२०७१ सालका बाढीपीडितकाे प्रश्न: घर बनाउने रकम कहिले पाइन्छ सरकार ?

 असोज १२, २०७६ आइतबार २०:७:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया - पाँच वर्षअघि २०७१ सालमा बबई नदीमा आएको बाढी गाउँमा पसेपछि बर्दिया ठाकुरबाबा नगरपालिकाका थुप्रै घरहरु डुबानमा परे ।

घरमा बाढी पसेपछि अन्न, लत्ताकपडा सबै बगायाे । साउन ३० गते शुक्रबार धेरैजसो गाँउमा बाढी पसेपछि प्रभावित स्थानीयले उद्धार गर्नुस्, बचाउनुस् भन्दै प्रहरीमा फोन गरे ।

बबई नदीको बाढीले बर्दियामा उनीहरु जस्तो बिजोग धेरैको भएको छ । बाढीबाट पूर्ण रुपमा क्षति भएका बर्दियाका झण्डै साढे ३ हजार बढी घरपरिवार अझै पीडामा छन् । 

‘बाढी आएपछि पाँच वटा दशैँ आए-गए तर राम्रोसँग दशैँ पनि मनाउन सकिएन, अब आउने दशैँ पनि त्यस्तै हुने भो । हामी बाढीपीडित हो, सरकारले हाम्रो खातामा पैसा पठाइहाल्छ भन्दै ऋण सापट गरेर, व्यापारीसँग उधारोमा सामान ल्याएर अपूरो घर बनाइयो, तर सरकारले अझै पैसा दिएन । साहुले पैसा माग्छन्, कहाँ पाएर तिर्ने’, बाढीपीडित हरि लम्सालले भन्नुभयो ।

बबई नदीमा आएको बाढीले सदरमुकाम गुलरियासहित, हालको बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका लगायतका धेरैजसो गाउँ डुबानमा परे । त्यस बाहेक बबई नदी नजिक पर्ने पहिलेका बगनाहा, नेउलापुर, पदनाहा, बनियाभार, मोहम्मदपुर, मगरागढी, शिवपुर, सुर्यपटुवा, ठाकुरद्वारा गाविस क्षेत्रका धेरैजसो गाउँ पनि डुबानमा परे ।

त्यसबेलाकाे बाढीका कारण बर्दियामा २३ जनाको ज्यान गएको तथा ९ जना बेपत्ता भएका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो । नदी आसपास क्षेत्रका झण्डै १४ हजार घरमा बाढी पसेपछि न समयमै उद्धार भयो, न अहिलेसम्म उनीहरुले उचित राहत नै पाए ।

२०७२ साल वैशाखकाे भूकम्प पीडित सरह २०७१ सालका बाढीपिडितहरुलाई पनि राहत दिने भनेर नेपाल सरकारले घोषण गरे पनि अहिलेसम्म उनीहरुले घर बनाउने राहत रकम पाएका छैनन् ।

भूकम्पपीडित सरह बाढी पीडितलाई घर बनाउन राहत रकम दिने घाेषणा गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ पीडितको खातामा पनि पठायो । त्यसपछि भने केही पाएका छैनन् । नेपाल सरकारले काखा र पाखाकाे व्यवहार गरेको बाढीपीडित संर्घष समिति बर्दियाका अध्यक्ष डिल्लीराज खनालको आरोप छ ।  

पहिलो किस्ता दिएर जग हालेकाे ३ वर्ष पुग्न लाग्दासमेत बाँकी प रकम नदिएकाले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै बाढिपीडित संघर्ष समितिका पुर्वअध्यक्ष विन्तिराम थारुले भन्नुभयाे, ‘कि तुरुन्तै थप रकम दिनु पर्यो, हैन भने दिन सकिन्न भन्दिनुपर्यो’ ।

पूर्ण क्षति भएका बाढीपीडितलाई घरको जग बनाउन सरकारले पहिलो किस्ता वापत ५० हजार दिएपछि जग बनाएकाे र त्यसपछि रकम नपाएकाले दिनहुँजसो नगरपालिकामा धाउने गरेका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताउनुभयो ।

बाढिपीडितहरुले माग सुनुवाइ नभएको भन्दै नगरपालिका कार्यालय परिसरमा रिले अनसन र धर्ना दिन थालेका छन् । आफूहरुको माग संवोधन नभएमा दशैँतिहार पनि नभनेर अनिश्चितकालीन आन्दोलनमा जाने उनीहरुले जनाएका छन् । 

नेपाल सरकारले भूकम्पपीडित सरह बाढीपीडितलाई घर बनाउन ३ लाख रुपैयाँ दिने घोषणा गरे पनि ५० हजार दिएर थप रकम दिन चासो नदिएको भन्दै बाढीपीडितहरु नगरपालिकामा धर्ना बसेका पीडितहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो पनि पोखे, पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाए ।

बाढिपीडितको गुनासो जायज भएको र आफूले पनि गम्भीर भएर बाढीपीडितको माग सम्बोधन गर्न पहल थालेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया