१६ किलो सुनकाण्ड : साढे ३५ करोड जरिबाना र ६ वर्ष कैदको माग

 भदौ १८, २०७६ बुधबार ७:३३:२ | किरण लोहनी
unn.prixa.net

गोरखा – १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौँजाका धनकमल गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागले ३५ करोड रुपैयाँ जरिबाना माग दाबी गरेको छ । गएको साउन ९ गते १६ किलो सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका केरौँजाका गुरुङविरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिबाना गर्न माग गरिएको हो ।

विभागले सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र मंगलबार जिल्ला अदालत गोरखामा पठाएको हो । ‘अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ’ जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भन्नुभयोे, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।’ राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गराएको हो ।

‘राजस्व छलेर करोडौं मूल्य पर्ने सुन आयात गरिएको पाइयो’ सुन प्रकरणको अनुसन्धान अधिकृतको रुपमा काम गरेका विभागका निर्देशक रामप्रसाद रेग्मीले भन्नुभयो, ‘त्यही सुन किन्नका लागि नेपाली पैसा अवैध रुपमा चीन पठाइएको पाइयो ।’ प्रतिवादी गुरुङलाई आर्थिक जरिबानासहित ६ वर्ष कैद सजाय हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ ।

बरामद भएको सुनको मूल्य ८ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । त्यसलाई विगो मान्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३३ अनुसार गुरुङले विगोको २ गुणा जरिवाना र ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने राजस्व अनुसन्धान विभागको माग छ । यस्तै विदेशी विनियम नियमित गर्ने ऐन २०१९ को दफा १७ अनुसार विगोको ३ गुणा सजायँ र थप ३ वर्ष कैद हुनुपर्ने विभागको अनुसन्धानको निचोड रहेको रेग्मीको भनाइ छ ।

प्रतिवादी धनकमल गुरुङले बयानमा लोप्साङ लामा भन्ने ब्यक्तिबाट आफूले सुन लिएको बताएका छन् । ‘आफूलाई कम सजाय होस् भनेर उनले लामाको नाम लिएका पनि हुन सक्लान्’ उहाँले भन्नुभयो, ‘तर उनको बयानका आधारमा तीन पुस्तेसहित यकिन ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिनेछ, हामीले प्रहरीमार्फत बुझ्दा थुप्रै लोप्साङ लामा भेटिए ।’ राजस्व अनुसन्धान विभागले वरामद भएको सुन जफत  र सुराकी तथा अनुसन्धान तहकिकातमा संलग्नलाई पुरस्कृत गर्न पनि अभियोगपत्रमा उल्लेख गरेको छ ।

गएको साउन ९ गते बिहान गोरखाको धार्चे गाउँपालिका ३ उहीयाको ओडारबाट १६ किलो सुन बरामद भएको थियो ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको हो । विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलबार बयान लिइएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताउनुभयो । बुधवार थुनछेक बहस हुनेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया