ए डिभिजन लिग : एनआरटीकाे तेस्राे जित, पुलिस १-० ले पराजित

 पुस २८, २०७६ सोमबार १५:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले तेस्राे जित निकालेकाे छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै न्युराेड टिम लिगकाे छैटाैं स्थानमा उक्लिएकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जिताउन दर्शन गुरुङकाे एकमात्र गाेल निर्णायक बन्याे । खेलको ३७ औं मिनेटमा पुलिसका सुमन लामाले डिबक्स भित्रबाट प्रहार गरेकाे बल एनआरटीका गोलरक्षक अजित प्रजापतिले बचाए ।

४८ औं मिनेटमा पुलिसका मानबहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए । यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट गरेकाे लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्नबाट चुक्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएकाे खेलकाे ७६ औं मिनेटमा दर्शनले गाेल गर्दै टिमलाइ अग्रता दिलाए । उनले डिबक्स भित्रबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे ।

७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे ।

जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ । पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया