‘स्मार्ट लाइसेन्सको ढिलाइले सरकारकै बेइज्जत भयो, अब एकै दिनमा पाउने बनाउँछौँ’

 कात्तिक ७, २०७६ बिहिबार ११:२५:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

सवारीचालक अनुमतिपत्रलाई अत्याधुनिक बनाउने भन्दै सरकारले  ४ वर्ष अघिदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गर्‍यो । पर्याप्त तयारी र कार्ड छाप्ने भरपर्दो मेसिनबिना सुरु गरिएको स्मार्ट लाइसेन्स वितरणको काम अहिले रमिता बनेको छ । माग भए जति कार्ड छाप्ने मेसिन नहुँदा सेवाग्राहीले २ वर्षसम्म यातायात व्यवस्था विभागले दिएको रसिदका भरमा सवारीसाधन चलाउनुपरेको छ । 

सरकारले स्मार्ट लाइसेन्स छपाइ तीव्र बनाउन यसै महिनाको सुरुदेखि नै मास प्रिन्टर चलाउने भनेको थियो । तर प्रतिघन्टा साढे ४ सय वटासम्म स्मार्ट लाइसेन्स छाप्न सक्ने मास प्रिन्टरमा अझै सिस्टम जडान नहुँदा छपाइ सुरु भएको छैन । मास प्रिन्टर सञ्चालनमा आएपछि अहिले बाँकी रहेका ६ देखि ७ लाख लाइसेन्स ३ महिनामा वितरण गरिसक्ने र त्यसपछि एक महिनामै लाइसेन्स पाइने यातायात व्यवस्था विभागले जनाएको छ । राज्यले एउटा लाइसेन्स दिन पनि २ वर्षसम्म लगायो भनेर नागरिकको पारो तातेको छ । यसै विषयमा अर्जुन पोख्रेलले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालसँग गरेको कुराकानी :

मास प्रिन्टर आयो, अब स्मार्ट लाइसेन्स छपाई फटाफट हुन्छ भन्नुभएको थियो, छपाइ किन सुरु भएन ?

मेसिन आएको त झण्डै २ महिनाजति भयो, मेसिन सिंगै आउने होइन । विभिन्न भागको रुपमा आएको मेसिन जडान गर्नै समय लाग्यो । अहिले बल्लबल्ल मेसिन जडान सकिएको छ । हामीले अहिले मेसिनमा डाटा राख्ने काम गरिरहेका छौँ । 

विभिन्न यातायात कार्यालयबाट आएका डाटा इन्ट्रिगेसनको काम भैरहेको छ । डाटालाई सर्भरमा राख्ने काम भर्खरै परीक्षणको काम भैरहेको छ । हामीले ३/४ सय कार्ड छपाई गरेर परीक्षण गरिरहेका छौँ । १/२ दिनमा परीक्षणको काम सकिन्छ, त्यसपछि हामीले मास प्रिन्टरमार्फत फटाफट स्मार्ट लाइसेन्स प्रिन्ट गर्छाैँ । 

तपाईँहरुले लाइसेन्स दिन नसक्दा केही नागरिकले २ वर्षदेखि रसिदको भरमा सवारीसाधन चलाइरहनुभएको छ, उहाँहरुले लाइसेन्स कहिले पाउनुहुन्छ ?

यो प्रश्नको  जवाफ दिँँदा दिँदा म हैरान भैसकेँ । लाइसेन्स नपाउनेहरुले अबको ३ महिनाभित्र पाइसक्नुहुन्छ । मैले तपाईँसँग भन्नकै लागि यो कुरा भनेको छैन, गर्नको लागि भनेको हो । मैले हाम्रो यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि कार्ययोजना पेश गर्दा मास प्रिन्टर सञ्चालनमा आएपछि ३ महिनामा पुराना लाइसेन्स वितरण गरिसक्ने  योजना पेश गरेको छ । त्यसपछि हाम्रो माग भन्दा मेसिनको छपाइ क्षमता धेरै हुने भएकाले एकैदिनमा प्रिन्ट गरेर लाइसेन्स दिन सकिन्छ ।

काठमाण्डौ बाहिरको हकमा हप्ता दिन लाग्न सक्छ । किनकी बाहिरबाट यहाँ डाटा आउनुपर्‍यो, हामीले छपाइ गर्नुपर्‍यो अनि पठाउनुपर्‍यो । तर काठमाण्डौमा त एकैदिनमा लाइसेन्स पाउने अवस्था आउँछ । 

तपाईँहरुले यसरी प्रतिबद्धता जनाएको त धेरै भयो । नागरिकलाई कहिलेसम्म यसरी आश देखाएर खिस्रिक्क पार्ने ?

यो अलिकति प्राविधिक विषय पनि हो । तपाईँ हामी सबैलाई थाहा छ, गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र छाप्न ल्याएको मेसिन तयार गर्न ६ महिना लगायो । ६ महिनापछि बल्ल छपाइ सुरु भयो । हुन त राष्ट्रिय परिचयपत्र वितरण गर्न निकै हतारो नभएर पनि ढिलाइ भएको होला । तर हामीले त मेसिन ल्याएको २ महिनामा परीक्षण नै गरिसक्यौँ । चाँडो हामी गरिरहेका छौं । तर नागरिकले सोचेअनुसार चाँडो भएको छैन  । 

नागरिकलाई त प्रक्रियासँग मतलब छैन, नतिजासँग मतलब छ । हामीले स्मार्ट लाइसेन्स बेलैमा वितरण गर्न नसक्दा सरकारकै बेइज्जत भएको छ,  हामी यो कुरामा सिरियस छौँ । अब जति गाली खानुपर्छ ३ महिनामा गाली खान्छौँ, त्यसपछि हामी नागरिकको गाली खाने अवस्थामा हुने छैनौँ ।

यो तपाईँको पक्का बाचा नै हो ?

यो पक्का बाचा नै हो । मेसिनमा कुनै ठूलो खराबी आएन भने ३ महिनामा हामीले पुराना सबै लाइसेन्स वितरण गरिसक्छौँ । त्यसपछि त माग भन्दा हाम्रो मेसिनको क्षमता धेरै हुन्छ, समस्या हुन्न ।
 
यो समस्या आउला भन्ने त पहिल्यै अनुमान गर्नुपर्थ्यो । आजको यो समस्यालाई हिजो किन कल्पना गरिएन र मेसिन खरिदमा किन ढिलाइ भयो ?

हिजो नसोचेकैले यस्तो समस्या आयो । म त यहाँ आएको धेरै भएको छैन । अहिले ६ देखि ७ लाख लाइसेन्स प्रिन्ट हुँन बाँकी छन्, नागरिक रसिद देखाएर हिँड्नुपरेको छ । आजको कुरा हिजो नै सोचेको भए आज भयावह समस्या आउने नै थिएन । तर अब हामीले भोलिको लागि सोच्दैछौँ । थप मास प्रिन्ट मेसिन ल्याउनलाई हामीले यसै वर्ष टेन्डर गर्ने तयारी गरिरहेका छौँ । त्यो मेसिन आएपछि नागरिकले ट्रायल पास गरेको १ घन्टामा नै लाइसेन्स प्रिन्ट हुन सक्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया