पानीपुरी र तरकारीले ‘धनी’ भएकी लक्ष्मीको अनुभव – देशमै पैसा फल्छ

 भदौ ९, २०७६ सोमबार ९:२७:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

ललितपुर – सानो छँदा उहाँलाई लाग्थ्यो, नामै लक्ष्मी भएपछि जिन्दगीमा लक्ष्मी अर्थात् धनसम्पती र पैसाको के दुःख होला र ? तर जिन्दगीलाई भाग्य र नामले मात्र निर्धारण गर्दैन । मेहनत र कामले बढी सार्थक बनाउँछ । ललितपुर धोबीघाटकी लक्ष्मी जोशीको जीवनमा पनि यो सत्यले ठ्याक्कै मेल खान्छ । 

पहिले धेरै कमाउने सपना बोकेकी लक्ष्मी अहिले थोरै कमाइमा सन्तुष्ट हुनुहुन्छ । उहाँले मज्जाले बुझ्नुभएको छ – पैसा धेरैथोक हो, तर सबैथोक होइन । पैसाले सुविधा किन्न सकिन्छ, तर सुख किन्न सकिँदैन । पैसासँगै लोभ र चिन्ता पनि थपिँदै जान्छ । पैसा थोरै न भए पनि आनन्द भयो भने त्योजस्तो सुखको जीवन अरु हुनै सक्दैन । 

लक्ष्मी अहिले यही सुखमा रमाउनुभएको छ । थोरै कमाइमा सन्तुष्ट हुनुहुन्छ । चिन्ता एउटै छ, पैसा कमाउन विदेश गएका आफ्नो र अरुका छोराछोरी कहिले देश फर्किएलान् ? आफ्नै खेतबारीमा खनीखोस्री गरेर पैसा फलाउन सकिन्छ भन्ने सत्य कहिले बुझ्लान् ? 

त्यसैले जिन्दगीमा कमाइ र भोगाइको प्रसँग आउँदा लक्ष्मी अनुरोध गर्नुहुन्छ – विदेशमा भएका छोराहरु स्वदेश फर्क, आफ्नै खेतबारीमा पैसा फल्छ ।

पानीपुरी र चटपटले फेरेको जिन्दगी

चार वर्षअघि नै उमेरले चार बीस कटेकी धोबीघाटकी लक्ष्मी जोशीलाई खाली हात बस्नै मन लाग्दैन । दिनभर पसलमै व्यस्त हुने उहाँ फुर्सद भयो कि घर अघिल्तिरको खाली जग्गामा पुग्नुहुन्छ । खनीखोस्री गर्नुहुन्छ । सिजनअनुसारको तरकारी लगाउनुहुन्छ । २ आना जति जग्गामा लगाएको तरकारी खाएर पनि बढी हुन्छ । बाटो छेउमा अर्गानिक तरकारी फलेको देख्नासाथ किन्नेहरुको हारलुछ हुन्छ । तरकारी बेचेर र पसलबाट आएको आम्दानीले उहाँलाई मज्जाले पुगेको छ ।

‘पैसा त जति भए नि पुग्दैन, मेरो कमाई थोरै छ, तर म सन्तुष्ट छु’ कुरा थाल्नुअघि नै हँसिलो अनुहारमा लक्ष्मीले भन्नुभयो । तर डेढ दशक अघिसम्म उहाँलाई यति धेरै सन्तुष्टि मिलिसकेको थिएन । ललितपुरको सेन्ट मेरिज स्कुलको होस्टलमा काम गर्नुहुन्थ्यो । तलब तीन सय रुपैयाँ थियो । यति तलबले चार छोराछोरी हुर्काउन र पढाउन धौधौ हुन्थ्यो ।

‘श्रीमानको पनि खासै कमाइ थिएन, मेरो कमाइले खान पनि मुश्किल हुन्थ्यो’ उहाँले विगत सम्झनुभयो । मुश्किलकाबीच उहाँले चार छोराछोरीलाई राम्रै स्कुलमा पढाउनुभयो । छोराछोरीलाई स्कुल पठाएर आफू होस्टेलमा काम गर्न जाँदा बाटोमा उहाँले चटपट र पानीपुरीको व्यापारमा राम्रो कमाइ हुने थाहा पाउनुभयो ।

‘त्यतिबेला मधेसका दाजुभाइले मात्र यस्तो व्यापार गर्थे, उनीहरुको कमाइ राम्रो देखेर मैले पनि यो काम सुरु गरें’ उहाँले भन्नुभयो । पहिले सेन्ट मेरिजकै स्कुलबाहिर उहाँले चटपट र पानीपुरीको व्यापार थाल्नुभयो । सोचेभन्दा बढी कमाइ हुन थाल्यो । ‘महिनामा १८÷२० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो’ लक्ष्मीले जीवनमा लक्ष्मीले साथ दिन थालेको दिन सम्झनुभयो ।

डेढ दशकअघि सुरु गरेको यो कामले उहाँको जिन्दगीमा नयाँ मोड ल्याइदियो । चटपट र पानीपुरीको व्यापारले घरखर्च चल्न थाल्यो । अहिले उहाँले धोबीघाटमा रहेको घरमै बसेर यो कामलाई निरन्तरता दिनुभएको छ । घरको भुईंतलामा सानो पसल छ । पसलमा बिस्कुट, मिठाई र अरु खुद्रा सरसामानसँगै चटपटे र पानीपुरीको व्यापार गर्नुहुन्छ । दिनमा दुई, चारसय रुपैयाँ आम्दानी हुन्छ ।

‘पैसा त जति कमाए पनि पुग्दैन, कमाइ धेरै नभए पनि मलाई मज्जाले पुगेको छ’ सन्तुष्ट हुँदै लक्ष्मीले भन्नुभयो, ‘दुई चार पैसा चाहिएको बेला छोराबुहारीलाई गुहार्न पर्दैन, योभन्दा ठूलो अरु के हुन्छ र ?’

उहाँलाई राम्रोसँग थाहा छ, जति धेरै पैसा उति धेरै दुःख । ‘धेरै पैसा भयो भने रातभर निद्रा लाग्दैन । लोभले लाप, लापले अलाप हुन्छ । मरेपछि केही लाने होइन’ उहाँले थप्नुभयो, ‘सानो व्यसायबाट पनि म सन्तुष्ट छु । पैसाभन्दा सन्तोष ठूलो हो ।’

माइतमा भटमास, घरमा सागसब्जी

लक्ष्मीको घर काठमाण्डौको मातातीर्थ । बिहेअघि खेतबारीमा काम गर्नुहुन्थ्यो । अहिले पनि माइतीले खेतीपाती गरेरै जीविका चलाउँछन् । ‘वर्षमा २५, ३० हजार रुपैयाँ त भटमास बेचेरै आम्दानी हुन्छ’ उहाँले भन्नुभयो, ‘सानोमा मैले पनि खेती गरेरै जीविका चलाएको हो, अहिले पनि खेती गर्न मन लाग्छ ।’

अहिले उहाँको घर भएको धोबीघाटमा आफ्नो नामको जग्गा जमिन छैन । घर अघिल्तिर अरु कसैको सानो टुक्रा खाली जग्गा छ । उहाँ यसमै सागसब्जी रोप्नुहुन्छ । सिजनअनुसारको फर्सीको मुन्टा, साग, मुला, खुर्सानी पालैसँग लगाउँदा खाएर पनि बेच्न पुग्छ ।

‘महिनामा हजार, १५ सयको त तरकारी मात्रै बेच्छु, अर्गानिक भनेर खोसाखोस हुन्छ’ लक्ष्मीले भन्नुभयो, ‘एउटा बेच्यो, अर्को रोप्यो, अर्को बेच्यो, एउटा रोप्यो, एकनासले गर्दा खाएर पनि मज्जाले बेच्न पुग्छ ।’

हिजोआज बालीनाली र तरकारी लगाउने जग्गाजमिन नासिंदै गएकोमा उहाँलाई नमज्जा लागेको छ । ‘हाम्रै खेतबारीमा पैसा फल्छ, तर पैसा फल्ने जग्गामा अहिले घर र भवन ठडिएका छन्’ उहाँले दुःख मान्दै भन्नुभयो, ‘अब बाँकी रहेका खेतीयोग्य जग्गामा घर बनाउने हैन, तरकारी फलाऔं, एकछिन खेतबारीमा काम गरे पनि टन्न कमाइन्छ ।’

विदेशमा हैन, आफ्नै खेतबारीमा पैसा फल्छ

पैसा कमाउने उपाय खोज्दै धेरै विदेश पुगेका छन् । लक्ष्मीका कान्छा छोरा पनि कुवेतमा छन् । छोरोले कति कमाउँछ भन्ने त उहाँलाई थाहा छैन । तर छोरो आफ्नो कमाइमा सन्तुष्ट छैन भन्ने चाहिँ उहाँलाई राम्रोसँग थाहा छ । ‘खै कति कमाउँछ कुन्नि, तर भनेजस्तो भएन भन्छ’ कुवेतमा रहेका छोरोलाई सम्झँदै लक्ष्मीले भन्नुभयो, ‘लाख नै कमाए पनि उ सन्तुष्ट छैन, मलाई दुई चारसय कमाइले पनि सन्तुष्टी मिलेको छ ।’

अब छोरो फर्किंदा उसलाई मनाएर यहीँ राख्ने उहाँको योजना छ । ‘विदेश किन जाने ? त्यहाँ गर्ने दुःख यहीँ गर्यो भनेर खेतबारीमै पैसा फल्छ नि’ उहाँले भन्नुभयो, ‘म त मेरो छोरोलाई मात्र होइन, विदेशमा रहेका अरु छोराछोरीलाई पनि स्वदेश फर्किएर कृषिमा लाग्न भन्छु ।’

उहाँलाई लाग्छ, विदेशमा सुख छैन । न घरपरिवार सँगै हुन्छन, न यहाँको जस्तो हावापानी । उस्तै कष्ट सहनुपर्छ । सोचेजस्तो कमाइ पनि हुँदैन । ‘यहाँ त आमाबाबु, श्रीमती, छोराछोरी सबै सँगै हुन्छन्, । तातोपानी खान मन लाग्यो तातै पानी पाइन्छ, चिसोपानी खान मन लाग्यो चिसै पानी खान पाइन्छ । विदेशमा त पाइँदैन नि’ विदेश नदेखे पनि कुवेतमा रहेका छोराको दुःख बुझेकी लक्ष्मीले भन्नुभयो ।

उहाँले देख्दादेख्दै चिनजानकै एउटा मान्छेले विदेशबाट फर्किएर टन्न कमाएका छन् । ‘उसले चापागाउँमा तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गर्यो । अहिले गाउँमा बिल्डिङ ठट्याइसक्यो । विदेशमा ३ वर्ष दुःख गरेर आएको । उताभन्दा चौबर कमाउँछ’ लक्ष्मीले आफूले चिनेको मान्छेको प्रगति सुनाउनुभयो ।

देशमै काम गरेर प्रगति गरेका मान्छे उहाँले अरु पनि धेरै देख्नुभएको छ । त्यसैले उहाँ भन्नुहुन्छ, ‘विदेशमा हैन, आफ्नै देशमा दुःख गरौं । यहीँका खाली जग्गामा तरकारी मात्रै लगाउने हो भने पनि करोडपति भइन्छ ।’

अन्तिम अपडेट: असोज १२, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया