मच्छड उबाच : मान्छेसँग निहुँ खोज्नु हाम्रो बाध्यता !

 भदौ २८, २०७६ शनिबार ७:३७:२ | मिलन तिमिल्सिना
unn.prixa.net

हाम्रो नामै लामखुट्टे । जीउभन्दा खुट्टा लामा छन् । खु्ट्टाभन्दा छरिता पखेटा छन् । पखेटाले निकाल्ने संगीतमय आवाज छ । सियोभन्दा तिखो सुइरो छ । हामीलाई मान्छेको आवश्यकता छ र माया पनि लाग्छ । त्यसैले हामी आफ्ना खुट्टा, पखेटा र सुइरो जागा राखेर सधै तपाईँका वरपर घुमिरहन्छौँ ।

तर, तपाईँ मान्छेहरु हामीलाई रिस गर्नुहुन्छ । हामी चाहिँ तपाईँलाई औधी मन पराउँछौँ । तपाईँको नजिक आउन र छुन मन लाग्छ । छोइसकेपछि छोड्न मन लाग्दैन ।

तपाईँले प्याट्ट पार्न खोज्नुहुन्छ । हामी फ्याट् फुत्केर अर्कोको जीउमा सुइरो गाड्न पुगिसक्छौँ । तपाईं र हाम्रो यो लुकामारीमा हाम्रा कति साथीहरु शहीद भए । तर हाम्रो जातिले पनि तपाईँका इष्टमित्र र साथीसँगीलाई सोत्तर पारेका छौँ । 

तपाईँ र हामीबीच सदियौँदेखि एउटा अघोषित लडाइँ चलिरहेको छ । यो लडाइँमा तपाइँ जस्तै हाम्रो जातका धेरै मरे, धेरै घायल भए । यो क्रम आज पनि चलिरहेको छ ।

लामो खुट्टा भएपछि हामी जहाँ पनि पुग्छौँ । जहाँ र जति पनि कुद्छौँ । मान्छे र मान्छेले छेक्न, रोक्न र मार्न खोज्ने कुराभन्दा सधैंभरि अघि छौँ र सधैँ हुन्छौँ पनि।हामीलाई राम्रोसँग थाहा छ, हात छोटो भए पनि मान्छेले हात लामो गर्न खोज्छन् । अर्थात मान्छेको नाम लामहाते नभए पनि लामोहात गरेर भुँडी भर्ने प्रयत्न गर्छन् । छुन र पुग्न नहुने ठाउँमा जान खोज्छन् ।

मान्छेले त नामभन्दा विपरीत लामहाते काम गरिरहेका छन् भने हाम्रो त नामै लामखुट्टे । नामै र जातै लामो खुट्टे भएपछि खुट्टा लामो गर्न पाउनु हाम्रो जन्मसिद्ध र स्वयंसिद्ध अधिकार हो ।

हामीसँग मुर्मुरिनुहुन्छ । धुवाँ फाल्ने बन्दुक बोकेर कुद्नुहुन्छ । बर्बराउनुहुन्छ । लामखुट्टेलाई परास्त पार्छौँ भन्दै दौडनुहुन्छ । तर सक्नुहुन्न । तपाईंभन्दा हामी बलिया भैसकेका छौँ ।

तपाईँहरु हुने, नहुने अधिकारका कुरा जोडेर मानवअधिकार भन्नुहुन्छ । हामीलाई त तपाईँले दिएको नाम र आफूले पाएको कामअनुसार गर्न पाउने लामै अधिकार छ, तर आजसम्म हामीले लामै त के खुट्टे अधिकार पनि खोजेका छैनौँ । अधिकार नखोज्नुको अर्थ हो, हामीलाई हाम्रो अधिकार प्रयोग गर्नबाट कसैले बञ्चित गर्न सकेको छैन । त्यसैले, हामी हाम्रो अधिकारको प्रयोग चाहिँ अधिकतम रुपले नै गरिरहेका छौँ ।

हामीलाई धूप र झूलले तर्साएर, पुतुतु धुवाँ उडाएर, प्याट्ट प्याट्ट पार्दै मारेर, छेकेर केही उपाय लाग्दैन भन्ने त तपाईँका पुर्खालाई नै थाहा भैसकेको थियो, तपाईँले पनि यति सानो कुरा पक्कै थाहा पाइसक्नुभयो होला । तपाईँ हामीलाई निम्छरो ठान्नुहुन्छ, तर हामीले त संसारलाई नै हायलकायल पारिसकेका छौँ । कति मान्छेलाई सोत्तर बनाएका छौँ । हाम्रै कारण कति ठाउँमा युद्ध पनि रोकिएका छन् । कतिको अस्तित्व जोगिएको छ ।

पत्रिका पढ्नुभयो होला, पृथ्वीको हरेक एक इन्च जमिनमा हामी एउटाको निगरानी र नियन्त्रण हुन्छ । अर्थात तपाईं एक जनाले पाइला राखेको जमिनमा हामी सयौं हुन्छौँ । तपाईँ र हाम्रा पुर्खाले पनि जीवन मृत्युको लडाइँ लडे । अहिले हामी पनि लड्दैछौँ ।

तपाईँ हामीलाई परास्त पार्न खोज्नुहुन्छ । हामी पनि तपाईँलाई सोत्तर बनाउने प्रयत्नमै हुन्छौँ । पुस्तौंदेखिको यो लडाइँमा जित हाम्रै भएको छ । तपाईँले चाहेर पनि हामीलाई निमिट्यान्न बनाउन सक्नुभएको छैन । र सक्नुहुन्न पनि ।

हामी सितिमिति नासिँदैनौँ । हराउँदैनौँ । ठाउँ पायो कि लामोहात गर्ने मान्छेका बस्तीमा लामोखुट्टा गरिहाल्छौँ । फोहोरमा बस्छौँ । पानीको खाल्डोमा रमाउँछौँ । हाम्रा पोथीलाई तपाईँ मान्छेको रगत मन पर्छ । मन परेपछि पर्‍याे, पर्‍याे । जति छेक्न खोजे पनि टोकेरै छाड्छौँ । रगत चुस्छौँ । हामी अघाएर उड्छौँ, तपाईँलाई थकाएर लडाउँछौँ ।

हामीलाई मारेर सकिँदैन । सकियौँ भने पनि घाटा तपाईँलाई नै हुन्छ । तपाईँ मान्छेहरु त पढेलेखेका हुनुहुन्छ । आफूलाई सबैभन्दा जान्नेसुन्ने छौँ भन्नुहुन्छ । आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्नुहुन्छ । जीवन र जगतको अस्तित्वबारे बुझ्नुभएको होला । यहाँ हरेक जीवको अस्तित्व हुन्छ । एउटा जीवले अर्को जीवको अस्तित्व जोगाउने काम गरिरहेको हुन्छ । हामी सबै नासियौँ भने तपाईँ सर्वश्रेष्ठ प्राणीकै खोज, अनुसन्धान र अस्तित्वमा संकट पर्छ ।

त्यसैले हामीलाई मास्ने कुरा सोच्नुभन्दा पहिले आफू उभिएको ठाउँ हेर्नुहोस् । सास फेरेको वातावरण नियाल्नुहोस् । जीवन र जगतको इतिहास पढ्नुहोस् । झिंगा त के लामखुट्टे पनि मार्न नसक्ने सरकार भनेर जिस्क्याउनुअघि घर वरपर हेर्नुहोस् । तपाईँकै कारण हामी तपाईँलाई छोड्न सकिरहेका छैनौँ ।

पहिलो कुरा त हामीलाई जता पनि लामा खुट्टा गर्ने ठाउँ नबनाइदिनुस् । हामी हिँड्दाहिँड्दै, चाहार्दाचाहर्दै र तपाईंँ सबैलाई एकएक गरेर छुँदाछुँदै हैरान भैसक्यौँ । तपाईँ जसको घर वरपर पनि हामीलाई आउने बाटो बनाइदिनुहुन्छ । बस्ने ठाउँ राखिदिनुहुन्छ । तपाईँले आउने ठाउँ र बस्ने ठाउँ नै बनाइदिएर हार्दिकताका साथ निमन्त्रणा गरेपछि हामीले कसरी अस्वीकार गर्ने ?

तपाईं हामीलाई रिस गरेजस्तो पनि गर्नुहुन्छ । उल्टै धेरै माया गर्नुहुन्छ । जताततै हामीलाई बस्न मिल्ने फोहोर र झाडी बनाइदिनुहुन्छ । हाम्रा पोथीलाई फुल पार्न र बच्चा बनाउन मिल्ने पानीको खाल्डो राखिदिनुहुन्छ । हामीलाई जे–जे मन पर्छ, आफ्नो घर वरपर त्यही त्यही तयार पारिदिनुहुन्छ ।

अनि तपाईँले नै हामीलाई खुला निम्ता गरेपछि लामाखुट्टा भएका हामी कसरी नआउनू ? आएपछि तपाईँको ठाउँ मन पर्छ । तपाईं मन पर्छ । मन परेपछि तपाईँलाई छोउँ छोउँ लाग्छ । छोएपछि खाउँ खाउँ लाग्छ । अनि खान्छौँ । तपाईँ लड्नुहुन्छ । अनि हामीसँग मुर्मुरिनुहुन्छ । धुवाँ फाल्ने बन्दुक बोकेर कुद्नुहुन्छ । बर्बराउनुहुन्छ । लामखुट्टेलाई परास्त पार्छौँ भन्दै दौडनुहुन्छ । तर सक्नुहुन्न । तपाईंभन्दा हामी बलिया भैसकेका छौँ ।

त्यसैले हामीसित मन भाँचिएको भए, आफ्नो घर वरपर हामीलाई मन पर्ने खाना र ठाउँ नबनाइदिनुस् । हामी तपाईंँभन्दा परै बस्न सक्छौँ । तपाईँलाई धेरै दुःख नदिइकन रमाउन सक्छौँ । मान्छेसँग निहुँ खोज्नु हाम्रो रहर होइन, बाध्यता हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया