प्रदेश सरकारले धरानमा  पहिलो पटक अन्तर्राष्ट्रिय  चलचित्र महोत्सव गर्ने

 असोज ८, २०७६ बुधबार १७:३४:५० | सुमन तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – प्रदेश सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । बुधबार प्रदेश सरकारले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी  धरानमा पहिलो पटक चलचित्र महोत्वस गर्न लागेको जनाएको हो  ।

प्रदेश सरकार  र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सह–आयोजकमा धरान उपमहानगरपालिका रहने छ भने स्विस विकास नियोगले समेत सहयोग गर्ने जानकारी दिइएको छ ।

चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले  महोत्सवले नेपालको कला संस्कृतिको जगेर्ना गर्ने बताउनुभयो ।  

प्रदेशका कुन ठाउँलाई चलचित्रको नगरी बनाउने, छायांकन स्थलको पहिचान, चलचित्र छायांकन स्थलको निर्माण तथा प्रदेशका जातजातिको विविधता झल्काउने काम महोत्सवले गर्ने मन्त्री कार्कीले बताउनुभयो ।  महोत्सवमा चलचित्रको इतिहास, वर्तमान र भविष्यको समेत पहिचान गर्नेगरी  कार्यक्रम हुने मन्त्री कार्कीले स्पष्ट पार्नुभयो ।

नेपाल चत्रचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले  कात्तिक २२, २३ र २४ गते हुने चलचित्र महोत्सवमा देश र विदेशका २५ चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभयो । महोत्सव हुनभन्दा करिब १ हप्ता अगाडिदेखि नै चत्रचित्रको  प्रचारप्रसार र गतिविधिलाई तीव्रता पारिने स्पष्ट पार्नुभयो ।

प्रदेश १ आदिवासी जनजातिको उद्गम स्थल भएकोले यहाँका संस्कार र संस्कृतिलाई चलचित्रमा समेटिएका कुरा र आगामीदिनमा समेटिने विषयहरुमा पनि छलफल हुने भट्टराईले बताउनुभयो । चलचित्र महोत्सवको अवधि तीन दिन प्रदेश १ चलचित्रमय हुने उहाँले जानकारी दिनुभयो  । उहाँका अनुसार  महोत्सवको एक हप्तासम्म प्रदेशका कुनै पनि हलमा हिन्दी तथा अंग्रेजी सिनेमाहरु प्रदर्शन नभई नेपाली चलचित्रहरु मात्र प्रदर्शन गर्ने बारेमा पनि कुराकानी भइरहेको छ ।

धरानमा हुने चलचित्र महोत्वसका लागि विभिन्न समितिहरु गठन गरिसकिएको छ । सबैलाई निःशुल्क गरिएको महोत्सव धरान सभागृहमा हुनेछ ।  चलचित्र महोत्सवको तयारीका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनाइएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, चलचित्र छनौट उपसमिति, प्रचारप्रसार उपसमिति, महोत्सव स्थलको व्यवस्थापन उपसमिति, सम्मान उपसमिति, निमन्त्रणा स्वागत व्यवस्थापन उपसमिति बनाएर काम सुरु भैसकेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया