राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

 पुस २०, २०७६ आइतबार ९:४५:३८ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभाले आउँदो फागुनमा कुल सदस्य सङ्ख्याको एक तिहाई नयाँ अनुहार पाउँदैछ । दुई वर्षे कार्यकाल सकेर एक तिहाई सदस्य बाहिरिँदै गर्दा बाँकी कार्यकालका लागि नयाँ १८ जनाले राष्ट्रिय सभामा प्रवेशको मौका पाउँदैछन् ।  

राष्ट्रिय सभा चुनाव आउँदो माघ ९ गतेका लागि तोकिएको छ । आइतबार उम्मेदवारी दर्ता हुँदैछ। राष्ट्रिय सभा चुनावका लागि ११ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

दल दर्ता गराउनेमा सत्तारुढ नेकपासहित प्रमुख प्रतिपक्षी काङ्ग्रेस, समाजवादी पार्टी, राजपा, नेपाली जनता दल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल सङ्घीय समाजवादी पार्टी, राप्रपा र राप्रपा (संयुक्त) छन् ।

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

राष्ट्रिय सभामा सातवटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरि कुल १८ जना चुनावमार्फत छानिने छन् ।  

नेकपा र राजपाका उम्मेदवारको जित निश्चित

प्रदेश २ बाहेक अरु प्रदेशमा नेकपा एक्लैको स्पष्ट बहुमत छ । प्रदेश २ मा भने आफ्नो स्पष्ट बहुमत नहुँदा राजपासँग तालमेल गरेर चुनावमा जाने सहमति दुवै दलले गरिसकेका छन् । त्यसैले नेकपाले छानेका उम्मेदवारहरुको जित निश्चित जस्तै छ । अब चुनावमार्फत औपचारिकता दिने काम मात्रै हुने छ । 

राष्ट्रिय सभामा अहिले काङ्ग्रेसका १३ जनाको सहभागिता छ । जसमध्ये पहिलो पटक एक तिहाई सदस्य (१९ जना) को पदावधि सकिँदा काङ्ग्रेसका सात जना बिदा हुँदैछन् । सात जनालाई बिदा गर्दा काङ्ग्रेसले एक सिटमा पनि जित हात पार्न सक्ने अवस्था छैन । यस्तै समाजवादी पार्टीका दुई जनामध्ये एक जना बिदा हुँदैछन् । 

मंसिर ९ गते हुने चुनावबाट काङ्ग्रेस र समाजवादीका सदस्य बिदा हुँदा नेकपालाई फाइदा हुने देखिन्छ । नेकपाका आठ जना दुई वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा त्यसमा आठ जना थपिएर १६ जना प्रवेश गर्दै छन् । राजपाले भने आफ्नो गुम्न लागेको दुई वटा सिट नेकपासँगको तालमेलबाट पक्का गरेको छ । 

राष्ट्रिय सभाका १८ सिटमा हुने चुनावमा काङ्ग्रेसले एक सिट पनि जित्ने अवस्था छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट पाएको काङ्ग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा सात जना काङ्ग्रेसका सांसद दुई वर्षे कार्यकालमा परेका थिए ।

मंसिर ९ गते हुने राष्ट्रिय सभा चुनाव एकल सङ्क्रमणीय प्रणालीबाट हुनेछ । यसअघि पनि यही प्रणालीबाटै चुनाव भएको थियो । तर अहिले भने एउटा क्लस्टरमा एक जना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेश सभा र पालिकामा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ । प्रदेश सभा र पालिकामा अहिले नेकपाको स्पष्ट बहुमत छ । यो चुनावबाट काङ्ग्रेस अब राष्ट्रिय सभामा ६ सिटमा खुम्चिने पक्का छ ।  

कुन दलबाट को–को बाहिरिँदै ? 

पहिलो दुई वर्षको कार्यकाल पूरा गरेर बाहिरिनेमा सत्तारुढ नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ । 

यस्तै काङ्ग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल पनि सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि दुई वर्षको कार्यकाल सकेर बिदा हुँदैछन् ।  

राष्ट्रिय सभा सदस्यको पहिलो पटक एक तिहाई सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्ष पदावधि हुने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिबाट मनोनित हुनुभएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पनि यही अवधिमा सकिँदै छ । तर खतिवडालाई फेरि पनि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने सम्भावना रहेको नेकपा स्रोतले जनाएको छ । 

कसरी चुनिन्छन् राष्ट्रिय सभा सदस्य ?

राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका मेयर/उपमेयर, प्रदेश सभाका सदस्य हुन् । यो चुनावमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।  

राष्ट्रिय सभाको आगामी चुनावबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुनेछन् ।

यो चुनावमा पनि अन्य चुनावमा जस्तै दल दर्तादेखि प्रक्रिया सुरु गरि सदस्यहरुको पदावधि सकिनभन्दा ३५ दिनअघि नै नतिजा बुझाउनु पर्ने व्यवस्था ऐनले गरेको छ । त्यहीअनुसार आउँदो माघ ९ गते चुनाव गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भयो । 

राष्ट्रिय सभा सदस्यका लागि हुने यो चुनावमा निर्वाचन मण्डलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले सङ्घीय कानुन बमोजिम मतदान गर्न पाउने छन् । निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरुको मतको भार भने फरक–फरक हुने छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया