सुरक्षित आप्रवास परियोजना पालिकाबाटै

 असोज ३०, २०७६ बिहिबार २१:२६:२४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पालिकाबाटै सुरक्षित आप्रवास परियोजना सञ्चालनका लागि पालिका र सेवा प्रदायक संस्थाबीच सम्झौता भएको छ । 

नेपाल सरकार र स्विस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयको सहयोगमा सञ्चालन हुने सुरक्षित आप्रवास परियोजना सञ्चालनका लागि नवलपरासीका चार पालिका र सेवा प्रदायक संस्थाबीच बिहीबार सम्झौता भएको हो । 

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन पालिका र सेवा प्रदायक संस्थाबीच सम्झौता भएको हो । नवलपरासी पूर्व नवलपुरका चार ओटा पालिकामा नेपाल सरकार र स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवास परियोजना सञ्चालन भएको छ  ।

गैँडाकोट, कावासोती र मध्यबिन्दु नगरपालिकाका साथै विनयी त्रिवेणी गाउँपालिका र सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्च (हेकोडेफ) बीच कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

परियोजना अन्तर्गत सूचनामा पहुँच, न्यायमा पहुँच, सिपमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । वैदेशिक रोजगारलाई सुरक्षित बनाउने, वैदेशिक रोजगारबाट आउने रकमको सही सदुपयोग गर्दै स्वदेशमै स्वरोजगारको अवस्था सिर्जनाका लागि कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

देशभर ३९ जिल्लामा नेपाल सरकार र स्विस सरकारको सहयोगमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन हुँदैछन् । त्यसमध्ये पालिका र सेवा प्रदायक संस्थाबीच कार्यक्रम सञ्चालनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको यो पहिलो भएको परियोजनाकी गण्डकी प्रदेश संयोजक उमा शर्माले बताउनुभयो ।

नवलपरासी जिल्लाबाट वैदेशिक रोजगारका लागि जानेको संख्या धेरै छ । वैदेशिक रोजगारलाई व्यस्थित बनाउनु नै परियोजनाको लक्ष्य रहेको सेवा प्रदायक संस्था हिमालयन सामुदायिक विकास मञ्चका कार्यकारी निर्देशक शुरवीर स्थापितले बताउनुभयो । संस्थाले विक्रम संवत २०७० देखि वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारको नीति अनुरुप वैदेशिक रोजगारलाई सुरक्षित, वैदेशिक रोजगारका कारण हुने सामाजिक समस्याको निराकरण र वैदेशिक रोजगारबाट भित्रिएको रकमको सही सदुपयोग गरी दीर्घकालीन रुपमा स्वदेशमै स्वरोजगारको अवस्था सिर्जना गर्नेतर्फ कार्यक्रम लक्षित हुने कार्यकारी निर्देशक स्थापितले बताउनुभयो ।

चालु आर्थिक वर्षमा चार ओटा पालिकाहरुमा गरी ८६ लाख रुपैयाँ बराबरको बजेटको काम गरिने जनाइएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया