मेहनत गरे नेपालमै अवसर छ: साढे दुई लाखकाे लगानी फैलिएर ५० कराेड पुग्याे

 असोज ४, २०७६ शनिबार १८:८:२३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरका युवा पर्यटन व्यवसायी हुनुहुन्छ, पुण्य भट्टराई । विक्रम संवत २०३६ सालमा रतुवामाई नगरपालिकाको डाम्राभिट्टामा जन्मिनुभएका भट्टराई विक्रम संवत २०५८ सालमा व्यवसायमा लाग्नुभयो । 

ट्राभल्स एजेन्सीबाट व्यवसाय सुरु गर्नुभएका भट्टराईको अहिले पानी उद्योग र होटल व्यवसाय पनि छ । विराटनगरमा होटल एसियाटिक छ भने सुनसरीको भेडेटारमा होटल भेडेटार छ । 

सुरुमा २ लाख ५० हजारबाट ट्राभल्स एजेन्सी सुरु गर्नुभएका भट्टराईको अहिले विभिन्न क्षेत्रमा झण्डै ५० करोडको लगानी छ । अब आउँदो दिनमा साझेदारी व्यवसायका आधारमा २ अर्ब ५० करोडको लगानीमा ठूलो परियोजना समेत आउने तयारी छ । तर उहाँले आफ्नो परियोजना भने सार्वजनिक गर्नुभएको छैन । 

लगानीको सुरुवात

स्नातक पढ्दै गर्दा विक्रम संवत २०५८ सालमा भट्टराईले २२ वर्षको उमेरमा ट्राभल्स एजेन्सीबाट लगानी सुरु गर्नुभयाे । राम्रो सम्भावना देखेर लगानी गर्नुभएका भट्टराईलाई सम्भावना भए पनि रकम कसरी ल्याउने होला भन्ने लाग्यो । तर आर्थिकरुपमा कमजोर नभएको कारण खासै समस्या पनि परेन ।

उहाँले आफ्नो योजना सुरुमा बुवालाई सुनाउनुभयो तर वास्ता नगरेपछि त्यही कुरा आमालाई भन्नुभयो । घरको कारोबारको काम आमाले नै गर्ने भएकोले उहाँले आमाबाट ट्राभल्स एजेन्सीमा लगानी गर्नका लागि २ लाख ५० हजार रुपैयाँ पाउनुभयो ।

स्नातक पढ्दै गर्दा त्यतिका रकम कसरी, कहाँ लगानी गर्ने होला भन्ने अवस्था थियो, तत्काल विश्वास गर्ने ठाउँ पनि थिएन । उहाँले ट्राभल्स एजेन्सी सञ्चालन गरेको केही समयको अन्तरालमा विभिन्न एअरलायन्सबाट थुप्रै अवार्ड तथा पुरस्कार प्राप्त गरेपछि त्यसले भट्टराईलाई थप हौस्यायो ।

पर्यटनमा पैसा छ

ट्राभल्स एजेन्सीको काम एअरलायन्सको टिकट मात्र काट्ने काम होइन भन्ने धारणा राख्नुहुन्छ, व्यवसायी भट्टराई । ‘गर्न सक्ने हो भने पर्यटन क्षेत्रमा पैसै–पैसा छ ।काठमाण्डौ उपत्यका, चितवन र पोखराबाहिर प्रदेश १ का ट्राभल्स एजेन्सीहरु टिकटमा मात्र केन्द्रित रहेको जस्तो मलाई लाग्छ’, उहाँ भन्नुहुन्छ । अहिले प्रदेश १ मा स्वास्थ्य पर्यटन, कृषि पर्यटन तथा टुर प्याकेजहरुमा कसैको ध्यान जान नसकेको भट्टराई सुनाउनुहुन्छ । 

भट्टराई सुरुदेखि नै सरकारी जागिर नखाने भन्नुहुन्थ्यो र खानु पनि भएन । ठूलो बुवा अञ्चलाधीश हुनुहुन्थ्यो, उहाँकै संरक्षणमा भट्टराईकाे परिवार अगाडि बढेको थियो । 

विभिन्न व्यवसायमा ५० करोड लगानी 

ट्राभल्स एजेन्सी चलाइरहेका बेला बजारमा पानी बिक्री हुन थाल्यो भनेपछि उहाँले ‘शान्तिजल’ नाम राखेर पानीमा लगानी गर्नुभयो । उहाँले आजभन्दा १० वर्ष अगाडि १ करोड ५० लाख लगानी गरेर पानी उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।  

त्यसपछि उहाँले होटलको माग पनि बढेको थाहा पाउनुभयो । राम्रो होटल सञ्चालन गर्ने हो भने राम्रै होला भन्ने लागेर उहाँले होटेलमा लगानी गर्नुभयो । अधिकांश होटलहरु बसपार्क केन्द्रित रहेको अवस्थामा विराटनगर विमानस्थल नजिकै होटल चलाउन सकिन्छ भन्ने लागेर भट्टराईले त्यहाँ लगानी गर्नुभयो । होटल सञ्चालनको योजनासहित बैंकलाई प्रस्ताव गर्दा बैंकले लगानी गर्न इच्छा देखाएपछि ५ वर्ष पहिला होटल सञ्चालनमा आाएको हो । 

भट्टराईको विभिन्न परियोजनामा गरेर ५० करोड रुपैयाँ बराबरको लगानी छ । लगानीका आधारमा मुनाफा नै सुरुमा देखिएको छैन । हरेक तीन महिनामा ५० देखि ६० लाख बैंकलाई तिर्नुपरेको उहाँले बताउनुभयो । अहिले चल्दै जाने र आउँदो दिनमा बैंकबाट ऋण चुक्ता गरिसकेपछि सबै फाइदा हुने भट्टराईले विश्वास लिनुभएको छ ।  

प्रेमसँगै मागी विवाह 

भट्टराई आफ्नो व्यवसायमा बिहान ७ बजेदेखि नै समय दिनुहुन्छ । बैंकलाई तिर्नुपर्ने रकम, कुन समयमा तलब खुवाउने, कति कोठाभाडा लाग्यो भने कति आउँछ र कति प्रतिशतमा कति फाइदा हुन्छ भन्ने कुराको खोजी गर्नुहुन्छ । उहाँ त्यसैको आधारमा योजना बनाउनुहुन्छ । बैंकको सहयोग भयो भने जस्तोसुकै काममा पनि हात हाल्न सकिने उहाँको भनाइ छ ।  

उहाँले विक्रम संवत २०६० सालमा विवाह गर्नुभयाे । उहाँले स्नातक महेन्द्र मोरङ क्याम्पसबाट गर्नुभयो । स्नातक पढ्दै गरेकी युवतीसँग हिमचिम बढेपछि त्यसले विवाहको रुप लियो । प्रेम र मागी विवाह सँगै भएको भट्टराई बताउनुहुन्छ । उहाँलाई हरेक क्षेत्रमा श्रीमतीको साथ छ । 

उमेर ४० पुगेकाे भए पनि भट्टराईले अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आफ्नो २ अर्ब ५० करोडको लगानीको ठूलो परियोजना केही दिनमा नै पत्रकार सम्मेलन गरी बाहिर ल्याउने तयारी भैरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया