सल्लाहमा आफूहरु नियमित रुपमा कार्यालयमा नबसेको बताउनुभयो ।

भन्सार विभागका उपममहानिर्देशक तुलसी सेढाइले भने लार्के भन्सारलाई थप व्यवस्थित बनाउने योजना रहेको बताउनुभयो । विभागले भर्खरै गरेको समीक्षा गोष्ठीमा उक्त भन्सार कार्यालयको स्तरोन्नती गर्नुपर्ने राय प्राप्त भएको उहाँको भनाइ छ । आयात निर्यातको गतिविधि कम भएकाले लार्के भन्सार सक्रिय हुन नसकेको उहाँले बताउनुभयो । ‘त्यहाँ हुनसक्ने राजस्व संकलनको क्षेत्रबारे अध्ययन गरेर कर्मचारी ब्यवस्थापन लगायतको काम गर्छौँ’ उहाँले भन्नुभयो, ‘छिमेकी देश चीनसँग पनि छलफल गरेर यो कार्यालयलाई थप सक्रिय बनाउन सकिन्छ ।’  

नेपाली सेनाले पृथ्वी राजमार्गको बेनीघाटबाट गोरखाको उत्तरी क्षेत्र हुँदै तिब्बत जोड्ने गरी सडक बनाइरहेको छ । सडक सञ्जाल विस्तार भएपछि भन्सारको काम पनि थपिने स्थानीय बासिन्दाको विश्वास छ । पछिल्लो समय उत्तरी नाका हुँदै सुन तस्करी हुने गरेको विभिन्न घटनाबाट पुष्टि भएको छ । त्यसैले लार्के भन्सारमा नियमित रुपमा कर्मचारी बस्ने ब्यवस्था मिलाउनु पर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया