सोलुखुम्बुमा नियमविपरीत हेलिकोप्टरमार्फत सामान ढुवानी हुँदै, प्रशासन बेखबर

 पुस ४, २०७६ शुक्रबार १५:३२:४३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको विभिन्न स्थानमा नियम उल्लंघन गर्दै हेलिकाेप्टरमार्फत सामान ढुवानी हुने गरेको छ । कैलाश र सिम्रिक एअरको हेलिकोप्टरले खुम्बुको विभिन्न स्थानमा मनोमानी खाद्यन्न, लत्ताकपडा तथा निर्माण सामाग्री ढुवानी गरिरहेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा सुरक्षाको पूर्ण प्रत्याभुति भएपछि मात्रै सामान ढुवानी गर्नु गराउनु भनेर पत्राचार गरेको छ । 

प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाण्डौले गएको मंसिर १६ गते पठाएको चलानी नम्बर १०७८ रहेको पत्रमा खुम्बु क्षेत्रमा हेलिकप्टरमार्फत सामान ढुवानी गर्ने भए स्थानीय प्रशासनसँग अनिवार्य समन्वय गर्नु पर्ने उल्लेख छ ।  

तर त्यसलाई अटेर गर्दै विमान कम्पनीहरु कैलाश एअर र सिम्रिक एअरले भने मनमानी उडान भर्दै आइरहेका छन् ।  

जिल्ला प्रशासन कार्यलय बेखबर

प्राधिकरणको चेतावनीका बाबजुद पनि सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुबाट निर्वाध रुपमा हेलिकोप्टरमार्फत अहिले सामान ढुवानी भइरहेको छ । यहाँबाट निर्माण सामग्रीसहित खाद्यन्न, लत्तकपडा लगायतका सामाग्री जिल्लाको माथिल्लो भेग खुम्बु क्षेत्रमा ढुवानी भइरहेको हो ।

दिनहुँ जसो यस्ता सामग्री हेलिकप्टरमार्फत ढुवानी भइरहे पनि यो बारेमा भने जिल्ला प्रशासन कार्यालयलाई कुनै जानकारी नै छैन । यस विषयमा आफूलाई कुनै जानकारी नभएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनुभयो ।

सुरक्षा जाँच नगरी मनमानी उडान भर्दा प्रतिबन्धित सामग्रीहरु ओसारपसार हुन सक्ने सम्भावना बढी हुने प्रमुख जिल्ला अधिकारी खनालको भनाइ छ । प्रशासनलाई समेत बेवास्ता गर्दै गरिएको उडान गैरकानुनी भएको उहाँको भनाइ छ । नियम कानुनलाई बेवास्ता गर्दै कानुन हातमा लिएर गरिएको उडानमा शंका उत्पन्न हुने नागरिकहरु समेत बताउँछन् ।  

प्रसाशनको समन्वयमा नै उडान भरेको कम्पनीको दाबी 

तर उडान कम्पनीले भने आफूहरुले स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ । कैलाश एअरका जनरल म्यानेजर प्रतापजंग पाण्डेले आफूहरुले आफूखुशी उडान भरेको नभई प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताउनुभयो । 

तल्लो भेगबाट जिल्लाको माथिल्लो भेगमा सामान पुर्‍याउन हेलिकप्टर नै सहज साधन रहेकाले स्थानीय प्रशासनकै सहयोगमा आफूहरुले उडान गरिरहेको उहाँको भनाइ छ । 

प्राधिकरणले स्थानीय प्रशासनको समन्वयमा मात्रै उडान गर्न र सुरक्षित उडान भर्न भनेकाले आफूहरुले त्यसैलाई आधार मानेर नियम संगत नै उडान गरेको उहाँले दाबी गर्नुभयो ।  

तत्काल छलफल गरी पत्र काट्छु : उड्डयन प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने यसबारेमा बोल्न चाहनु भएन । पोखरेलले यस बारेमा आफूलाई फाप्लु विमानस्थलका प्रमुख जानकार रहेकाले उनैसँग आवश्यक जानकारी लिन आग्रह गर्नुभयो ।  

तर नागरिक उड्डयन कार्यलय फाप्लुका प्रमुख प्रकाश शर्माले भने हेलिकप्टर सञ्चालकहरुले सामान ढुवानी गर्ने बारे आफुसँग कुनै समन्वय नगरेको दाबी गर्नुभयो । एअरलाइन्स कम्पनीले माथिको निर्णय भन्दै आफूखुशी उडान भर्ने गरेको उहाँको भनाई छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका  सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा मनमानी रुपमा हेलिकप्टर ढुवानीमा प्रयोग भएको बारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले यसबारेमा केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने बताउनुभयो । 

प्राधिकरणको आदेश अनुसार स्थानीय प्रशासनसँग समन्वय नगरी ढुवानी गर्नु उड्डयन कम्पनीको लापरबाही भएकाले त्यस्तो पाइए तत्काल पत्र काटेर कारबाही अगाडि बढाइने बताउनुभयो । 

सोलुखुम्बुको विभिन्न क्षेत्रलाई आधार बनाएर हेलिकप्टरले यात्रु तथा सामान ओसारपसार गरिरहेको भए पनि सुरक्षा सतर्कतालाई बेवास्ता गर्ने गरिएको नागरिक उड्डयन प्राधिकरणकै कर्मचारीहरू बताउँछन् ।

सुरक्षा जाँचबिना मान्छे तथा सामान ओसारपसारमात्र नभई प्राविधिक रुपमा खराब हेलिकप्टरहरुलेसमेत उडान भरिरहेको सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारीहरु बताउँछन् ।  

सुरक्षा जाँचबिना जथाभाबी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेरमात्रै उडान गर्ने निर्णय गरेको भए पनि त्यो लागू हुन सकेको छैन । 

यस्तै हेलिकप्टरमा प्रयोग हुने इन्धन खुला ठाउँमा राख्न नपाइने भए पनि टाक्सिन्दुमा भने खुला ठाउँमा नै राख्ने गरिएको छ । यसरी खुला ठाउँमा हवाई इन्धन राख्दा दुर्घटनाको जोखिम पनि उच्च हुन्छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Tshering Sherpa

    Dec. 21, 2019, 10:42 a.m.

    खाद्द्यान्न र यातायातमा मुस्किल भएको ठाउँमा बल्ल बल्ल हेलिकप्टरले गर्दा त्यहाँको वासिन्दालाई अलिकति भएपनि सजिलो भएको बेला फेरि कुन तत्वले यसमा विरोध गर्दै छ / खुम्बुभन्दा तल बस्नेलाई यातायात र खाद्यान्न गाडीवाट सहज हुन्छ भन्दैमा त्यहाँको मान्छेले आफ्नो फाइदाको लागि खुम्वुको एउटा मात्र साधन हेलिकप्टर यातायातको विरोध गर्ने ????

  •  0 Reply

तपाईको प्रतिक्रिया