छोराछोरीको हानथाप : पढाइ छोडेर खेलाडी बन्छु, नेता छान्ने रियालिटी शोमा जान्छु !

 मंसिर २८, २०७६ शनिबार ८:२४:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

हेर्दाहेर्दै प्याजभन्दा साग महँगो भयो । प्याजको हिसाब त सयबाट हजार उक्लिन पाएको छैन । सागको हिसाब त एकैपटक लाखबाट सुरु भयो र करोड नै भेट्न लाग्यो । प्रधानमन्त्रीले मच्चीमच्ची सागको हिसाब गरेको टिभीमा देखेपछि छोरीले भनिन् – म भोलिदेखि स्कुल जान्न, पौडी खेल्छु । 

उनको भाइ झन् के कम ? भित्तामा लात्ताले भ्वाक्क हान्दै भन्यो – म पनि अब किताब राख्ने ब्याग फालेर फुटबल खेल्छु ।
पल्लो घरको अर्को छोरीले भनिन् – म पनि स्कुल जान्न, ढिस्यूँ ढिस्यूँ कराँते, उसु, कुस्ती खेल्छु ।

उनको दाइले भन्यो – म पनि अब बक्सिङमा लाग्ने हो । पढाइसढाइ गोली मार ।

‘हैन यी केटाकेटी के भन्छन् ? केको भूत चढ्यो ?’ सुनेर बाबुआमा हैरान भए । छोराछोरीलाई सम्झाउन थाले । तर छोराछोरी पटक्कै मान्दैनन् ।
अघिल्लो दिनसम्म मोबाइल र टिभीमा मात्र झुण्डिने छोराछोरी कोही फुटबल बोकेर बाहिर निस्के । कोही खोलामा पौडी खेल्न जान्छु भन्दै तम्सिए । कोही कोठामै ढिस्यूँ ढिस्यूँ कराँते, बक्सिङ र कुस्ती खेल्न थाले ।

‘हैन तिमीहरुको के चाला हो हँ ? खुरुखुरु पढ’, आमाले हप्काइन् ।

‘ल ल खुरुक्क ब्याग बोकेर स्कुल जाने है, खेलेर हुँदैन पढ्नुपर्छ’, बाबुले थर्काए ।

‘नाइँ नाइँ हामी पढ्दैनौ, खेल्ने हो’, केटाकेटीले एकै स्वरमा भने ।

हिजोसम्म त उनीहरु बाबुआमाले हप्काउनेबित्तिकै किताबकापी समातेर बस्थे । बेला भएपछि खुरुक्क ब्याग बोकेर स्कुल हिँड्थे । आज त न पढ्न मन गर्छन्, न स्कुल जान खोज्छन् ।

‘हैन तिमीहरुले किन नपढेको हँ, खुरुक्क पढ’ आमाले फेरि हप्काइन् ।

‘नाइँ नपढ्ने, पढेर के हुन्छ ?’ छोरी मुखमुखै लाइन् ।

‘हैन के भन्छे यो ? किन नपढ्ने ?’ आमाले पिटुँलाझैँ गरी हात उठाइन् ।

‘तपाईँले पढेर अहिलेसम्म कति कमाउनुभयो भन्नु त ?’ छोरीको प्रश्न सुनेर आमा एकछिन टोलाइन् ।
‘एक त पढेर जागिर पाउन गाह्रो, जागिर पाए पनि तलबले घर चलाउन गाह्रो, हो कि होइन ल भन्नु त ?’, बक्सिङ खेलिरहेको छोरोले बहिनीको कुरामा सही थाप्दै भन्यो ।

छोरोको कुरा सुनेर आमाले औंला भाँच्न थालिन् । अफिस हिँड्न लागेको बाबु पनि टोलाए ।

‘थाहा छ बाबा १० दिन खेल्दा १० लाख । दुइटाभन्दा बढी स्वर्ण जित्नेलाई त झन् त्योभन्दा बढी । कांस्य ल्याउनेले पनि कम्तीमा तीन लाख पाउने रहेछ । जिन्दगीमा सके एकपटक स्वर्ण, नसके दुई चार पटक कांस्य पदक मात्रै जिते पनि मालामाल भैहालिने रहेछ नि । पढेर के काम ?’ छोरी फेरि बोलिन् ।
‘चुप लाग तिमीहरु, खेलाडीले दुई दिन खेलेर सफल भएका हुन् त ? उनीहरुले वर्षौंदेखि मेहनत गरेका छन् । कति धेरै दुःख गरेका छन् । त्यसै आएको छ पदक ?’ बाबुले प्रस्ट पार्न खोजे ।

‘हामी पनि त्यस्तै दुःख गरिहाल्छौँ नि, दुइटा स्वर्ण ल्याइयो भने त आहा...’ छोरोले मुख मिठ्यायो ।

‘अनि स्वर्ण जित्नेले चाहिँ पढेकै छैन भन्ने लागेको तिमीहरुलाई ? उनीहरुले पढेका पनि छन्, खेलेका पनि छन्’, आमाले भनिन् ।
‘उनीहरुले जेसुकै गरुन्, तर पढ्न थाल्यो भने त स्वर्ण जित्नेगरी तयारी गर्नै पुग्दैन । हामी त अब नपढ्ने । किन चाहियो पढाइ ? पढेर जागिर पाइने होइन । सर्टिफिकेट थन्काएर विदेश जानुभन्दा त खेलेरै बस्न आनन्द’, छोरोचाहिँ जान्ने पल्टियो ।

‘अँ खेलाडीले चाहिँ खुब भनेजति पाएका छन् नि ? एक त केही खेलाडीले मात्र बल्लबल्ल मुश्किलले पुरस्कार पाउन लागेका हुन् । त्यो पनि कहिले कति पाउने अझै भर छैन । अरु पदक पाउन नसकेका, तर जिन्दगीभर खेलमै लागेका खेलाडीको हालत थाहा छ तिमीहरुलाई ? कुरा बुझ्नु सुझ्नु छैन त्यसै उफ्रिएका छन्’, बाबुले बुझाउन खोजे ।

‘नाइँ नाइँ हामी त खेल्ने हो खेल्ने हो’, छोरीले ढिपी गरिन् ।

‘त्यसो भए म नेता बन्छु, रियालिटी शो हुँदैछ रे । नेता बन्न पनि पढ्नु पर्ने होइन क्यारे’ खेलाडी बन्छु भनेको छोरोले मूड चेन्ज गर्यो ।
‘थुक्क मुर्ख ! रियालिटी शोबाट छानिएका नेता पनि काम लाग्लान् त ? जज को छन् थाहा छ ? चुनावमा धरौटीसमेत जोगाउन मुश्किल पर्ने पार्टीका मान्छे जज भएको रियालिटी शोले कस्तो नेता छान्ने होला ?’, बाबु हाँसे ।

‘रियालिटी शोबाट नछानिएका नेता भएर पो देश नबनेको होला नि त बाबा, बरु दाइ रियालिटी शोबाट नेता बनोस्, मचाहिँ पौडी खेलाडी नै बन्ने हो’ छोरी बोलिन् ।
‘अँ तेरै दाइजस्तो गोबर गणेश नेता होला र देश बन्ला ? बर प्याज महँगो भएको बेला प्याज फलाउने रियालिटी शो गर्नु नि ?’ आमाले भनिन् ।
‘ह्या ममी पनि ल्याङ कुरा मात्रै गर्ने क्या...खेल्न नपाउने हो भने म त नेता बन्ने रियालिटी शोमा जाने हो, पढ्न चाहिँ अब नजाने’, छोरोले जुल्फी तह लगाउँदै भन्यो ।

‘ए चुप लाग, तिमीहरु खुरुक्क स्कुल जान्छौ कि म प्रिन्सिपललाई फोन गरौँ’, बाबुले खल्तीबाट फोन निकाले ।

‘नाइँ नाइँ फोन नगर्नुस्, हामी अब स्कुल जान्छौँ’, दुवै छोराछोरी ब्याग लिन कोठाभित्र पसे । 

अन्तिम अपडेट: चैत २, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया