‘यस क्षेत्रका माली हौ तिमी फर्केर आऊ है, कुरुम्बाङ्ग फर्केर आऊ है’

 कात्तिक ७, २०७६ बिहिबार १९:३:३ | भावुक योगी
unn.prixa.net

बर्दिया – जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामबहादुर कुरुम्बाङ्गलाई बर्दियाका ८ ओटै स्थानीय तहका जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीले भव्य सम्मानका साथ बिहीबार बिदाइ गरेका छन् । 

बर्दियाको गुलरिया, मधुवन, ठाकुरबाबा, राजापुर, बाँसगढी, बारबर्दिया नगरपालिका, बढैयाताल र गेरुवा गाउँपालिका गरी ८ ओटा स्थानीय तहलगायत सरकारी कार्यालयको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच प्रजिअ कुरुम्बाङ्गलाई सम्मान पत्रका साथ बिदाइ गरिएको हो ।

‘याकथुम्बाको सम्झना यहाँ सदैव आउँछ 
कुरुम्बाङ्गको काम जोडेर हेर्दा तिर्खा मेटाउँछ, हो तिर्खा मेटाउँछ । 
विकासप्रेमी प्रजिअ तिमी चिरायु रहे है 
शुभकामना अर्पण गर्छु, दीर्घायु रहे है, हो दीर्घायु रहे है । 
सरुवा भइ जानेछौँ जहाँ, त्यहाँ मन थाउने छ, 
यो बाटो हिँड्दा झलझली तिम्रो याद आउनेछ, हो याद आउनेछ ।’
‘के के छ भित्र त्यो थाहा छैन, बाहिर राम्रो छ 
यी बाटाघाटा सरसरती हेर्दा चङ्गा मन हाम्रो छ, हो चङ्गा मन हाम्रो छ । 
राज्यको नीति सक्दैनौ रोक्न जान त जाऊ है 
यस क्षेत्रका माली हौ तिमी फर्केर आऊ है, कुरुम्बाङ्ग फर्केर आऊ है ।’ 
‘यै जाने बेला हाँसेर जाऊ, रुने काम हाम्रो हो 
आँखामा आँशु मुटुमा धड्कन बोक्ने काम हाम्रो हो, बोक्ने काम हाम्रो हो 
विकासप्रेमी प्रजिअ तिमी चिरायु रहे है 
शुभकामना अर्पण गर्छु, दीर्घायु रहे है, हो दीर्घायु रहे है ।’ 

बार एसोसियशन बर्दियाका अध्यक्ष देविदत्त देवकोटाले कुरुम्बाङ्गलाई लक्षित गर्दै प्रस्तुत गरेको यो भावनात्मक कविता सुनेर बिदाइ कार्यक्रमका सहभागी सबै स्तब्ध भए । सहभागी सबै भावुक बनेर गहबाट आँशु बग्न थालेपछि उहाँ कालो चस्मा लगाउन बाध्य हुनुभयो ।

झण्डै साढे एक वर्षको बर्दिया बसाइका क्रममा सुशासन कायम राख्दै, अनियमितता, ढिलासुस्ती, भ्रष्टाचारविरुद्ध अग्रसर हुँदै नागरिकको हितमा काम गर्ने र बर्दियाको विकासमा निरन्तर लाग्नुभएका कुरुम्बाङ्गलाई सम्मानका साथ बिदाइ गरिएको मधुवन नगरपालिकाका मेयर गणेश केशीले बताउनुभयो । 

सम्मान ग्रहण गर्दै प्रजिअ कुरुम्बाङ्गले नागरिकको हितमा काम गर्नुपर्ने बताउँदै बर्दिया रहँदा विकासका लागि दिन रात खटिएको र अब जाने जिल्लामा पनि खटिरहने उहाँले बताउनुभयो । आफू जहाँ गए पनि नागरिकको हितमा काम गर्ने भएकाले नागरिक र कर्मचारीको पनि ठूलो सहयोग पाएको उहाँले बताउनुभयो । 

बर्दियामा विभिन्न मुद्दाका विवादमा संवाद समिति बर्दियाले सहजीकरण प्रकृयाअघि बढाउँदा पनि प्रजिअले गर्नुभएको  सहयोगको संवाद समूह सदस्य विष्णु थारुले प्रशंसा गर्नुभयो ।

कुरुम्बाङ्गले नागरिककै हितमा काम गर्ने, विकास निमार्णमा भएका ढिलासुस्तीको अन्त्य गर्ने, बजार अनुगमन गर्ने, चोरी निकासी रोक्ने जस्ता उदाहरणीय काम गर्ने गरेका कारण जिल्लाबासी पनि निकै खुशी थिए । 

बिदाइ कार्यक्रमका सहभागी भएकाहरुले उहाँजस्तो विकासप्रेमी, नागरिकमैत्री अभिभावक सीडीओको बर्दियालाई खाँचो रहेको भन्दै फेरि पनि बर्दिया आउन आग्रह गरेका थिए । 

बर्दियाबाट सरुवा भएर स्याङ्जा जान जान लाग्नुभएका प्रजिअ कुरुम्बाङ्ग शुक्रबार बिहान त्यसतर्फ हिँड्ने कार्यक्रम रहेको छ । बर्दिया प्रजिअमा प्रेमलाल लामिछाने आउनुहुने बताउँदै आफूलाई जस्तै उहाँलाई पनि सहयोग गर्न कुरुम्बाङ्गले आग्रह गर्नुभयो ।

देशभरका राष्ट्रसेवक कर्मचारीहरुको प्रतिस्पर्धामा सन् २०१८ का इन्टिग्रिटी आइडल आवर्डमा कुरुम्बाङ्ग विजेता हुन पनि सफल हनुभएको थियो । 

कुरुम्बाङ्गकै कारण देशभरमै बर्दिया जिल्ला प्रशासन कार्यालय पहिलो

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गकै कारण नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा गएको वर्षको कार्य सम्पादनमा देशभरका ७७ जिल्ल्लामध्ये जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको थियो । 

बर्दियाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो प्राथमिकतामा राखेर कामअघि बढाएकाले देशभरमा पहिलो भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीको भनाइ छ ।

बिदाइका क्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बर्दिया बसाइँका क्रममा काम गर्दा सबै क्षेत्रबाट ठूलो सहयोग प्राप्त भएको बताउँदै आफ्ना सहकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, नागरिक समाज लगायत सम्पूर्ण बर्दियाबासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताउनुभयो ।  

‘बर्दियाबासीको सहयोगका कारण यो साढे एक वर्षमा बर्दियाको विकासमा ठूलो परिवर्तन भएको छ, राजनीतिक दलले गर्ने काम कर्मचारीले गर्यो भनेर नसोचिदिन आग्रह गर्दै भावुक मुद्रामा गहभरि आँशु राखेर स्वागत र बिदाइ निरन्तर चलिरहने प्रत्रिया हो’, उहाँले भन्नुभयो ।

बर्दियाबासीको मायाले गर्दा देशभरमै पहिलो जिल्ला बर्दियालाई बनाउन सफल भएकोमा आफू गौरवान्वित भएको उहाँले बताउनुभयो । आफूमा नागरिकप्रति अझै बढी जिम्मेवारी थपिएको र नागरिकको हितमा काम गर्ने हौसला मिलेको उहाँले भन्नुभयो । 

नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट छोडेर सीडीओ

नागरिकको घरदैलोमा सरकारी सेवा पुर्‍याएर चर्चामा आउनुभएका कुरुम्बाङ्ग तेह्रथुम जिल्ला फेदाप गाउँपालिका १ का बासिन्दा हुनुहुन्छ । उहाँ निजामती कर्मचारीमा आएको २९ वर्ष भयो । स्नातकोत्तर उत्तीर्ण कुरुम्बाङ्ग २०४६ सालमा सुब्बाबाट सरकारी जागिरमा प्रवेश गर्नुभएको हो । 

त्यसपछि २०४९ सालमा नेपाली सेनाको (सहायक सेनानी) सेकेण्ड लेफ्टिनेन्टबाट नाम निकालेपछि २०५३ सालसम्म नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा जागिरे हुनुभयो । नेपाली सेनाको जागिर छोडेर फेरि २०५५ सालमा निजामती कर्मचारीको अधिकृतमा नाम निकाल्न सफल हुँदै उहाँ उपसचिव हुनुभयो ।  

नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टबाट जागिर जाडेर २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा देशभरका विभिन्न सात ओटा जिल्लामा काम गरिसक्नुभएका कुरुम्बाङ्ग नागरिकप्रति जवाफदेही, भ्रष्टचार विरोधी, विकासप्रेमी, जनप्रिय प्रशासकको नामबाट पनि चिनिनुहुन्छ ।

काल्पनिक कथाका हिरोभन्दा कम थिएनन् कुरुम्बाङ्ग

काल्पनिक कथा वस्तुमा आधारित एउटा हिन्दी चलचित्र 'नायक'मा एकदिनको मुख्यमन्त्रीको भूमिकामा रहेका कलाकार अनिल कपूरले निभाएको अभिनयभन्दा कम छैन, यो साढे एक वर्षमा कुरुम्बाङ्गको वास्तविक कार्य दक्षताको वास्तविक काम पनि । 

साढे एक वर्ष बसाइका क्रममा भएका राम्रा कामको बारेमा यतिबेला प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले वास्तविक रुपमै खेलेको भूमिकाको सबैले प्रशंसा पनि गरिरहेका छन् । सुरुका केही दिन मात्रै होइन, बर्दिया आएका दिनदेखि आजसम्म उहाँ बर्दियाको समस्यालाई हटाएर विकास गर्नतर्फ लागि पर्नुभएको बर्दियाबासी नागरिकको भनाइ छ । 

‘बर्दियामा आउनेबित्तिकै कुरुम्बाङ्गले बजार अनुगमनलाई तीव्रता दिँदै सुशासन कायम गर्दै, भष्ट्राचार, कालोबजारी, चोरी निकासीको अन्त्य गर्न अग्रणी भूमिका निभाउनु भएको छ’, नेपाल पत्रकार महासंघका पूर्वसचिव एवं रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले भन्नुभयो । 

वर्षाको समयमा बबई नदीमा बाढी नियन्त्रण तथा तटबन्धन निर्माणमा समेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपालले बताउनुभयो ।

अछाममा प्रमुख जिल्ला अधिकारी रहँदा सदरमुकामबाट निकै टाढा रहेको गाउँमा पुगेर नागरिकता लगायतको घुम्ती सिविरको सुरुवात गरेको सम्झिँदै उहाँले ‘गाउँ–गाउँमा जिल्ला प्रशासन सेवा’ अभियान सुरु गरेको बताउनुभयो । 

सुरुमा अछाम जिल्ला त्यसपछि ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्यूठान, मोरङ्ग लगायतका जिल्लामा बसेर बर्दिया सातौँ जिल्लाका रुपमा काम गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । आफूले काम गर्ने जिल्लाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक अवस्था, सरकारी कार्यालयले गरिरहेको काम कारबाही, विकास निर्माणका बारेमा जानकारी लिएर जाँदा सजिलो हुने उहाँको अनुभव छ । 

आफ्नो सेवा जागिर होइन, नागरिक कै लागि सेवा हो

सरकारी जागिरको ‘क्रेज’ बढ्दै गैरहेको छ । सरकारी सेवा प्रवेश गर्दा धेरै तयारी गर्ने तर जागिरे भैसकेपछि ‘काम गरे पनि भयो, नगरे पनि भयो’ भन्ने मनोवृतिको विरोध गर्नुहुन्छ उहाँ । उहाँले भन्नुभयो, ‘यो जागिर मात्रै नभइ, सामाजिक सेवा पनि हो ।’ नागरिकहरुको अपेक्षा दिन प्रति दिन बढिरहेको भए पनि सरकारी कार्यालयबाट त्यसअनुसार काम हुन नसकेको उहाँ बताउनुहुन्छ ।

कर्मचारी नागरिकको समस्याप्रति उदासिन हुँदा नागरिक र सरकारबीच दुरी बढिरहेकाले सरकारी सेवालाई जागिर मात्रै नभइ सेवा मानेर जनताप्रति जवाफदेही हुनुपर्ने उहाँ बताउनुहन्छ । सरकारी कार्यालयले जनतालाई दुःख दिने नभइ सेवा गर्ने ठाउँका रुपमा विकास गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

त्यसैले पनि उहाँले जिल्ला प्रशासन कार्यालय बर्दियाले गरेका निर्णयहरु, कार्यक्रमहरु र सूचनाहरु एसएमएस, इमेल र वेबसाइटमार्फत प्रवाह गर्ने व्यवस्था पनि मिलाउनु भएको छ । सरकारी कामकाजले सेवाग्राहीलाई सजिलो हुने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ । 

आफूलाई सेवाग्राहीको ठाउँमा राखेर हेर्नुपर्ने बताउँदै कुरुम्बाङ्गले भन्नुभयो, ‘नजान्नु सेवाग्राहीको दोष होइन, त्यो त हाम्रो दोष हो । सबै कुरा सेवाग्राहीलाई थाहा हुँदैन, सिकाउनु पर्ने र नागरिकलाई सहज ढंगबाट सेवा प्रवाह गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्यसैले नागरिकलाई सहयोग गर्नुपर्छ ।’ 

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया