अस्ट्रेलियामा भ्रमण वर्षकाे 'भव्य शुभारम्भ', केही मिडियाले गलत प्रचार गरे : मन्त्री भट्टराई

 पुस २२, २०७६ मंगलबार १३:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा 'नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा' गरिएको बताउनु भएको छ ।

फेसबुकमार्फत उहाँले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ वेल्सका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भएको हो ।

उहाँले मौन जुलुसमार्फत पर्यटन वर्षकाे प्रवर्द्धन पनि गरिएको बताउनु भयो । तर समाचार संस्था साउथ एसिया डट कम ले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियामा आज हुने तय भएको कार्यक्रम रोकिएको जनाएको छ ।

भट्टराईसमेत सहभागी भएर आज गर्न लागिएको प्रचार कार्यक्रम अनुमति नलिइ गर्न लागिएको भन्दै त्यहाँको सरकारी निकायले रोकेको खबरमा उल्लेख छ । प्रवर्द्धनात्मक तथा व्यावसायिक लाभका लागि कार्यक्रम गर्न लागिएको भन्दै र्‍याली निकाल्न रोक लगाइएको न्यु साउथ वेल्स प्रहरीले बताएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भ्रमण वर्षको प्रचारको लागि मन्त्री भट्टराई त्यहाँ पुगिसकेकाले सिड्नीमा हुने तय भएको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको बताउनु भयो ।

डढेलोका कारण अष्ट्रेलिया संकटमा परिरहेको बेला नेपाल भ्रमण वर्षको प्रचारका लागि मन्त्री भट्टराई सिड्नी पुगेपछि उहाँको आलोचनासमेत भएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Moti Rai

    Jan. 7, 2020, 5:24 p.m.

    आफुलाई मन नपर्ने मान्छेको छाया पनि मन पर्दैन भन्थे तर आफ्नै आमाले गरेको कामलाई पनि झ्याली पिटेर नकारात्मक प्रचार गरेको देख्दा पो उदेख लाग्छ।हेक्का होस् कि सरकार व्यक्ति होइन राष्ट्र हो ,सरकार असफल हुनु भनेको सम्पूर्ण नेपाली असफल हुनु हो तेसैले नेपाल भ्रमण बर्ष भ्रम छरेर होइन भ्रमण गराएर सफल पारौ !!#गुबुद्दिबाहकहरुमा समर्पित#

  •  0 Reply

तपाईको प्रतिक्रिया