दक्षिण एसियाली खेलकुदमा आज २१ स्वर्णका लागि प्रतिस्पर्धा

 मंसिर १८, २०७६ बुधबार ७:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार १७ खेल हुँदैछन् । जसले २१ स्वर्णको छिनोफानो गर्नेछ ।

बुधबार एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुषको क्रिकेट, साइकलिङ, महिला र पुरुषको फुटबल, गल्फ, ह्याण्डबल, कबड्डी, कराते, खोखो, सुटिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, ट्रायाथलन र उसुका खेल हुँदैछन् । 

एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछन् । महिला र पुरुषको लंग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, २ सय मिटर दौड र ४ सय मिटर हर्डल्सको पुरुष र महिला तर्फकै छनोट चरणका खेल हुनेछन् । 

यस्तै, ब्याडमिन्टनतर्फ सिंगल्स र डबल्सका क्वार्टरफाइनलका खेलहरु हुनेछन् । क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ र भुटान प्रतिस्पर्धा गर्दैछन् । 

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।

साइकलिङमा डाउनहिल च्याम्पियनसिपको फाइनल हुँदैछ । फुटबलतर्फ नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजे हुनेछ । 

पोखरामा हुने महिला फुटबलतर्फ नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ । गोकर्णमा गल्फका ब्यक्तिगत र टिम इभेन्टका दोस्रो चरणका खेलहरु हुँदैछन् ।

पोखरामा हुने ह्याण्डबलमा पुरुषतर्फ नेपाल र पाकिस्तान खेल्दैछन् भने महिला तर्फ नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । यस्तै बुधबार नै पुरुषतर्फ भारत र बंगलादेश र महिला तर्फ भारत र माल्दिभ्स पनि खेल्दैछन् । यस्तै कराँते प्रतियोगिता बुधबारदेखि सकिँदैछ ।

बुधबार ब्यक्तिगत कुमितेतर्फ पुरुषको ५० केजी मुनि र  महिलाको ६१ केजी माथिमा प्रतिस्पर्धा हुँदैछ । यस्तै महिला र पुरुषको टिम कुमितेको फाइनल पनि हुँदैछ ।

खोखोमा महिलातर्फ बुधबार नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष तर्फ भने भारत र बंगलादेश स्वर्ण पदकका लागि खेल्दैछन् ।

सुटिङमा पनि महिलाको थ्री पोजिसन राइफल र पुरुषको एयर राइफलका प्रतिस्पर्धा हुँदैछन् । तेक्वान्दोमा तक्वान्दोमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुँनेछ । पुरुषको ६३ केजी मुनि, ७४ केजी मुनि र ८७ केजी माथिको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५३ केजी मुनि, ६२ केजी मुनि र ७३ केजी माथिमा प्रतिस्पर्धा हुनेछ ।

टेनिसमा महिला र पुरुषको टिम इभेन्टका फाइनल हुनेछन् । महिलाको फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् भने पुरुषतर्फ पाकिस्तान र भारत प्रतिस्पर्धा गर्नेछन् ।

ट्रायाथलन अन्तर्गत बुधबार मिक्स रिलेका स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछन् । यस्तै टेबल टेनिसमा पुरुष र महिलाको सिंगल्स तथा डबल्सका खेलहरु संचालन हुँदैछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया