सोनाशक्ति ब्राण्डकाे चामलमा प्लास्टिक नमिसिएकाे पुष्टि, उत्पादक भन्छन्- उपभोक्ताकाे चासाेकाे सम्मान गर्छाैँ

 भदौ ४, २०७६ बुधबार १७:५१:३५ | किरण लोहनी
unn.prixa.net

गोरखा – भारतको रिपुराज एग्रो प्रालीले उत्पादन गरेको सोनाशक्ति ब्राण्डको चामलमा अखाद्य वस्तु नमिसाइएको पुष्टि भएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भैरहवामा भएको परीक्षणका क्रममा चामलमा प्लाष्टिक नमिसिएको प्रतिवेदन आएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

पकाएको चामल डल्लो बनाएर भुईँमा फाल्दा निकै माथिसम्म उफ्रिएको भन्दै गोरखा बजारका केही उपभोक्ताले चामलमा प्लास्टिक मिसाइएको हुन सक्ने आशंका गरेका थिए । 

जिल्ला प्रशासन र गोरखा नगरपालिकाले संयुक्त अनुगमन गरी चामलको नमुना परीक्षणका लागि पठाएको थियो । परीक्षणको प्रतिवेदन नआउँदासम्म सोनाशक्ति ब्राण्डको चामल जिल्लामा बिक्री गर्न रोक लगाइएको थियो । चामल गुणस्तरीय रहेको प्रतिवेदन प्राप्त भएसँगै बिक्री खुला गर्न बिक्रेताहरुलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले बताउनु भयो । 

चामल उत्पादक कम्पनी रिपुराज एग्रो प्रालीले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी खाद्य वस्तुको गुणस्तरका विषयमा उपभोक्ताले चासो देखाएकोमा खुशी व्यक्त गरेको छ । ‘यसबाट हामी हाम्रो उत्पादनको गुणस्तर खस्कन नदिनका लागि थप सचेत छौं’, कम्पनीका सञ्चालक रिपु रमनले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘प्लास्टिकको चामल बन्नै सक्दैन, कसैले बनाइहाल्यो भने पनि त्यस्तो चामल भात बन्न सक्दैन ।’ 

निर्यातका क्रममा भारतमै र नेपाल प्रवेश गर्ने नाकामासमेत खाद्य वस्तुको गुणस्तर परीक्षण हुने भएकाले उपभोक्तालाई अहित हुने गरी मिसावट लगायतका कमजोरी गर्ने छुट उत्पादकलाई नभएको रमनको भनाइ छ । 

अन्तिम अपडेट: चैत २, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Rahul Raj

    Aug. 21, 2019, 7:42 p.m.

    Hare Krishna Radheshayam, Thanks a lot for standing for the truth....

  •  0 Reply

तपाईको प्रतिक्रिया