एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
खेतमुनी लहलह झुलेका धानका फाँट । पाखामा एकोहोरो सुसाइरहेको ठाडो खोला । धानको फाँट र खोलाको आँतमा कुनै फेरबदल भएको छैन । पोहोर परार पनि यही सिजनमा धान झुल्थ्यो । उसैगरी खोला सुसाउँथ्यो ।
तर घर छेउको मूलबाटो भने पहिलेभन्दा फेरिएछ । सुनसान, उराठलाग्दो, झाडी र बुट्यानले छोपिन लागेको । मान्छेको पाइला नपरेर हराउन लागेको । बसाईं सरेर हिँडेको मान्छेले छोडेको ठाउँजस्तै ।
धादिङ सिद्धलेकको बैरेनीबजारमा मोटरबाट झरेपछि गाउँ उक्लने मूलबाटो चिन्नै नसकिने भएछ । बरबोटेको फाँटबाट बाटो पहिल्याउँदै उकालो लागेपछि बल्ल एकजना आमै भेट भयो, घाँसको भारी बोकेर ओरालो झरिरहनुभएकी ।
‘कहाँ पुग्ने हो बाबु तपाईं ?’ मलाई देख्नेबित्तिकै सोध्नुभयो ।
‘यसै गाउँ हेर्न हिँडेको आमै’ मैले भनेँ ।
‘ए तलको बाबु पो हुनुहुँदो रहेछ, मैले त नचिनेको, कति पछि गाउँ आउनुभएछ’ आमैले भन्नुभयो, ‘गाउँ के हेरिसक्नु छ र बाबु, रमाइलो छैन ।’
‘किन र आमै’ मैले सोधेँ ।
‘गाउँमा त यसै पनि मान्छे धेरै बस्दैनन्, रमाइलो हुने कुरै भएन । बल्लबल्ल दशैँमा गाउँ आएका मान्छेलाई पनि देख्न पाईंदैन । बाटोमा हिँडे पो देख्न पाइन्छ । मोटरमा हिँड्छन्, को आयो को गयो पत्तो नै हुँदैन । मान्छे हिँड्न छाडे बाबु, साह्रै नरमाइलो लागेको छ’ आमैले विरक्त मान्नुभयो ।
मूलबाटोबाट उकालो चढ्दै गर्दा मलाई पनि यस्तै लागेको थियो । मेरो मनकै कुरा गर्नुभयो चन्द्रमाया आमाले ।
पहिले–पहिले मूलबाटोमा झाडी र बुट्यान फाँडेपछि, अनि कोदालो र गैंचीले खनीखोस्री गरेपछि मात्र गाउँमा दशैँ आउँथ्यो । घरआँगन मात्र होइन, मूलबाटो समेत चिटिक्क हुन्थ्यो । गाउँका हरेक चौतारामा पिङ हालिन्थ्यो । बरपिपलका हाँगा पिङको तालमा हल्लिन्थ्यो । जता हिँड्यो, त्यतै मान्छेको चहलपहल हुन्थ्यो ।
बाटोमा कोही डालोमा रातोमाटो र कमेरो बोकेर फर्किरहेका हुन्थे । कोही बजारबाट दशैँको सामान किनेर फर्किरहेका भेटिन्थे । ढिकीको आवाज सुनिन्थ्यो । मूलबाटोबाट उकालो चढिरहेका मान्छे घरको आँगनमा अर्को मान्छेलाई देखेपछि मुसुक्क हाँस्थे । अनि झोला बिसाएर भलाकुसारी गर्थे । –
‘बुवा सञ्चै हुनुहुन्छ ?’ ‘ओहो बाबु आइपुग्यौ ?’ ‘तिमी फलानाको छोरा हैन त, ल हेर कस्तो चिन्न नसक्ने भएछौ ?’ ‘नमस्ते आमा चिन्नु भयो त ? म माथ्लो गाउँकी फलानीकी छोरी ?’ ‘ओहो नानी कति ठूली भैसकिछौ ? अस्ति भर्खर आमासँग भेट भएको थियो, तेल पेल्न आउनुभएको रहेछ, अलि दिन बस्छौ नि ?’
‘खै आमा एक ओम्खरा पानी दिनुस् त, यति उकालो चढ्दैमा तिर्खा लाग्यो । .....आहा तल निउरे धाराको पानी रैछ, मुखमा पर्नेबित्तिकै थाहा भयो, उस्तै मिठो, यही पानी पिएर हुर्केको हो नि...।’ ‘खाजा खाएर जाउ बाबु...’ ‘हुन्छ नि काका, घरमा बाआमाले बाटो हेर्दै हुनुहोला...उ बहिनी लिन आइसकिछ...झोला गह्रौँ थियो, अलि सजिलो हुने भयो’...।
यस्तै यस्तै भलाकुसारी हुन्थ्यो । बिर्सिन लागेका गाउँलेसँग घनिष्ठता बढ्थ्यो । धेरैपछि भेट भएको खुशियाली साटासाट हुन्थ्यो । मूलबाटोमा हिँड्नेहरुको चहलपहलले नै गाउँमा दशैँ भित्रिएको छनक दिन्थ्यो ।
गाउँ छाडेर हिँडेका मान्छेलाई धेरै पछि देख्न पाउँदा सधैँ गाउँमा बस्नेहरुलाई रमाइलो हुन्थ्यो । वर्षौँपछि गाउँ पुगेर बाटोमा खुइय...गर्दै, छेउछाउका घरका मान्छेलाई बोलाउँदै हिँड्नेहरुलाई पनि बाटो कटेको पत्तो हुन्नथ्यो ।
पसिना पुछ्दै उकालो लागेकाहरु माथि चौतारोमा पुगेपछि थकाइ मार्थे । अघि आएको बाटो नियाल्थे । आहा आफ्नै गाउँ रमाइलो भन्दै जन्मे हुर्केको ठाउँको स्मरण गर्थे ।
तर अहिले यी सबै रमाइलो र चहलपहल ह्वात्तै घटेछ । गाउँगाउँमा मोटर पुगेपछि मान्छेहरु हिँड्न छाडेछन् ।
गाउँ उक्लनुअघि तल बैरेनी चोकमा चरिमारेटारका काका भेटिनुभएको थियो । भर्खर गाडीबाट झरेर गाउँ जान लाग्नुभएका । हातमा एउटा झोला थियो । अघिल्ला वर्षका दशैँमा योभन्दा गह्रौँ झोला बोकेर यिनै काका उकालो चढेको भेटेको थिएँ । तर यसपटक काकालाई हिँड्नै मन रहेनछ ।
‘खै माथिबाट बस आएर फेरि फर्कन्छ भनेका छन्, त्यसैले पर्खेर बसेको, के गर्नु हिँड्ने बानी हराइहाल्यो’ भेट्नेबित्तिकै काकाले भन्नुभयो । झोला बोकेर सरासर उकालो चढ्दा काका आधाघण्टामा घर पुग्नुहुन्छ । गाउँको नागबेली बाटो हुँदै मोटर त्यहाँसम्म पुग्न पनि त्यति नै बेर लाग्छ । तर अरुलाई जस्तै काकालाई पनि हिँड्न मन छैन । ‘मान्छे खचाखच भए पनि कोचिएर जानुपर्ला, के गर्नु त’ काकाले मोटर आउने बाटो हेर्दै भन्नुभयो ।
गाउँमा दशैँ मान्न हिँड्ने मान्छे त हराएछन् भन्ने प्रसँग निकाल्दा विष्णु बुहारीले भनिन्, ‘तपाईं दशैँमा घर आउने मान्छेको कुरा गर्नुहुन्छ, यहाँ सधैँ गाउँमा बस्ने मान्छे त हिँड्दैनन् । हाम्रो घरबाट दुई मिनेट उकालो चढ्दा पुगिने बरबोटे जाने मान्छे त तल चोकमा गाडी पर्खेर बस्छन् ।’
ठिकै छ, गाउँमा गाडी पुग्यो । गाडीको सुविधा भएपछि मान्छेलाई हिँड्नभन्दा गुड्नै सजिलो भयो । तर शहरमा हाइकिङ भन्दै लौरो टेकेर डाँडाकाँडा चढ्दै सेल्फी खिच्नेहरु पनि गाउँ पुगेपछि १०/१५ मिनेट हिँड्न खोज्दा रहेनछन् । शहरमा गाडी चढ्दा चढ्दा थाकेर हाइकिङ जानेहरु पनि गाउँ पुगेपछि नहिँड्ने, गाउँमा सधैँ हिँडिरहनेहरुलाई त झन् गाडी नै चढ्न मन हुने ! कोही नहिँडेपछि त मूलबाटोको अस्तित्व हराउने भयो त !
मनमा यस्तै कुरा खेलाइरहँदा अघि घाँसको भारी बोकेर झर्नुभएकी चन्द्रमाया आमाले थप्नुभयो, ‘मोटरबाटोभन्दा माथि र तल घर भएका हामीजस्तालाई त सधैँ नरमाइलो हुने भयो बाबु । पहिलेपहिले यही बाटो हिँड्नेहरुले पानी मागेर खान्थे । कतिलाई भात नै पकाएर खुवाउँथ्यौँ । चिनजान र भलाकुसारी हुन्थ्यो । झोला बोकेर मान्छे हिँडेको देखेपछि ल दशैँ आएछ भन्ने लाग्थ्यो । अनि दशैँ आउनेबेला यो बाटोले रुप फेथ्र्यो । झाडी फाँडेर, ढुंगा मिलाएर चिटिक्क पारिन्थ्यो । अहिले ल हेर्नुस् त झार र बुट्यानले बाटोको आकार नै हराउन थालिसक्यो ।’
नभन्दै बैरनीबाट बरबोटे हुँदै माथि भट्टराईडाँडा चौतारो निस्केर गाउँ पुग्ने मूलबाटो नै कता हो भनेर खोज्नुपर्ने अवस्थामा पुगेछ । ठाउँठाउँमा मूलबाटोलाई छुँदै नागबेली भएर बनेको मोटरबाटोमा फराकिलो हुँदै र मूलबाटोचाहिँ साँघुरिँदै जान थालेछ ।
बैरेनीबाट उकालो लाग्ने मूलबाटो मात्रै होइन, कालिदहदेखि गहतेटार निस्कने र बुङचुङबाट खरखरे हुँदै अर्चले निस्कने बाटोको हालत पनि यस्तै । ‘अब मान्छे हिँड्न छाडे बाबु, मान्छे नै नहिँडेपछि बाटोको के काम’ बुङचुङको प्रतिक्षालय पेटीमा बसेर तमाखु तान्दै गरेका ८१ वर्षीय कमलीकान्त थपलियाले दिक्क मान्दै भन्नुभयो ।
‘गाउँमा मान्छे हिँडेको रमाइलो कि मोटर चलेको त ?’ मैले सोधेपछि बुवा एकछिन घोरिनुभयो । अनि छेउको मोटरबाटोतिर हेर्दै भन्नुभयो, ‘मोटर चलेको त रमाइलो नै हो बाबु, तर गाउँमा १५/२० मिनेट हिँडेर पुगिने ठाउँमा पनि मान्छे मोटरमै गएको देख्दाचाहिँ रमाइलो लाग्दैन । सबैजना मोटर चढ्ने भएपछि कसैसित भेट हुन छाड्यो । गाउँमा दशैँ मनाउन को आयो, को आएन, कसले के लेरायो भन्ने पत्तो नै नहुने भयो । हालखबर, भेटघाट सबै हरायो बाबु । पहिले मूलबाटो हुँदै दशैँ आउँथ्यो । तर अहिले मोटर चढेर दशैँ आउँछ, मोटर चढेरै जान्छ ।’ हजुरबाले फेरिएको गाउँ र गाउँलेको वास्तविकता पोख्नुभयो ।
कमलीकान्त हजुरबा, चन्द्रमाया आमा र मेरो गाउँ मात्रै होइन, अहिले देशका धेरै गाउँ यसैगरी फेरिएको छ । मूलबाटो र चौतारो हराउन थालेको छ ।
गाउँमा मोटर पुग्दा सजिलो त भएको छ । तर बाटोघाटोको पहिचान, अनि देखभेट, भलाकुसारी, चिनजान र आदरभावको संस्कार हराउन थालेको छ । गाउँ छाडेर शहर बस्नेहरु मोटर चढेर दिक्क भएपछि हाइकिङ भन्दै डाँडापाखा खोज्दै हिँड्छन् । अलिकति उकालो बाटो भेटेपछि खुइय गर्दै सेल्फी खिच्छन् । गाउँमा पुगेपछि तिनै मान्छे फेरि उकालो हिँड्न जाँगर गर्दैनन् । गाउँमै उकालो ओरालो गर्नेहरु पनि १०/१५ मिनेटको बाटो हिँड्न अल्छी गरेर मोटर पर्खेर बस्छन् ।
बाध्यताले उकालीओराली गर्नुलाई पनि हाइकिङ भन्ने गरियो भने गाउँको मूलबाटोमा चहलपहल बढ्थ्यो कि ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।