मनकामना बहिरा माविका कर्मचारी श्यामहरि घिमिरेको हत्यारा पत्ता लाग्यो

 भदौ ६, २०७६ शुक्रबार १७:४५:३ | किरण लोहनी
unn.prixa.net

गोरखा – आफ्नै श्रीमतीको हत्या गरेका याकुब परियारले मनकामना बहिरा माविका कर्मचारी श्यामहरि घिमिरेको हत्या गरेको पुष्टि भएको छ ।

अनुसन्धानका क्रममा याकुबले श्यामहरिको हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा नगरपालिका–९, का याकुबले साउन २७ गते राति आफूले श्यामहरिको हत्या गरेको बयान दिएका एसपी ओम अधिकारीले जानकारी दिनुभयो ।

‘त्यसदिन याकुबका बाआमा र श्रीमतीले उनलाई टक्सारको उमाकान्त बगालेकहाँ झारफुक गर्न लगेका रहेछन्’, उहाँले भन्नुभयो, ‘बगाले बाकहाँ पुगेपछि याकुबले श्रीमती, बा आमालाई कुटेर भागेछन् । त्यही बेला मृतक घिमिरेसँग उनको जम्काभेट भएछ । मानसिक अवस्था राम्रो नभएका उनले घिमिरेलाई एक मुक्का हानेछन् । घिमिरे ढलेपछि कपडा समातेर कान्लाबाट तल झारेर घिसार्दै तल पुगेर घोप्टो पारेर घाँटी थिचेर मारेछन् । मृतकको ढाडमा बसेर मुन्टो बटारेछन् ।’

अनुसन्धानकै क्रममा प्राप्त तथ्यको आधारमा प्रहरीले याकुबमाथि घिमिरे हत्याको विषयमा पनि अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा याकुबले आफ्नो परिवारका सामु प्रहरीसमक्ष बयान दिँदै घिमिरेको हत्या स्वीकार गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

गएको साउन ३२ गते श्रीमती पूजाको घाँटी रेटेर हत्या गरेका उनी अहिले प्रहरी नियन्त्रणमा छन् । २१ वर्षका याकुब मानसिक रोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध ज्यान मार्ने कसुरअन्तर्गत दुई वटा मुद्दा दर्ता हुने एसपी अधिकारीले जानकारी दिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया