पासपोर्टले धोका दियो, त्यही धोकाले कौशलराजलाई व्यवसायी बनायो

 माघ १, २०७६ बुधबार १३:१७:३७ | बेदानन्द जाेशी

ललितपुर – प्राय : मासु पसल भनेपछि धेरैको दिमागमा काठको ठूलो मुढा, काउण्टरमाथि राखिएका कुखुरा र खसी बंगुर आदिको मासु, ढोकामै पुग्दा मासुको अलग्गै बास्ना, पसलभित्र वरिपरि भन्किरहेका झिँगा, छातीमा मैलो एप्रोन र हातमा ग्लोब्स नलगाई मासु काटीरहेका पसले, अनि पसलतिर हेर्दै जिब्रो निकालेर र्‍याल चुहाइरहेका केही छाडा कुकुर, यस्तै दृश्य आउँछ ।

तर  भैँसेपाटी मीट कर्नर पुग्दा फरक अनुभव हुन्छ । भैँसेपाटीको मुख्य सडकबाट ४/५ मिनेट हिँडेपछि पुगिन्छ भैँसेपाटी मीट कर्नर । चिटिक्क परेको पसल । धकेलेर भित्र छिर्नेबित्तिकै आफैं बन्द हुने सिसाको ढोका । चिटिक्क पारेको भुई‌ं। सफा गरेर टिलिक्क टल्काएका फ्रिज । मासु काट्ने हतियारहरु प्रयोगलगत्तै धुने सिस्टम । काठको नभएर स्टील र प्लास्टिकको मासु काट्ने मुढा । प्लास्टिकभित्र प्याक गरेर फ्रिजमा राखिएको मासु । मासुको गन्धरहित, खुल्ला र उज्यालो पसल ।

‘विदेशमा काम गरेको अनुभवले यसरी मासुपसल सञ्चालन गर्ने कन्सेप्ट आएको हो’ भैंसेपाटी कर्नर मिट सेन्टरका सञ्चालक कौशलराज रेग्मी मुस्कुराउँदै भन्नुहुन्छ, ‘कुनै पनि काम मन लगाएर गर्ने हो भने आफैं आकर्षक देखिंदो रहेछ नि ।’

विदेशले सिकाएको तरिका

कौशलराजले कुनै नयाँ काम गर्नुभएको होइन । उहाँले गरेको काम, सबैले गर्दै आएको मासु पसल नै हो । तर त्यही पसललाई उहाँले नयाँ र व्यवस्थित तरिकाले गर्नुभएको छ । उहाँकै भाषामा भन्दा मनैदेखि गर्नुभएको छ । त्यही भएर त एकपटक उहाँको पसलभित्र छिर्नेहरुले भन्छन्, वाउ !

कुनै कामलाई कसरी आकर्षक बनाउने भन्ने कुरा उहाँले विदेशमा काम गर्दा सिक्नुभयो । ‘विदेशमा काम गरेको कन्सेप्टले नेपालमा काम गर्न सजिलो भयो’, उहाँले आफ्नो काम गर्ने तरिकाको राज खोल्नुभयो । 

१८ वर्ष पहिले २०५८ सालमा मलेसिया पुग्नुभएका कौशल पाँच वर्ष त्यहाँ बसेर फर्किनुभयो र फेरि यूएई लाग्नुभयो । देशमा बढ्दै गरेको आन्दोलन र रोजगारीका अवसर नभएपछि उहाँ विदेशिनुभएको थियो । 

२०५८ साल १० वर्षे जनयुद्धको उत्कर्षको समय थियो । सर्वसाधारणले ढुक्कसँग सास फेर्न पाएका थिएनन् । यस्तै भयो  कौशलराजलाई पनि  ।

‘केही गर्न थाले कहिले माओवादीले त कहिले नेपाली सेनाले शंका गर्थे, सोधपुछ गर्न घरमा पुगिहाल्थे’, उहाँ आफ्नो विगतमा फर्किनुहुन्छ, ‘१० कक्षा पास गरेको थिएँ, १९र२० वर्षको उमेर, सहरमा पढाउन सक्ने घरको आर्थिक अवस्था थिएन, पढाइभन्दा पैसा ठूलो लाग्यो अनि धन कमाउन मलेसिया लागेँ ।’ 

२०५८ सालमा कम्पनी कामदारको रुपमा मलेसिया जानुभएका कौशल त्यहाँ पाँच वर्ष बस्नुभयो । पाँच वर्ष मलेसिया बसेपछि आफ्नो विदेश बसाई सधैंलाई टुङ्ग्याएर २०६३ सालमा नेपाल फर्किनुभयो । कमाइ धेरै नभएपछि उहाँलाई मलेसियामा काम गरिरहन मन लागेन । 

६ महिनाको नेपाल बसाईपछि उहाँलाई भिजिट भिसामा यूएई जाने मौका मिल्यो । यूएईमा काम गरिरहेका गाउँका एकजना दाइले पठाएको भिजिट भिसामा उहाँ २०६३ सालमा नै यूएई पुग्नुभयो । त्यहाँ गएर उहाँले सुरुमै पाँच तारे होटलमा काम पाउनुभयो । 

ईमार ग्रुप, मिलिनियम होटल, पाल कन्टिनेन्टलजस्ता तारे होटलमा जान पाए पनि हुन्थ्यो भन्ने धेरैको सपना नै हुन्छ  । कौशलराजलाई भने तिनै होटलहरुलाई कर्मस्थल बनाउने अवसर मिल्यो । उहाँले त्यहाँ रुम ब्वाईदेखि वेटर हुँदै रिसेप्सनको पनि काम गर्नुभयो । 

त्यहीभएर त कौशलराज यसलाई भाग्यले दिएको अवसर ठान्नुहुन्छ । अहिले पनि उहाँलाई यो सम्झेर गर्व लाग्छ । ‘सामान्य पढेलेखेको र होटल क्षेत्रमा अनुभव नै नभएको मान्छेले पाँचतारे होटलमा काम पाउनु भाग्य नै होइन र ?’ उहाँ आफैंसित प्रश्न गर्नुहुन्छ ।

तारे होटेलमा काम गर्दै गर्दा त्यहाँको वातावरणले कौशलराजलाई कुशल बनायो । सरसफाई भनेको के हो ? व्यवसायमा सरसफाईले कस्तो महत्व राख्छ । कुन चिजलाई कसरी प्याकिङ गर्ने र कसरी प्रयोग गर्ने यी स–साना कुराहरु सबै होटलमा काम गर्ने क्रममा नै सिक्नुभयो ।

‘खानाको स्वादभन्दा पनि पहिलो प्राथमिकता कतिको स्वस्थ छ भन्नेमा हुन्थ्यो, मेरो दिमागमा त्यही कुरा गड्यो’, उहाँ आफ्नो पसलतिर हेर्दै भन्नुहुन्छ ।

‘पासपोर्टले धोका दियो अनि व्यवसाय खोलेँ’

सधैँ धोकाले दुःख मात्र दिंदैन । समस्या मात्रै थप्दैन । कहिलेकाहीँ धोका पनि फलदायी भइदिन्छ । त्यस्तै भयो कौशलराज रेग्मीको जीवनमा पनि । २०६८ सालको दशैं मनाउन उहाँ बिदामा नेपाल आउनुभएको थियो । दुई महिनाको बसाइ सकाएर यूएई फर्किउँ भन्दा उहाँले पासपोर्ट भेट्टाउनुभएन ।

‘पुनः श्रम स्वीकृति लिनको लागि एकजना चिनेको म्यानपावरमा पासपोर्ट बुझाएको थिएँ, तर मिसप्लेस्ड भएछ, जानेबेला जति प्रयास गरे पनि भेटाइएन’ उहाँले चिउँडो मुसार्दै भन्नुभयो, ‘टिकट पहिले नै काटिसकेको थियो, पासपोर्ट नभएपछि मेरो फ्लाइट छुट्यो, अनि म यूएई जान पाइनँ ।’

त्यसको केही दिनसम्म उहाँलाई यो कुराले पछुतो लागिरह्यो । तर उहाँको मनमा यो सकसक धेरै दिनसम्म भने टिकेन । तुरुन्तै दिमागमा नयाँ सोच आइहाल्यो, ‘यूएईको फ्लाइट छुटे के भो त, अब देशमै बसेर केही गर्नुपर्छ ।’

उहाँ आफूले निर्णय त लिनुभयो । तर परिवारले स्वीकारेको थिएन । गाउँघर ईष्टमित्रहरुले कौशलराजले यूएई नगएर ठिक गरेन भन्न थाले । त्यहाँको आकर्षक जागिर छाडेर अब नेपालमा के गर्छस् भनेर सबैले सुनाउन थाले । तर उहाँले मन हार्नुभएन । 

‘नेपालमै बसेपछि केही न केही त कसो नगरिएला भनेर म आफ्नो निर्णयमा अडिग रहेँ’ उहाँले भन्नुभयो, ‘कसले के भन्यो, मैले वास्ता गरिनँ ।’

त्यसपछि सुरु भयो उहाँको मासु पसल खोल्ने यात्रा ।

व्यवसाय सुरु गर्दाका कठिनाई 

यूएईको फ्लाइट छुटेपछि कौशलराज काठमाण्डौमा हुनुहुन्थ्यो । अब के गर्ने भन्ने कुरा दिमागमा मन्थन भइहरेको थियो । त्यहीबेला उहाँको भेट केही व्यवसाय गरौँ भनेर योजना बनाइरहेका युवाहरुको एक समूहसँग भयो ।

एउटै टोलमा बस्दा एकअर्कासँग चिनजानको क्रममा भएको भेट पार्टनरसिपमा बदलियो ।  उहाँहरु ८ जना हुनुहुन्थ्यो । सबैले मिलेर मासु व्यवसाय गर्ने योजना बनाउनुभयो । त्यसको लागि ८ करोड लगानी लाग्ने भयो ।

उहाँहरुको योजनामा थानकोटमा सटरिङ हाउस (खसी,बंगुर,राँगा काट्ने ठाउँ) खोल्ने र त्यहाँबाट उत्पादन भएको मासु आफ्ना विभिन्न बिक्री केन्द्रमा सप्लाई गर्ने योजना थियो । 

तर स्थानीयको विरोधका कारण उहाँहरुले सोचेजस्तो सटरिङ हाउस खोल्न सक्नुभएन । स्थानीयले ठूलो लगानीको योजना भएकाले आफूहरुले पनि त्यसमा शेयर हाल्न पाउनुपर्ने लगायतका विभिन्न मागहरु राखे । स्थानीयहरुसँग सम्झौता हुन नसक्दा सटरिङ हाउस खोल्ने योजना त्यत्तिकै सेलायो । 

त्यसपछि उनैमध्ये केही साथीहरु मिलेर थानकोटमा सानो स्तरको सटरिङ हाउस र थानकोट कलंकी, जावलाखेलमा मासु पसल खोल्नुभयो । केही वर्ष पार्टनरसिपमै काम गर्नुभयो । बिस्तारै समूहका साथीहरु कोही कतै कोही कतै लागे । एउटै व्यवसायमा कोही पनि अडिएनन् । 

‘सबै साथीहरु यतैको स्थानीय, पैसावाला हुनुहुन्थ्यो, कोही कतै–कोही कतै लाग्न थाल्नुभयो’, उहाँले भन्नुभयो । तर कौशलराजलाई भने यसै पेशामा स्थापित हुन मन लाग्यो ।

उहाँले मासु पसल छोड्नुभएन र व्यवसायलाई क्षणिक रुपमा पनि हेर्नुभएन । त्यही भएर उहाँले पार्टनरसिपमा भन्दा एक्लै व्यवसाय गर्ने सोच्नुभयो । पछिसम्मको दीर्घकालिन सोच बनाएर व्यापारमा लागि पर्नुभयो । 

अहिले उहाँले १० वर्षको लागि जग्गा भाडामा लिएर त्यसैमाथि आफ्नो पसल खोल्नुभएको छ । नाम भैंसेपाटी कर्नर मिट स्टोर राख्नुभएको छ । दुई वर्ष हुन थाल्यो आफ्नो अलग्गै मासुपसल खोल्नुभएको । सबै गरेर ५० लाख लगानी लागेको उहाँ बताउनुहुन्छ । चार जनालाई रोजगारी पनि दिनुभएको छ । 

अहिले उहाँले चार जनालाई तलब दिएर पनि मासिक ४०/५० हजार रुपैयाँ कमाउनुहुन्छ ।  सन्तुष्टि पैसाले मात्र दिदैन । पैसाले सधैँ सबै प्रकारको खुसी दिन सक्दैन । कहिलेकाहीँ पैसाले भन्दा पनि धेरै सन्तुष्टि अन्य कुराबाट मिल्छ । कौशलराजलाई आफूसहित अरु चार जनालाई रोजगारी दिन पाउँदा असाध्यै खुशी लाग्छ । 

हुन त यूएईमा त्यतिबेला उहाँको महिनाको तलब एकलाख नेपाली रुपैयाँ थियो । अहिलेसम्म काम गरिरहेको भए दुई/तीनलाख त पुगिसक्थ्यो होला । तर आफू विदेशमै काम गरिरहेको भए धेरै पैसा कमाउन सके पनि अहिलेको जस्तो सन्तुष्टि भने मिल्ने थिएन जस्तो लाग्छ उहाँलाई ।

‘कमसेकम मेरो कारणले चार जनाले काम त पाए नि’, उहाँ गर्व गर्दै भन्नुहुन्छ, ‘कमाइ भन्दा पनि बढी सन्तुष्टि त कसैलाई रोजगारी दिन पाएकोमा हुँदो रहेछ ।’

सरसफाइ र गुणस्तरमा विशेष ध्यान

‘५० हजार लगानी लगाएर पनि मासु पसल खोल्न सक्थेँ र कमाइ पनि राम्रै हुन्थ्यो होला, तर मैले क्षणिक रुपमा हेरिनँ’ कौशलराज भन्नुहुन्छ, ‘व्यवसायलाई दीर्घकालिन बनाउने भनेको आफूले दिने गुणस्तरीय सेवाले नै हो, त्यसैमा मेरो ध्यान छ ।’

उहाँले भुत्ल्याएका कुखुरा र मासुलाई प्लास्टिकमा पोको पारेर फ्रिजभित्र राख्ने गर्नुहुुन्छ । फ्रिजभित्र खुल्ला राख्दा प्रत्यक्ष फ्रिजको चिसोले मासु बिगार्ने, मासु कक्रक्क पर्ने भएकाले प्लास्टिकभित्र बन्द गरेर फ्रिजभित्र राख्यो भने बिग्रिन नपाउने उहाँ बताउनुहुन्छ ।

फ्रिज, कटिङ टुल्स लगायतका अत्याधुनिक उपकरणहरु प्रयोग गर्नुहुन्छ । मासु कटिङ गरेलगत्तै चक्कु तथा मासु काट्ने चपिङ् बोर्ड सफा पानीले धोइहाल्नुहुन्छ । जसले गर्दा कुनै पनि प्रकारको मासुको गन्ध बस्न पाउँदैन ।  

पसलमै कुखुरा भुत्ल्याउने, खसी काट्ने काम गर्दा दुर्गन्ध हुन्छ भनेर यो सबै डिलरबाट नै गरेर ल्याउनुहुन्छ । सरसफाइमा विशेष ध्यान दिनुभएको छ । सिसाका ढोकाले गर्दा सडकको धुलो धुवाँ पसलभित्र छिर्न पाउँदैन । समग्रमा भन्नुपर्दा पसललाई सफा(हाइजिन) राख्न कुनै कसर बाँकी छोड्नुभएको छैन ।

सरसफाइ र गुणस्तरीय सेवाबारे धेरै ज्ञान उहाँले यूएईमा काम गर्ने क्रममै सिक्नुभयो । मासुपसल सञ्चालन सम्बन्धी नेपालमा तालिम नै लिएपछि उहाँलाई काम गर्न सजिलो मात्र भएन काममा रमाउन पनि थाल्नुभयो । यिनै कारणले गर्दा उहाँको पसलमा टाढाटाढाबाट पनि ग्राहकहरु आउने गरेका छन् । 

‘कीर्तिपुर, लगनखेलदेखि ग्राहकहरु आउनुहुन्छ, पसलको तारिफ गर्नुहुन्छ’, कौशलराज खुसीका साथ भन्नुहुन्छ, ‘यसरी टाढा टाढाबाट पनि यो पसल खोज्दै ग्राहकहरु आउँदा निकै खुसी लाग्छ, व्यवसाय ठिकै गरिरहेछु भन्ने लाग्छ ।’

उहाँले समुन्द्री, जीव अक्टोपसदेखि, साल्मोण्ड माछा, अष्ट्रिच पनि राख्नुभएको छ । झण्डै २५ प्रकारका मासु बेच्नुहुन्छ उहाँ  । ग्राहकका सबै मागलाई पूरा गर्न नसके पनि सकेजति माग पूरा गर्न हरदम प्रयास गर्नुहुन्छ । यसैलाई उहाँ व्यवसायको मूल तत्व ठान्नुहुन्छ ।

अन्तिम अपडेट: माघ २१, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • shalik ram gautam

    Jan. 15, 2020, 1:38 p.m.

    Good work. Salam Khusal dai lai. Ramro gardai janu

  •  0 Reply

तपाईको प्रतिक्रिया