दूधको भाउ ६ रुपैयाँ बढ्दा हुने ६ फाइदा !

 भदौ २१, २०७६ शनिबार ८:३१:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

हेर्दाहेर्दै दूधको पनि दिन आयो । सधैं सुन र नुनको मात्रै भाउ बढ्नुपर्छ भन्ने के छ ? अब बल्ल दूधको पनि भाउ बढ्यो । घाँसभकारो गर्ने किसानले बढेको मूल्य पाउनु, नपाउनु ठूलो कुरा भएन । तर दूध बेच्ने व्यापारीलाई सोझै फाइदा हुने भो ।

किसानभन्दा व्यापारी ठूला । व्यापारी खुशी भए देश चल्छ । किसान खुशी हुनु र नहुनुले देश चल्नु र नचल्नुलाई केही फरक पार्दैन । त्यसैले दूधको भाउ बढेपछि किसानभन्दा बढी व्यापारी खुशी छन् ।

दूध व्यापारीलाई हुने फाइदा आफ्नो ठाउँमा छ । तर दूधको भाउ ६ रुपैयाँ बढ्दा तपाईंहामीलाई समेत तत्काल अरु ६ वटा फाइदा हुने भएको छ । ल हेर्नुहोस् :

१. गाईभैंसीको आयु बढ्छ, भिरबाट लड्नु पर्दैन

दूधको भाउ बढ्दा सोझै फाइदा दूध दिने गाईभैंसी र उनीहरुका परिवारलाई हुने भएको छ । पानीभन्दा दूध सस्तो भएकाले नै मान्छेले गाईभैंसीको माया मारे । अब पाल्न सकिँदैन भनेर सडकमा फाले । कतिले ट्रकमा हालेर भिरबाट लडाइदिए । दूध दुहुनै छाडेर काट्न पठाए । यतिञ्जेल गाईभैंसीले अल्पआयुमै संसार छोड्नुपर्‍यो।

तर अब गाईभैंसीले अकालमा मर्नु पर्दैन । दूध बेचेर धेरै पैसा पाइने लोभले मान्छेले गाईभैंसीलाई माया गर्छ । दूध दिन छोडे पनि फेरि दूध दुहुने उपाय खोज्दै गाईभैंसीलाई सुम्सुम्याउँछ । उनीहरुका परिवार हुर्काउने उपाय खोज्छ । गाईभैंसी बुढो भएर मर्ने बेला हुँदासम्म थुन तानिरहन्छ । हतपत भिरबाट लडाउन खोज्दैन । बरु गोठमै गाईभैंसी लडोस्, मान्छेले थुन तान्न छाड्दैन । 

२. चिया पकाइरहन पर्दैन

भाउ बढेपछि दूध पनि सुनजस्तै हुन्छ । अर्थात सबैको घरमा छेलोखेलो दूध हुँदैन । नाकको सानो सुनको फुलीजस्तो डेक्चीमा तुरुक्क दूध हुन्छ ।

बिहान बेलुका बालबच्चालाई फुल्याउनै मात्र ठिक्क हुने दूध । पाहुना आउँदा ल ल चिया पकाउ भनेर घरका मान्छेले कराउँदैनन् । दूध भए पो चिया पकाउनु । घरीघरी चिया पकाउन नपरेपछि त्यसको प्रत्यक्ष फाइदा गृहिणीलाई हुन्छ । चिया पकाइरहन परेन । चुल्होमा बसिरहन परेन । भाँडा धोइरहन परेन । सुखै सुख ।

३. चिनीको आयात घट्छ

दूधको भाउ बढेपछि घरघरमा चिया पाक्ने क्रम हराउँछ । होटलमा पनि चियाको भाउ महंगो हुने भएकाले मान्छेले १० फेर नसोची चिया पिउँदैन । धेरैले त चिया पिउनै छोड्छन् । चिया पिउने मान्छे घटेपछि चिया पनि घट्छ । चिया घट्नु भनेको चिनीको आयात घट्नु हो ।

नुनदेखि सुनसम्म, सियोदेखि गाडीसम्म आयात गर्न बाध्य देशले कम्तिमा चिनी आयात गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउँछ । देशका उखु किसानले भाउ पाउँछन् । देशभित्रै उत्पादन हुने चिनीले पुग्छ । चिनीमा देश आत्मनिर्भर भयो भन्दै हामी पनि खुशी हुन पाउँछौं ।

४. सरकारी कार्यालयमा काम छिटो हुन्छ

धेरैजसो सरकारी कार्यालमा दिनको १० फेर चिया पाक्छ । हाकिमदेखि पिउनसम्मलाई दुई, दुई घण्टामा चिया नभई हुन्न । चिया पिउने बहानामा काम छल्न पाइन्छ । गफ गर्न पाइन्छ ।

हातमा फाइल बोकेर पुगेका सेवाग्राहीलाई कर्मचारी भन्छन् : एकछिन है हाकिम साब चिया पिउन जानुभएको छ । हाकिम चिया पिएर फर्कन्छन्, फेरि अर्का कर्मचारी चिया पिउन हिँड्छन् । चिया बनाउने मान्छे चिया बनाएको बनायौ । हाकिम र अरु कर्मचारी पिएको पियै । कामको लागि पुगेका सेवाग्राही चाहिँ हाकिम र कर्मचारीले चिया पिएको हेरेर थुक निलेको निल्यै । न आफूलाई चिया, न बेलामा काम ।

अब दूधको भाउ बढेपछि सरकारी कार्यालयमा यसरी चिया पकाउने क्रम पक्कै घट्छ । हाकिम र अरु कर्मचारी छिनछिनमा चिया पिउन जाँदैनन् । खुरुखुरु काम गर्छन् । दूधको भाउ बढ्दा सरकारी कार्यालयमा काम छिटो हुन्छ । योभन्दा खुशीको कुरा अरु के हुन सक्छ ?

५. दूधको भन्दा कालो चियाको माग बढ्छ, स्वास्थ्यलाई फाइदा नै गर्छ 

डाक्टरहरु भन्छन् : दूध हालेको चियाले स्वास्थ्यलाई असर गर्छ । थरीथरीका रोग लाग्छ । मान्छे अल्पआयुमै मर्न सक्छन् । तर अब दूधको भाउ बढ्ने भएपछि दूध हालेको चिया पिउने क्रम स्वात्तै घट्छ ।

यसको सोझो फाइदा मान्छेको स्वास्थ्यलाई हुन्छ । दूध हालेर चिया पिएकै कारण कोही रोगी हुँदैन । सबै निरोगी । दूधको सट्टा धेरैले कालो चिया पिउने गर्छन् । कालो चिया पिउनु स्वास्थ्यको लागि फाइदाको कुरा हो । अस्पतालमा त डाक्टरले बिरामीलाई कालो चिया खुवाउनु भन्छन् । अब अस्पतालमा मात्रै होइन, घरघर र कार्यालय कार्यालयमा कालो चिया पाक्छ । सबैले कालो चिया खान्छन् । सबै स्वस्थ र फुर्तिला हुन्छन् ।

६. शहरको जनसंख्या घट्छ, गाउँमा चहलपहल बढ्छ

दूधको भाउ बढेपछि अरु व्यवसाय गरेर घाटा खाएका मान्छेले अब गाईभैंसी पाल्न थाल्छन् । गाईभैंसी पाल्न गाउँ जानुपर्छ । शहरमा मिल्दैन । शहरमा त कुकुर मात्रै पाल्न मिल्छ ।

गाईभैंसी पाल्न गाउँ नै जानुपर्ने भएपछि गाउँबस्तीमा चहलपहल बढ्छ । खेतबारीमा हरियाली फर्कन्छ, बाँझो हुँदैन । टोलटोलमा गाईभैंसी कराएको आवाज सुन्न पाइन्छ ।

गाईभैंसी पाल्नको लागि मान्छे गाउँ पसेपछि शहरको जनसंख्या घट्छ । शहरको जनसंख्या घट्नु भनेको खानेपानी अभाव, ट्राफिक जाम, वातावरण प्रदुषण लगायत धेरै समस्याको समाधान हुनु हो ।

यी त तत्काल देखिने फाइदा मात्रै हुन् । दूधको भाउ ६ रुपैयाँले बढ्दा यी ६ वटा मात्रै होइनन्, अरु ६ सयवटा फाइदा पत्ता लगाउन सक्नुहुन्छ । अरु फाइदा खोज्ने जिम्मा चाहिँ तपाईंको ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया