जनयुद्धमा मारिएका १७ हजार हैन, पाँच हजारको जिम्मा लिन्छु :  नेकपा अध्यक्ष प्रचण्ड

 माघ १, २०७६ बुधबार १९:४४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धको क्रममा मारिएकामध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताउनुभएको छ ।

माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । 

धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भनेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ती राजाहरुले मारेको बताउनुभयो ।

‘म तथ्याङ्क मात्रै सच्याउन चाहन्छु । मलाई अहिले पनि १७ हजार मारेर आएको भनेर भन्ने गरिन्छ ।  यो सत्य होइन । सत्य के हो भने हिजोका सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाइ ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’, उहाँले भन्नुभयो, ‘तर राजाहरुले मारेको १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिनुभएको छ । सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्धा खारेज गर्नुपर्छ भनेर पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् । रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समयभित्रै यसको परिणाम निस्किन्छ  ।’

उहाँले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्रीसमेत जेलमा रहेको बताउनुभएको छ । दाहालले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताउनुभयो । 

अध्यक्ष दाहालले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफू भएको पनि बताउनुभएको छ । दाहालले चौधरीलाई सांसदको शपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफूले कुरा राखेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया