‘सुरक्षित वैदेशिक रोजगारीका लागि पालिकाले लगानी बढाउनु पर्छ’

 कात्तिक १४, २०७६ बिहिबार ११:२३:३२

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पालिकाहरुले लगानी गर्नुपर्ने बताउनुभएको छ । 

सुरक्षित आप्रवासन सामी परियोजनाको आयोजनामा भएको जनप्रतिनिधीसँगको एक दिने अन्र्तक्रिया कार्यक्रममा रिजालले पालिकाको कुल जनसंख्याभन्दा धेरै रेमिट्यान्स भित्रने क्षेत्रलाई सुरक्षित बनाउने विषय ओझेल परेको भन्दै प्रमुख रिजालले यसतर्फ पालिकाहरुको ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो । 

कार्यक्रममा उपस्थित वडाध्यक्षहरुले वडा तहमा नै सुरक्षित वैदेशिक रोजगारका बिषयमा जानकारी दिन र सीपयुक्त जनशक्ति तयार गर्न कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका थिए ।

वडा महिला सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वैदेशिक रोजगारमा महिलाहरुको सहभागिता र सुरक्षाका बिषयमा समेत छलफल भएको थियो । 

कार्यक्रम उपस्थित जनप्रतिनिधी महिलाहरुले वैदेशिक रोजगारमा जान चाहने महिलालाई निरुत्साहित गर्न नहुने भन्दै उनीहरुको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । 

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालीका सदस्यहरु, जनप्रतिनिधि महिला एवं नगरपालिका अन्तर्गतका विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया