परदेशमा  ‘घरदेश’ कार्यक्रम

 कात्तिक ५, २०७६ मंगलबार ११:२१:० | उमाकान्त पाण्डे

यूएई – ओमानमा कार्यरत नेपाली कामदारलाई लक्षित गर्दै ओमानमा रहेको नेपाली दूतावासले सांस्कृतिक कार्यक्रम गरेको छ । 

परदेशमा घरको पीरले धेरै दुर्घटना निम्ताएको भन्दै त्यसको न्युनीकरण गर्ने प्रयास स्वरुप ‘परदेशमा घरदेश’ नामक सांस्कृतिक कार्यक्रम गरिएको नेपाली दूतावास ओमानले जनाएको छ । 

दूतावासले नेपालको इमल इभेन्टससँगको सहकार्यमा ओमानको लुलु कम्पनीमा कार्यरत २ सयभन्दा धेरै नेपाली कामदारको उपस्थितीमा कार्यक्रम गरेको हो । नेपालबाट चर्चित गायक सत्यराज तथा स्वरूपराज आचार्यको उपस्थितीमा सांगीतिक कार्यक्रम पनि गरेको थियो । 

त्यस्तै उत्प्रेरक वक्ता बिष्णु दाहालले श्रमिकलाई परदेशमा बिरानो महशुस गर्न नदिने तथा अन्य मनोबैज्ञानिक समस्या र निवारणका उपाय सम्बन्धी जानकारी गराउनुभयो ।

कार्यक्रम श्रमिकले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली दूतावासले प्रदान गर्ने सेवा सम्बन्धी पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा उपस्थित नेपाली श्रमिक सांस्कृतिक कार्यक्रम लिएर आफ्नै मजदुर क्याम्पमा नेपाली दूतावास आएको भन्दै खुशी भएका थिए । कार्यक्रममा नेपाली दूतावासका सम्पूर्ण कुटनीतिक कर्मचारी तथा साझेदार इमल इभेन्ट्सका प्रतिनिधि र कम्पनीका पदाधिकारीहरूले सहभागीता जनाएका थिए । 

यस्तै ओमानमा रहेका नेपाली श्रमिकलाई कुनै पनि समस्या परेमा तत्काल हटलाईन सेवा अन्तर्गत ह्वाट्सअप , इमो , फेसबूक तथा हटलाइन ७९५१२४९० नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

परदेशमा सामाजिक तथा मानसिक रुपमा एक्लो हुँदा आत्महत्या र कुलतहरूमा फस्नेको संख्या बढिरहेको तथ्याँकले दूतावास चिन्तित भएको र त्यसलाई शून्यमा लैजान नसके पनि न्युनिकरणका लागि पहिलो प्रयास गरेको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया