‘३ सय प्रतिशत कर लगाइदिने अनि मध्यम वर्गले कार चढ्न पाएनन् भन्न सुहाउँछ ?’

 भदौ १०, २०७६ मंगलबार १५:५८:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – गाडी प्रदर्शनीको कुम्भ मेला मानिने नाडा अटो शोको १४औँ संस्करण मंगलबारदेखि सुरु भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको मेलामा २५ वटा ब्राण्डका कार १९ वटा ब्राण्डका दुई पाङ्ग्रे गाडीको साथै गाडीसँगसम्बन्धी अन्य सामग्रीका स्टल छन् । नाडा अटो शो नेपालकै ठूलो अटो शो हो । अघिल्लो वर्ष ५ अर्बको व्यापार गरेको नाडा अटो शोमो यो वर्ष ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार हुने नाडाले जनाएको छ ।

नेपालमा मध्यम वर्गका नागरिकका लागि कार चढ्ने इच्छा धेरै ठूलो मानिन्छ । नेपालमै कार उत्पादन गर्ने उद्योग नहुनु र आयातित कारमा लाग्ने २ सय ५० प्रतिशतसम्मको करले मध्यम वर्गका नागरिकका लागि कारण चढ्ने कुरा अलि परैको मानिन्छ । नेपालमा केही विदेशी कम्पनीले गाडी उद्योग खोल्न चासो देखाए पनि बजार सानो भएको भन्दै पछि हटेका छन् ।

यसै विषयमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसियशन नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आउनुभएको छ, मेला किन गरिरहनुभएको छ ?

हामीकहाँ संसारका लगभग सबै कम्पनीका गाडीहरु बिक्री वितरण हुन्छन्, नेपाली बजारमा पनि सामान्यदेखि निकै महंगा सवारी साधनहरुको प्रवेश भैरहेको हुन्छ । नेपालमा बिक्री वितरण हुने गाडीको जानकारी दिन, बजारमा आएका नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, तिनका पाटपुर्जा, अनि गाडीसँग सम्बन्धित सबै जानकारी र बैंक तथा  वित्तीय संस्थाको पनि उपस्थिति हुन्छ ।

त्यसले गर्दा गाडी किन्न तथा साटफेर गर्न चाहनेहरुले सबै जानकारी एकै ठाउँमा दिन पनि हामीले यो मेला गरिरहेका छौँ । अर्को कुरा यो मेला हामीले नेपालीका ठूला पर्व दशैँ र तिहारलाई लक्षित गरेर गर्दै आएका छौँ । चाडबाडको उपलक्ष्यमा नयाँ गाडी किन्ने चलन पनि हुन्छ, त्यसैको मौका छापेर पनि हामीले नाडा अटो शो गर्दै आएका हौँ ।

यति ठूलो मेला तपाईँहरुले भृकुटीमण्डपमा गर्दै आउनुभएको छ, ठाउँ साँघुरो भएन र ?

हामीले यो अभाव वर्षाैंदेखि झेल्दै आएका छौँ । अहिले पनि हामीले जम्मा १ सय ६० वटा स्टल राखेका छौँ, ठाउँकै अभावले गर्दा २० वटा स्टललाई हामीले प्रदर्शनीमा राख्न सकेका छैनौँ । यस्तै ठूला बस, ट्रक, डोजर एक्स्काभेटरलगायतका ठूला मेसिन पनि हामीले ठाउँ साँघुरो भएकै कारण राख्न सकेका छैनौँ ।

सरकारले चोभारमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउन प्रक्रिया सुरु गरेको भन्ने सुनेका छौँ । तर अहिलेसम्म चाँहि हामीले साँघुरो ठाउँमा नै शो गर्दै आएका छौँ । हामीलाई भृकुटीमण्डपको विकल्प नै छैन ।

तपाईँहरुले विदेशबाट गाडी ल्याएर नेपालमा बेच्नुहुन्छ, सरकारले यसलाई उत्पादनमूलक क्षेत्र मान्दैन, यसमा तपाईँहरुको धारण के छ ?

सरकारले यसलाई अनुत्पादक क्षेत्र भनेकोमा हामीलाई दुःख लाग्छ । संसारका जुनसुकै देशलाई हेर्नुहोस् त उनिहरुले व्यवसायीलाई कति सम्मानका साथ हेर्छन, तर हाम्रोमा भने यसलाई सरकारले उत्पादनमूलक क्षेत्र मान्दैन ।

केही वर्ष अघिसम्म साइकल युगमा रहेको चीनले अहिले अटोमोबाइल्समा गरेको प्रगति हेर्नुहोस त कस्तो छ । यदि यसलाई उत्पादनमूलक क्षेत्र नमानेको भए यस्तो प्रगति हुन सक्थ्यो त ?

भारतमा हेर्नुहोस्, प्रधानमन्त्री मोदीले हरेक भाषणमा निजी क्षेत्रसँग सहकार्यको कुरा गर्नुहुन्छ । देशको उन्नतिमा निजी क्षेत्रको भूमिका निकै छ, तर हाम्रो देशमा त्यसलाई हेर्ने धारणा बदलिन सकेको छैन ।

तपाईँहरुले पनि विदेशमा बनेका गाडी ल्याएर बेच्नुभयो मात्रै, देशमा उद्योग खोल्न चासो दिनुभएन, त्यही भएर पो सरकारले अनुत्पादक क्षेत्र भनेको हो कि ?

हो, नेपालमा गाडीको उत्पादन गर्न नसक्दा हामीले बाहिरबाट गाडी आयात गरेर बेचिरहेका छौँ । यसमा सरकारले अत्याधिक कर लगाइदिँदा हामीले गाडी निकै महंगोमा बेचेको जस्तो  देखिएको छ ।

नेपालमा गाडी कम्पनी खोल्ने कुरा गर्दा यहाँ लगानीको प्रतिफल उठ्न निकै गाह्रो हुने देखिन्छ । कुनै व्यवसायीले लगानी ग¥यो भने ३० प्रतिशत मात्रै उस्को हुन्छ, बाँकी ७० प्रतिशत बैंकको ऋण हुन्छ । बैंकको पैसा भनेको नागरिकको र सरकारको हो । त्यसैले सरकार पनि व्यवसायी बनेर हेर्नुपर्छ, हामीलाई आरोप लगाएर मात्र त भएन नि । 

हामीलाई व्यवसायीले गाडी प्लान्ट खोलेन भन्ने तर उनीहरुसँगै जोखिम उठाउन पछि हट्ने सरकारी शैली पनि त ठिक भएन नि । ७० प्रतिशत लगानी हुने कम्पनी डुब्यो भने त पब्लिकको पनि डुब्ने हो, सरकारले त्यसमा ग्यारेन्टी गर्न सक्छ त ?

भनेपछि नेपालमा गाडी उत्पादन गर्ने फ्याक्ट्री खोल्यो भने डुब्ने निश्चित हो ?

गाडी कम्पनी खोलेपछि त्यहाँबाट उत्पादन भएका गाडीका लागि बजार त हुनुपर्‍यो नि । कम्पनीले उत्पादन गरेका गाडी बिक्री भएनन् भने त डुब्ने निश्चित हो नि । अहिले नेपालमा कस्ता गाडीको माग भैरहेको छ, सबैले देखेकै छन्, विश्वका चर्चित र खर्बाैँ डलर लगानी भएका कम्पनीले उत्पादन गरेका गाडीसँग नेपालमा खुलेका कम्पनीले प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् भन्नेतर्फ पनि त सोच्नैपर्छ नि ।

अब नेपालमा गाडी कम्पनी खोल्न अहिलेका टाटा, हुन्डाईलगायतका ठूला कम्पनी आउनुपर्छ, नत्र यहाँका नागरिकका रोजाइका गाडी उत्पादन गर्न नेपालीले आँट गर्न सक्ने अवस्था छैन । बाहिरका ठूला कम्पनीले पनि नेपाली बजारको अध्ययन त पक्कै गरिरहेका होलान, यदि बजार राम्रो थियो भने त उनीहरु पक्कै आउँथे होला ।

केही समयअघि कोरियाको एउटा कम्पनीले नेपालमा गाडी उद्योग खोल्न चाहेको र लगानी बोर्डले लगानी स्वीकृत गरेको थियो । त्यसोभए त्यो चाहिँ नेपालीलाई केही दिन खुशी हुने मौका दिउँ न  त भनेर मात्रै आएको विषय थियो त ?

मैले यो विषयमा नाडाको कुरा भन्न मिल्दैन । तर मैले व्यक्तिगत रुपमा भन्नुपर्दा यो क्षेत्रको मेरो ३० वर्षको अनुभवले नेपालमा कुनै पनि कम्पनीलाई गाडी कम्पनी खोल्न सजिलो छैन, गाडी कम्पनी खोल्न लाग्ने खर्चपछि त्यसले दिने फाइदाको आँकलन गर्दा लगानी जोखिममै देखिन्छ ।

हामीले २०५२ सालमा नै नेपालमा गाडी कम्पनी खोल्न अध्ययन गरेका थियौँ, तर हामीले विदेशमा निर्यात गर्न नसक्ने हो भने यहाँको बजारले मात्रै धान्दैन । हामीले भारत, चीनलगायतका देशमा पनि निर्यात गर्न सक्ने गरी नेपालमा गाडी उत्पादन गर्न सक्छौँ, कि सक्दैनौँ भन्नेतर्फ पनि सोच्नैपर्ला ।

तपाईँको कुरा सुन्दा नेपालमा झट्ट गाडी कम्पनी खुल्ने देखिएन, उसोभए नेपालका मध्यम वर्गका नागरिकले कार चढ्ने दिन कहिले आउला त ?

अहिले पनि नेपालमा कार चढ्नेमध्ये हेर्‍यो भने धनीले चढ्ने भनेको जम्मा २ प्रतिशत मात्रै हो । मैले पनि चढ्छु तर म त गरिब नै हो भन्ठान्छु ।  गाउँतिर र खान पुग्ने भयो भने धनी नै भन्थे । खान पुग्ने र घर हुने तर चप्पल नलगाए पनि धनी नै भन्थे । म पनि अहिले मध्यम वर्गकै हो, तर गाडी चढ्छु । त्यसैले नेपालमा गाडी चढ्ने ९० प्रतिशत मानिस मध्यम वर्गकै हुन् ।

नेपालमा गाडी चढ्ने ९० प्रतिशत नागरिक  मध्यम वर्गका हुन्, या मध्यम आय भएका हुन् भन्नुभयो, मध्यम वर्गको परिभाषा नै फेरियो कि क्या हो ?

यसको परिभाषा त सरकारसँग गएर नै सोध्नुहोला । तर सामान्यतया मध्यमवर्ग भन्नाले सामान्य जीवनशैली जिउन समस्या नभएको भन्ने बुझिन्छ ।

अहिले नेपालमा यस्तो जनसंख्या बढ्दै गएको देखिन्छ । त्यसैले नेपालमा गाडी चढ्ने भनेको साह्रै ठूलो सपना पनि होइन, सामान्य हिसाबले मेहेनेत गरियो भने गाडी चढ्न सकिहालिन्छ नि ।

तपाईँको भनाइअनुसार त नेपालमा मध्यम वर्ग/मध्यम आय भएका नागरिक त निकै थोरै रहेछन त ?

लामो हाँसो.........पैसा हुने सबै गाडी चढ्छन् भन्ने पनि त छैन । कोही त पैसा हुँदाहुँदै पनि हिँडिरहेका छन् नि । नेपाल सरकारका केही ठूला हाकिम हेर्नुहोस् मज्जाले हिँड्छन्, साइकल चढ्छन, के उनीहरु पैसा नभएर गाडी नचढेका हुन् त ? अनि व्यापारी पनि हेर्नुहोस्, उनीहरु पनि हिँड्छन् । त्यसैले गाडी  चढ्ने मान्छेलाई मात्रै मध्यम वर्गको भनियो भने त आपत् पर्छ नि ।

केही मान्छेहरुलाई छाडेर कुरा गर्ने हो भने गाडी त अहिले नेपालमा सामान्य  नागरिकको पहुँच बाहिरकै कुरा हो । नेपालमा गाडी कम्पनी खोल्न  पनि नसकिने अनि आयातित गाडीको भाउ बर्सेनि बढ्दै जाने । यस्तो अवस्था हेर्दा नेपालमा सामान्य आय हुने नागरिकले गाडी चढ्ने दिन आउँदैनन त ?

गाडीमा ३ सय प्रतिशतसम्म कर लगाइदिने अनि सामान्य मान्छेले कार चढ्न पाएन भनेर गुनासो गर्न सुहाउँदैन । कि त हाम्रो देशमा गाडी कम्पनी खोल्नुपर्‍यो, सबै कच्चा  पदार्थ यहीँ नै पाउनुपर्‍यो अनि जोखिम मोलेर कम्पनी खोल्नुपर्‍यो, नत्र त आयातित गाडी त महंगो भैरहन्छन् ।

अर्को कुरा अहिले भारत, अमेरिका, जर्मनीलगायतका देशका रहेका विश्वविख्यात कम्पनीलाई नै गाडी बेच्न समस्या भैरहेको छ । यस्तो अवस्थामा नेपालमा गाडी कम्पनी खोल्न आउँछ भने त पक्कै हास्यास्पद हुन्छ होला ।

आयातित गरेका गाडीमा गाडीको प्रकृति हेरेर २ सय ५० प्रतिशतसम्म कर लाग्छ, यसै महंगो हुन्छ, त्यसमाथि तपाईँहरुले पनि अचाक्ली महँगो बनाएर बेच्नुहुन्छ, त्यसैले पनि नेपालीहरु गाडीको पहुँचबाहिर भएका हुन भन्ने गुनासो पनि त छ नि ?

यो त पुरापुर गलत हो । नेपालमा गाडी बेच्न प्रशस्तै प्रतिस्पर्धा छ । जहाँ धेरै प्रतिस्पर्धा छ, त्यहाँ धेरै नाफा लिन गाह्रो छ । गाडीमा प्रशस्तै नाफा राखेर खुट्टा हल्लाएर बस्ने हो भने एक वर्षमै डिलरसिप खोसिएका घटना पनि छन् ।

यतिधेरै ब्राण्डका गाडी नेपालमा आएका छन्, यस्तो धेरै प्रतिस्पर्धा छ,  यहाँ सय प्रतिशतसम्म नाफा खान सम्भव छ ? यहाँ त व्यापारीलाई नकारात्मक हिसाबले मात्रै हेर्ने नराम्रो चलन मौलायो ।

तपाईँहरुले पहिलेदेखि छवि नै त्यस्तै बनाउनुभयो नि त । पायो भने २ सय प्रतिशतसम्म नाफा खाइदिने त तपाईँहरु नै होइन र ?

त्यस्तो नाफा छ भने त अरु पनि त आउनुपर्‍यो । यहाँ एउटाले प्रशस्तै नाफा खाएर धेरै गाडी बेच्यो भने त कम्पनीले नै नेपालका लागि डिलरसिप परिवर्तन गर्न सक्छ नि ।

यहाँ त एउटा कम्पनीले पाँच जनासम्म प्रतिनिधि राखेको छ, उनीहरुले यहाँको करदेखि बिक्री मूल्यसम्म हेरेका हुन्छन् । यस्तो अवस्थामा स्वर्गमा यसरी अचाक्ली नाफा लिन पाइन्छ भने त होला तर नेपालमा यतिधेरै गाडीको प्रतिस्पर्धा र कम्पनीको रेखदेखका बीचमा मनग्य नाफा कमाउन चाँहि गाह्रै छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया