राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध परेका दुइटा रिट खारेज

 भदौ ११, २०७६ बुधबार १८:१४:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – उच्च अदालत तुलसीपुर दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीविरुद्ध परेका दुई ओटा रिट खारेज गरेको छ ।

मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीस शालिग्राम कोइरालाको संयुक्त इजलासले बुधबार विज्ञान प्रतिष्ठानले गरेको शुल्क वृद्धि र अदालतको मानहानी सम्बन्धिका दुई ओटा रिट खारेज गरेको होे ।

अधिवक्ता एवं पत्रकार सुदिप गौतमले २०७५ पुष १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गैर कानुनी रुपमा बिरामीसँग शुल्क असुलेकाले त्यसलाई रोकी पाउँ भनी उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नु भएको थियो ।

रिटमाथि सुनुवाई गर्दै विसं २०७५ पुष २० गते शुल्क तत्काल वृद्धि नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको थियो । अदालतले शुल्क वृद्धि नगर्न आदेश दिए पनि वृद्धि गरिएको शुल्क लिइरहेको दावी गर्दै गौतमले प्रतिष्ठानविरुद्ध अदालतको मानहानीको रिट दायर गर्नु भएको थियो ।

अदालतले बुधबार ती दुवै रिटको अन्तिम फैसला गर्दै रिट निवेदकले गरेका दावी कानुन सम्मत नभएकाले खारेज गरेको उच्च अदालत तुलसीपुरका शाखा अधिकृत निरञ्जनबाबु पाण्डेले जानकारी दिनुभएको छ । उच्च अदालतले रिट खारेज गरेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बढाइएको शुल्क लिन कानुनी बाटो खुलेको छ ।

यसैबीच दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरिएको छ । 'प्रतिष्ठान बचाउ अभियान' का अभियन्ताहरुले प्रतिष्ठानको प्रशासनिक भवनमा बुधबार ताला लगाएका हुन् । उनीहरुले उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

प्रतिष्ठानको कार्यालयमा काम गरिरहेका कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनु भएको छ । प्रतिष्ठानमा उत्पन्न विवाद र अस्पतालको स्तर खस्किनुको मुख्य कारण उपकुलपति भण्डारी भएको भन्दै प्रतिष्ठानको प्रशासनिक भवनमा ताला लगाएको जानकारी दिएका छन् ।

उपकुलपति मातहतका पदाधिकारी तथा कर्मचारी, चिकित्सकहरुलाई धम्क्याउने तथा मानसिक तनाव दिने काम गरेको उनीहरुले आरोप लगाएका छन् । डाक्टर भण्डारीको राजीनामा र बिरामीको सहज उपचारको व्यवस्था नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

अस्पतालमा कार्यरत २२ जना चिकित्सकलाई एकै पटक हटाइएको भन्दै अधिकारकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज लगायतको सहभागितामा प्रतिष्ठान बचाउ अभियान नामक दबाब समूह गठन भएको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया