खाडी देशमा भ्रमण वर्षको सुझाव संकलन : बहाना एक, खर्च अनेक

 पुस ३, २०७६ बिहिबार ९:११:३९ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – मध्यपूर्वका खाडी देशहरुमा ‘भ्रमण वर्ष २०२०’ बारे सुझाव संकलन सुरु गरिएको छ ।  

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ अघि बढाइएको अभियान सुरु हुन १५ दिन मात्रै बाँकी हुँदा भ्रमण वर्षको सचिवालयले बल्ल सुझाव संकलन सुरु गरेको हो । 

सरकारले सचिवालयका उपसचिव राजन पौडेल तथा शाखा अधिकृतलाई खाडी देशमा सुझाव संकलनका लागि खटाएको छ । ओमानमा गएको हप्ता सुझाव संकलन गरेर यूएई आएको टोलीले विभिन्न ठाउँमा सुझाव र प्रतिबद्धता संकलन गरेको छ ।  

एनआरएन यूएईको सहयोगमा दुबईमा मंगलबार भएको कार्यक्रममा सहभागीहरुले विमानस्थलको सुधार, सुलभ र व्यवस्थित यातायात, सार्वजनिक स्थलमा शौचालयको व्यवस्था जस्ता पूर्वाधारको विकास गर्न सुझाव दिएका थिए । पर्यटकको स्वास्थ्य तथा सुरक्षाका विषयमा पनि सरकार गम्भीर हुनेपर्नेमा उनीहरुले जोड दिए ।  

त्यस्तै आबुधाबीमा बुधवार नेपाली दूतावासको स्थानीय आयोजना तथा भ्रमण वर्षको सचिवालयका प्रतिनिधिको सहभागितामा गरिएको कार्यक्रममा नेपाली समुदायको उपस्थिति थियो । 

मध्यपूर्वका पर्यटक भित्र्याउन सरकारले विशेष योजनासहित उनीहरुको रुचि र चाहनाअनुसारका योजना ल्याउनुपर्नेमा सहभागीहरुले सुझाव दिए । उनीहरुले खाडीको यूरोपको रुपमा चिनिने दुबई विभिन्न देशका नागरिकको भ्रमण स्थल भएकाले यहाँ आएका पर्यटकलाई नेपालसम्म लैजान नेपाल सरकारले पहल गर्नुपर्ने धारणा राखे । 

यूएईमा ट्राभल व्यवसाय गदै आउनुभएका एकेन्द्र थापाले मध्यपूर्वलाई श्रमसँगै नेपालको आर्थिक साझेदारीमा पनि सहभागी गराउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै प्रवासी एकता नेपाली समाज यूएईका अध्यक्ष शशी सिलवालले खाडी देशहरुमा नेपालको धार्मिक भन्दा पनि हिमाल, पर्वत तथा प्राकृतिक गन्तव्यको प्रचारमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।

यस्तै यूएईमा रहेर नेपालको वित्तीय क्षेत्रमा कार्यरत प्रकाश पौडेलले यहाँका मुख्य पर्यटकीय ठाउँहरुमा नेपाली मेला र प्रचारलाई जोड दिर्नुपर्ने बताउनु भयो । नेपाली बिजनेस काउन्सिलका सीपी सापकोटाले भ्रमण वर्षलाई सफल बनाउन यूएईमा रहेका संघ–संस्थासँगै काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रचार गर्न बजेट अभाव, सुझाव सकंलनका नाममा लाखौँ खर्च 

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्ष सफल बनाउन सरकारले गरिरहेको गतिविधिबारे जानकारी दिनुभयो । 

पूर्वाधारको विकाससहित विभिन्न देशका नागरिकलाई सम्बन्धित देशमा पर्यटक सम्भावना दूत तोकेर प्रचार गरिरहेको जनाउँदै उहाँले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई सक्रिय हुन अनुरोध गर्नुभयो । 

नेपाली कला र संस्कृति युद्धपछि शान्ति यात्रामा नेपालको सफलताको सन्देश विश्वमा पुगेकाले पनि नेपालप्रतिको आकर्षण बढेको उहाँको भनाइ छ  ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पर्यटक भित्र्याउन मुख्य तीन विषय महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । हवाई मार्गको प्रशस्तता, पर्यटकीय पूर्वाधार र निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिनुपर्ने राजदूत ढकालको भनाइ छ । 

भ्रमण वर्ष २०२० सुरुवात मात्र भएको र यसले व्यवस्थित लामो यात्रा तय गर्नुपर्ने भन्दै ढकालले निजी क्षेत्रबाट भ्रमण योजनाको तर्जुमा गर्न सुझाव दिँदै दूतावासले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले पर्यटन वर्षको प्रचारप्रसारका लागि उल्लेख्य बजेट आवश्यक पर्ने भएकाले सीमित स्रोत र साधनको दायरालाई बढाएर दूतावासले सक्दो प्रयास गर्ने जानाउनु भयो ।  

सुझाव संकलनको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने सरकारले प्रचारप्रसारमा प्रयाप्त ध्यान नदिएको भन्दै यूएईमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता नेपाली नागरिकले भने असन्तुष्टि जनाएका छन् । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सावित्री थापा गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव डिल्लीराज घिमिरे , दूतावासका तर्फबाट उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

यूएईमा रहेका विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, नेपाली व्यवसायीले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Vishow khanal

    Dec. 19, 2019, 1:08 p.m.

    नेपालको पर्यटन पर्वधन गरौं । साथिलाई नेपाल घुम्न पठाऔं ।। नेपालको प्रोफेशनल टुर कम्पनी TravHill.com Pvt. Ltd. मार्फत नेपाल घुम्न पठाउनुहोस । उहाँ हरुले तपाईलाई फेरी भेट्दा "धन्यवाद" दिने बनाएर पठाउँछौं । तपाईले मात्र यति गरे पुग्छ... माथिको बेभसाईट साथिलाई दिनुभयो भने उहाँहरुले चाहेको Packages रोज्न वा केही सोध्नु परेमा हाम्रो Tour Manager हरु संग Live Chat गर्न सक्नुहुन्छ । सम्पर्क काठमाण्डौं +9779812383900, दुबर्ई +971559273260 नोट: विजनेश टु बिजनेश अधिकृत एजेन्सी को लागि [email protected] मा ईमेल गर्न अनुरोध गर्दछौं । साथै ग्रुपमा आउन चाहनेकोही साथि हुनुहुन्छ भने पनि सम्पर्क गर्न अनुरोध गर्दछौं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया