अप्रेशन थिएटरको पीडा, जनरल वार्डको मलम

 कात्तिक ६, २०७६ बुधबार १६:२६:३९ | मिलन तिमिल्सिना
unn.prixa.net

झट्ट हेर्दा सबैथोक छ । तर नियालेर हेर्दा धेरैथोक छैन । बाहिरी ज्यान सग्लो छ । तर भित्री मन सङ्लो छैन । मनभित्र सबैका आआफ्नै पीर, व्यथा छन् । जसलाई अर्कोले देख्दैन, बुझ्दैन । आफूले मात्रै महसुस गर्न सकिन्छ । अर्कोले देखे, बुझे पनि सम्हाल्ने काम आफैको हो ।

मनका यी कुरा कहिलेकाहीँ मात्र मनमनले मनन गर्छु । अरुबेला जिन्दगीलाई आफ्नै सुरमा छोड्ने गरेको छु । जताजता डोहोर्‍याउँछ, उतैउतै । कहिले लर्खराउँदै, कहिले बतासिँदै । कहिले खहरे खोलोजस्तो, कहिले शान्त समुद्रजस्तो । शान्त समुद्रमा पनि कुनैबेला ज्वारभाटा उठ्छ । खहरे खोला पनि कुनै ठाउँमा तैरिन्छ । जिन्दगी यस्तै हो, तैरिनु, हुत्तिनु, लर्खराउनु, सम्हालिनु ।

भिजाएको गेडागुडी एकैपटक टुसाएजस्तो मनमा अनेक तर्कना आउँदै थियो । पल्लोपट्टि बेडमा बिरामी छोरी कुर्न बसेकी दिदीले भनिन्, ‘हामीले भनेर नहुने, सबै उनकै खटनपटन हो बाबु । उनले जता डोहोर्याउँछन् त्यतै हिँड्नुपर्छ ।’ 

‘उनी भनेको को नि’, मनमा कुरा खेलाउन छोडेर म दिदीको कुरामा मिसिन थालेँ ।

‘भगवान नि । उनैले बनाएका हुन्, अनि उनकै तजबिजमा हिँड्नुपर्छ । बिरामी हुने, अस्पताल बस्ने, अप्रेशन गर्ने, दुःख भोग्ने, सुख पाउने समय उनले नै तोकेर पठाइदिएका हुन्छन् । अहिले अस्पताल आएर दुःख भोग्न भनेका रहेछन् । त्यसैले उनकै खटनअनुसार अस्पताल आउनुपर्‍याे । बस्नु पर्‍याे । ल हेर्नुस् त अस्तिसम्म मेरी छोरी सद्दे थिई । आमाछोरी यही बेडमा बसेर कति धेरै कुरा गरेका थियौँ । अहिले उ राम्ररी बोल्न पनि सक्दिन, जम्मै भगवानले गरेका’, निदाइरहेकी छोरीको कपाल सुम्सुम्याउँदै दिदीले भनिन् ।

‘छोरीलाई के भएको नि दिदी ?’ मैले सोधेँ ।

‘मिर्गाैलामा पत्थरी रहेछ, अस्ति अप्रेशन गरेर निकालेको । सियोले अलिकति घोच्दा त मुर्छा पर्थी, कस्तो भयो होला चिर्दा’, दिदीको आँखा रसायो । ‘बहिनीको त पाठेघरसम्बन्धी समस्या होला है ?’ दिदीले थाहा पाएझैँ गरी फेरि सोधिन् ।

‘हो कसरी थाहा पाउनुभएको ?’ मलाई अचम्म लाग्यो ।

‘अहिले धेरै महिलालाई यस्तै समस्या त हुन्छ नि, गाह्रो छ बाबु हामी महिलाहरुलाई पनि । के–के रोग लाग्छ के–के...’ दिदीले महिलाको व्यथा पोखिन् । वर्षौंदेखि अस्पताल धाउँदा मैले त महिलाका पीडा र व्यथा बुझेको छु भने दिदी त आफै महिला । मैलेभन्दा धेरै पीडा देखेभोगेकी छिन् ।

अघि अस्पताल भर्ना हुने बेला गह्रौं भएको मन दिदीसँगको बातचितले हलुका हुँदै थियो । त्यहीबेला नर्स आइपुगिन् । हातमा सानो कागज थमाउँदै भनिन्, ‘ल यो फर्म भर्नुस् त ।’

फर्म हेर्नेबित्तिकै १० वर्षअघिको सम्झना आयो । त्यतिबेला पनि श्रीमतीलाई अप्रेशन गर्नुअघि अस्पतालले यसैगरी फर्म भर्न लगाएको थियो । पहिलोपटक यस्तो फर्म भर्ने बेला हात काँपेका थिए । अप्रेशन गर्ने बेला बिरामीलाई केही भए यसको जिम्मेवारी म आफै हुनेछु भनेर लेखिएको फर्ममा ल्याप्चे लगाउँदा मन भारी भएको थियो । 
‘मैले आफ्नो सद्दे मान्छेको ज्यान अप्रेशन थिएटरमा पठाउँदैछु, ज्यान त्यहाँबाट फर्कन पनि सक्छ नफर्कन पनि, फर्किएन भने पनि केही छैन, म चित्त बुझाउँछु, जे गर्छौ गर’ भन्ने भावमा ल्याप्चे लगाएर अस्पताललाई आफ्नो मान्छे सुम्पेजस्तो । फर्म भर्दिनँ भन्न पनि नपाउने । माथिदेखि तलसम्म सबै पढ्न पनि नसकिने । लेखेको कुरा केही नपढीकन हतारहतार फर्म भरेर दिएँ । अघिकी दिदी औषधि लिन गइन् । एक्लै भएपछि फेरि मन गह्रौं भयो ।
.........

अप्रेशन थिएटर अघिल्तिरको वार्ड । हरियो गाउन लगाएर बिरामी बेडमा सुतिरहेका छन् । सबै अप्रेशनको लागि पालो पर्खेर बसेका । बाहिरबाट झट्टा हेर्दा सबैजना स्वस्थ । बिरामी नै होइन जस्तो । उनीहरु सबैलाई थाहा छ, केहीबेरपछि बेहोस भइन्छ । त्यसपछि डाक्टरले चिर्छन् । चिरेपछि होस आउन पनि सक्छ, नआउन पनि । होस आउने ग्यारेन्टी भएको भए किन केही भएमा जिम्मेवारी छैन भनेर आफन्तलाई फर्म भर्न लगाउँथे र !

सम्झेर फेरि डर लाग्यो । म यसरी यो कोठामा अपे्रशनका लागि पालो पर्खेर बसेको भए के गर्थें होला । सम्झँदैमा छटपटी भयो । अप्रेशनका लागि तयार भएर बसेकी श्रीमतीलाई कस्तो भयो होला ।

केही महिनाअघि डाक्टरले अप्रेशन गर्नुपर्छ भनेदेखि नै उनी छटपटाउन थालेकी थिइन् । कहिले जेसुकै होस् अपे्रशन गर्दिनँ भन्थिन् । कहिले एकपटक गरिसकेको हो फेरि गर्न केको डर भनेर आफैले आफैलाई सम्झाउँथिइन् । यसबीचमा उनले आफूलाई आफैले सम्झाइन् । चित्त बुझाइन् । जे त होला भनेर तयार भइन् । उनको डर हटाउन म सँगै बसेँ । नर्सहरुले धेरैबेर भित्र बस्न दिंदैन थिए । बाहिर निस्कँदै, भित्र जाँदै गरिरहें ।

अप्रेशनको पालो पर्खेर बस्नेहरुको लाइनमा चितवनका एक युवा र लमजुङका अर्का अधवैंशे पनि थिए । पर्यटक गाइडको काम गर्ने युवा मिर्गाैलाको पत्थरीको अप्रेशन गर्न आएका रहेछन् । भारतीय सेनाको जागिरे अधवैंशेचाहिँ हर्नियाको अप्रेशन गर्न आएका ।

शिरदेखि पाउसम्म निलो कपडा लगाएका डाक्टर र नर्सहरु अप्रेशन थिएटर र वार्डमा ओहोरदोहोर गरिरहन्थे । लाइनमा रहेका बिरामीलाई पालैसँग अप्रेशन थिएटरमा लैजान्थे । अघिसम्म मज्जाले कुरा गरिरहेको मान्छे अपे्रशन थिएटरबाट निस्कँदा मुढोजस्तो देखिन्थ्यो । अलिअलि आँखा उघारेको, मुखमा अक्सिजन र हातमा स्लाइन चढाएको ।

केहीबेरमा मेरी श्रीमतीको हालत पनि यस्तै हुन्छ । सम्झेर फेरि कहाली लाग्यो ।

‘ए दाइ तपाईँ र मलाई चाहिँ अन्तिममा अचानोमा राखेर गिँड्छन् जस्तो लाग्यो’, अप्रेशनको पालो पर्खेर बसेका युवाले अर्कोतिर बेडमा सुतिरहेका अधवैंशेसँग भने । सुनेर उनी हाँसे । भित्र डर देखिए पनि बाहिर उनीहरु हाँस्दै गफ गरिरहेका थिए ।

केहीबेरमा मेरी श्रीमतीको पालो आयो । डाक्टरले बोलाए । अब तपाईँको बिरामीलाई भित्र लैजान्छौं है भनेपछि त्यता हेर्न सकिनँ । मुन्टो हल्लाएर बाहिर निस्केँ । मनमा अनेक कुरा खेल्न थाले ।

अघिसम्म मलाई कतै नजानुस् है भनेर मेरो हात समातेर बसेकी उनी अब बेहोस हुन्छिन् । त्यसपछि डाक्टरले काट्छन्, चिर्छन् । चिरेपछि के–के हुने हो । सम्झेर मन थाम्न सकिनँ । साँझ छिप्पिनै लाग्दा वरपरको संसार झन् अँध्यारो भयो ।

मनभित्र उकुसमुकुस भैरहँदा केहीबेरपछि डाक्टरले अप्रेशन थिएटरभित्र बोलाए । ढोकाबाट पस्ने बेला डाक्टरले जस्तै निलो पोशाक लगाउन भने । हातखुट्टा काँपेर कपडा लगाउनै गाह्रो भयो । जसतसो कपडा भिरें ।

‘यता आउनुहोस् त’ भित्रबाट डाक्टरले बोलाए । डराइडराई हेरेँ ।

वरपर आँखै खाने बत्ती । निलो र सेतो पोशाक लगाएर यताउता गरिरहेका डाक्टर । छेउको बेडमा मुढोझैँ लडिरहेकी श्रीमती । निलो कपडाले ढाकिएको शरीरमा जताततै तार जोडिएको ।

‘उ त्यहाँ उभिनुस् त । यो मनिटरमा हेर्नुहोस्’, डाक्टरले भने ।

उभिन पनि गाह्रो छ, हेर्न पनि ।

कम्प्युटरको मनिटरमा शरीरभित्रको मासु देखाएर डाक्टरले बिफ्रिङ गरे । जुन बिफ्रिङ बुझ्न मलाई गाह्रो भयो । अँ, भनेर मुन्टो हल्लाएँ र दाहिने हत्केलाले आँखा छोप्दै बाहिर निस्केँ ।

बाहिर दाइभाउजू हुनुहुन्थ्यो । एकछिनपछि उनलाई उसैगरी इन्तु न चिन्तुसँग अप्रेशन थिएटरबाट बाहिर ल्याए । अलिअलि आँखा हेरिन् । मन हलुको भयो । दाइ र भाउजू हामी पनि तपाईंसँगै अस्पताल बस्छौँ भन्दै हुनुहुन्थ्यो । मैले पर्दैन भनेर उहाँहरुलाई जानुस् भनेँ ।

त्यो रात बिरामीसँग बस्न पाइएन । अस्पतालको कुरुवा कक्षमा रात बिताउनुपर्ने भयो । कुरुवा कक्षमा पनि थरिथरीका मान्छे । कोही घुरिरहेका । कोही टाउकोमा हात राखेर बसिरहेका । घुर्नेसँग भन्दा घोत्लिनेहरुको व्यथासँग मन मिल्यो । उनीहरुसँगै दुःखका कुरा गरेर त्यो रात छर्लङ्ग कट्यो ।

भोलिपल्ट बिरामीलाई वार्डमा सारे । बिरामीसँगै बस्न पाएपछि मन झन् हलुको भयो । वार्डमा आफ्नोजस्तै व्यथा भएका अरुका कुराले चित्त बुझाउने बाटो बन्दो रहेछ ।

चार दिन, तीन रात अस्पताल बस्दा अझै प्रष्ट भयो - मलाईभन्दा उसलाई धेरै गाह्रो छ । उसलाईभन्दा यसलाई झन् साह्रो छ । यसलाई पनि त्यसको व्यथा अझै मार्मिक छ । अझ पुरुषलाई भन्दा महिलाको व्यथा, पीडा ठूलो छ । यसको, उसको, त्यसको र मेरो व्यथा सँगै बसेर साटफेर गर्दा मन हलुको हुँदो रहेछ । सुख पाउनेहरुको सङ्गतले भन्दा दुःख पाउनेहरुको भलाकुसारीले अप्ठ्यारोमै भए पनि पाइला अघि सार्न प्रेरणा मिल्दो रहेछ ।

डिस्चार्ज हुने बेला तिनै दिदीले बिदाइको हात हल्लाउँदै भनिन्, ‘मैले अस्ति भनेको थिएँ नि बाबु भगवानले कहिले अस्पताल बस्न पठाउँछन्, कहिले घर । आशा छ, तपाईँहरुलाई भगवानले फेरि अस्पतालमै बस्न र अप्रेशन थिएटरमा पस्नका लागि पठाउँदैनन् ।’

अन्तिम अपडेट: कात्तिक ३०, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया