सिंहदरबारमा रहेकाे संसद भवन भत्काएर अत्याधुनिक भवन बनाउन विकास समितिकाे निर्देशन

 पुस २९, २०७६ मंगलबार १७:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंंहदरबारमा रहेकाे संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ । 

शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जीर्ण बनेको संसद भवन भत्काएर मौलिकतालाई बिग्रन नदिइ नयाँ भवन बनाउँन निर्देशन दिएको हो । 

समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई यस्ताे निर्देशन दिनुभएको हाे । बैठकमा सांसदहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संसद भवन भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । 

सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदासमेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सुझावसमेत दिन नसकेको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले जीर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरु विज्ञबाट आएको बताउनुभयो । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भए पनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताउनुभयो । 

समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया