एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
रत्नपार्क–बल्खु–कीर्तिपुर लेखिएको माइक्रोबस शहिदगेटमा रोकियो । दुई चारजना यात्रु मात्रै छन्, धेरै सिट खाली छ । अरुबेला सिट पाउन बसपार्क नै पुग्नुपर्थ्यो, बीचबाट चढ्दा उभिने ठाउँ पाउन पनि मुश्किल पर्थ्यो । तर अचम्म ! यो माइक्रोबस झण्डै रित्तै छ । ‘ए त्रिपुरेश्वर, कालिमाटी, बल्खु, कीर्तिपुर...’ भनेर कराउने सहचालक पनि छैन ।
चढ्ने कि नचढ्ने भनेर अलमलमा परेको बेला ड्राइभर दाइले भने–‘कीर्तिपुर जाने भए चढ्नुहोस् है, पर्खेर बस्दैन, हिँडिहाल्छ ।’
पछाडिको सिटमा गएर बसेँ । त्रिपुरेश्वर, टेकुबाट अरु यात्रु पनि थपिए । ढोकामा सहचालक नदेख्दा र बसमा सिट खाली देख्दा अरुलाई पनि अचम्म लागेछ ।
‘हैन भाइ बस त रित्तै छ, ढोकामा खलासी पनि छैन त ?’ टेकुबाट चढेका एकजना वृद्धले चालकलाई सोधे।
‘अब खलासी नराख्ने बा, खलासीबिनाको बस, मलाई पनि आनन्द, तपाईँहरुलाई पनि आनन्द’ पछिल्तिर फर्कंदै चालकले भने ।
‘भनेपछि हामी यात्रुलाई दशैँको बम्पर उपहार? खलासीबिनाको बस’ अर्को यात्रुले ठट्टा गरे ।
‘अब त्यस्तै सम्झनुहोस्, तपाईँहरुलाई बम्पर उपहारजस्तै हो ?’ चालकले भने ।
‘दशैँसम्म मात्र हो कि सधैं हो त यस्तो उपहार ?’ बृद्धले सोधे ।
‘अब सधैँलाई हो, खलासी हुँदैन’ चालकले शानसँग भने ।
‘तपाईंको बसमा मात्रै कि अरु बसमा पनि ?’ छेउमा रहेकी महिलालाई खसखस लागेछ ।
‘१०/१५ वटा बसमा भैसक्यो, अब अरु बसले पनि खलासी राख्दैनन्’ चालकले भने ।
‘रत्नपार्क – कीर्तिपुर रुटमा कति चल्छन् माइक्रोबस ?’ अर्का यात्रुले सोधे ।
‘दर्ता भएका चाहिँ ८६ वटा छन्’ चालकले भने ।
‘त्यसो भए, ८६ जना सहचालकको रोजीरोटी खोसियो नि, यो त अन्याय भयो ?’ अघिकी महिलाले भनिन् ।
‘हामीले खोसेको होइन, उनीहरुकै बुद्धि र व्यवहारले हो’ चालकले भने ।
चालकको कुरामा सही थाप्दै अघिल्तिर रहेका वृद्धले भने, ‘हो हो खलासीले त दिक्कै बनाउँछन् । त्यसमाथि १०० जनामध्ये ९० जना त बालश्रमिक हुन्छन्, उनीहरुलाई काममा लगाउन पनि मिल्दैन, खलासी नराखेर ठिक गर्नुभयो भाइ ।’
‘हो भन्या खलासीले त वाक्कै गर्ने भन्या । ठाउँ नभए पनि पर सर भन्छ । भाडामा पनि किचकिच गर्छ । झगडा गर्छ’ छेउमा रहेकी अर्की महिलाले सहचालकबाट पाएको सास्ती सुनाइन्।
‘अनि खलासी नभएपछि ढोका लगाउने, बन्द गर्ने चाहिँ कसले गर्छ नि ?’ अर्को यात्रुले सोधे ।
‘यि यहीँबाट लगाउने र बन्द गर्ने गर्छु म, ४० हजार खर्च गरेर अटोमेटिक ढोका बनाएको । यता स्वीच थिचेपछि आफैँ खुल्छ, आफैँ बन्द हुन्छ’ चालकले आफ्नो अघिल्तिर रहेको स्वीच थिचेर ढोका खोल्दै, लगाउँदै भने ।
कालिमाटी पुगेपछि केही मान्छे फेरि बसमा चढे ।
‘ल ल खलासीबिनाको बस चढ्नुहोस्, न ठेलम्ठेल न कचकच, पुरै यात्रुमैत्री’ चालक आफ्नै सुरमा बोले ।
रत्नपार्क–कीर्तिपुर चल्ने अरु माइक्रोबसकोभन्दा फरक र रमाइलो यात्रा हुँदै थियो । कालिमाटीमा पनि उनले धेरैबेर गाडी रोकेनन् । अरुलाई पर्खेनन् । सिट खाली भए पनि गाडी अगाडि बढाए । बल्खुमा पनि उसैगरी मान्छे राखे । खलासी नभएकोबारेमा उस्तै कुरा दोहोर्याए । सबै यात्रुले अचम्म मानेर उनको कुरा सुने र सही थापे ।
कीर्तिपुरको नयाँबजार गेटमा बस रोकियो ।
‘दाइ त्रिपुरेश्वरबाट आएको कति हो ?’ झर्दै गरेका एकजनाले गोजी छाम्दै सोधे ।
‘हुन त १७ रुपैयाँ हो, दुई रुपैयाँ तपाईंसँग हुँदैन, १५ रुपैयाँ दिनुहोस्’ चालकले हाँस्दै भने ।
अरुबेला त सहचालकले त्रिपुरेश्वरबाट पनि २० रुपैयाँ नै लिन्थे । खास भाडा त १७ रुपैयाँ रहेछ । बल्ल पो थाहा भयो ।
‘ए १७ रुपैयाँ हो भाडा त्रिपुरेश्वरबाट ? पहिले त २० रुपैयाँ तिथ्र्यौँ’ अर्का यात्रुले भने ।
‘खास भाडा १७ रुपैयाँ हो, तर चानचुन हुँदैन, त्यसैले त्रिपुरेश्वरबाट चढ्नेसँग म चाहिँ १५ रुपैयाँ लिन्छु, अनि शहिदगेटबाट खास भाडा १९ रुपैयाँ हो, तर एक रुपैयाँ मसँग हुँदैन, २० रुपैयाँ लिन्छु । १७ रुपैयाँको भाडा १५ रुपैयाँ र १९ रुपैयाँको भाडा २० रुपैयाँ लिएर मैले आफ्नो हिसाब मिलाइरहेको छु’ चालक हाँसे । उनको कुरा सुनेर रमाइलो लाग्यो ।
कीर्तिपुर बस स्टप पुगेपछि सबै यात्रु झरे । मलाई उनीसँग गफ गर्न मन लाग्यो । उनले सहचालकबाट पाएको दुःख र हैरानीको कथाव्यथा सुनाए ।
‘मेरो नाम विकास महर्जन । गाडी नम्बर बा २ ख २५५५ । यो मेरो आफ्नै गाडी, आफैँ चलाउँछु । १०/१२ वर्ष भयो गाडी चलाउन थालेको । अस्तिताकासम्म मेरो गाडीमा पनि खलासी थियो । उसलाई मैले स्कुल पठाउनेबाहेक सबैथोक गरेँ । जे भन्यो त्यही मानें । तर उसले मलाई धोका दियो । प्यासेन्जरलाई पनि हेप्ने । उभिने ठाउँ नभए पनि धकेल्ने । घचेट्ने । जे मन लाग्यो त्यही बोल्ने । भाडामा झगडा गर्ने ।
उठेको भाडा नदिने । महिनाको ३०/३५ हजार रुपैयाँ दिँदा पनि चोरेर खाने । खलासी राख्दा एक टिपको तीनसय, चारसय मात्र दिन्थ्यो । अहिले खलासी छैन । सिट पनि खाली खाली नै हुन्छ । तर मैले एक टिपको ५ सय रुपैयाँ उठाइरहेको छु । मैले एकजनालाई भए पनि रोजगारी दिन्छु भनेकै हो, तर खलासीले नै आफ्नो पेशाको कदर गरेन । यात्रुलाई भगवान ठानेन । मलाई तेल हाल्नै नसक्ने बनायो ।
कतिपटक त अरुसित पैसा मागेर तेल हालेको छु मैले । त्यसैले बाध्य भएर सहचालक नराखेको । सहचालक नभएपछि मलाई पनि आनन्द भएको छ । यात्रुलाई पनि आनन्द भएको छ । बढी भाडा लिएको गुनासो पनि आउँदैन । कारबाहीमा पनि परिंदैन । जहाँ पायो त्यहीँ रोक्न पनि पर्दैन । बसमा घुईंचो पनि हुँदैन । म कुवेत र दुबइमा पनि गाडी चलाएर आएको हो । उता पनि बसमा खलासी हुँदैन । त्यसैले बसमा खलासी नभएको धेरै राम्रो ।...’
उनको कुरा सुन्दा लाग्थ्यो, चालक र गाडीधनी सहचालकबाट वाक्क छन् । केही सहचालकको व्यवहारहाले यात्रु पनि दिक्क छन् । तर सहचालक नै नराख्नु पनि समाधानको उपाय त हैन होला । कीर्तिपुर–लगनखेल चल्ने बसले पनि सहचालक राख्दैन । तर सहचालक नहुँदैमा यात्रुलाई सुविधा त भएको छैन । यात्रुको कष्ट र हैरानी उस्तै छ ।
यो प्रसँग निकाल्दा उनले भने, ‘अरुको कुरा म भन्न सक्दिनँ, तर मेरो गाडी चढ्ने यात्रुले असुविधा र दुर्व्यवहार भोग्न नपरोस् भन्ने कुरामा म सचेत छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।