माघेसंक्रान्तिका लागि दश कराेडकाे तरुल काराेबार : व्यवसायी

 पुस २९, २०७६ मंगलबार १६:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा माघे सक्रान्तिको आसपासमा बर्सेनि झण्डै १० करोड रुपैयाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् ।

माघे संक्रान्तिमा धेरै खपत हुने भएकाले यो चाडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले जानकारी दिनुभयो ।

नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । यो पुस महिनामा कालिमाटीमा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।

माघे सक्रान्तिका लागि कालीमाटी बजारमा झण्डै १५ सय टन तरुल भित्रिएको छ । पोहोरको माघे सक्रान्तिका लागि भनेर ७ देखि ८ सय टन तरुल मात्रै भित्रिएको थियो । पोहोरको तुलनामा तरुलको भाउ यसपटक किलोमा १५, २० रुपैयाँ बढी भए पनि कारोबार भने बढेको व्यवसायीले बताएका छन् ।

काठमाण्डौमा तरुलको कारोबार बढे पनि पिँडालु र सखरखण्डको कारोबार भने खासै घटबढ भएको छैन ।

पुस महिनाभरमा कालीमाटीमा १ सय ७२ टन पिँडालु र २ सय ४२ टन सखरखण्ड भित्रिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समतिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया