ढिंडो फेरियो, ढिंडेहरु पनि फेरिए !

 माघ ४, २०७६ शनिबार ८:१७:९ | मिलन तिमिल्सिना
unn.prixa.net

छेउमा रगरग पिरो अकबरे खुर्सानी । अघिल्तिर कचौरामा तेलैतेलमा डुबेको कुखुराको मासु । साथमा कागती र चटनी । 

ओडाल्दा ओडाल्दै, मस्काउँदा मस्काउँदै तातो वाफसहित ढिंडो चरेसको थालमा सजियो । वरपर थालमा फररर फिंजिएका चामलको भातलाई हेरेर आँखा सन्कायो । स्टिलको थालमा पन्यालो दालसँग खिस्रिक्क परेको चामलको भातले घोसेमुन्टो लगायो । सानसँग आँखा सन्काएको ढिंडो खोसाखोस भयो । खिस्रिक्क परेको चामलको भात थालमै सेलायो । 

यो आजको कुरा । हिजो अवस्था ठ्याक्कै उल्टो थियो । घरमा चामलको गेडो नभएपछि ढिंडो खानुपर्ने बाध्यता थियो । अहिलेजस्तो मासु र चटनीले ढिंडो सजिन कहाँ पाउँथ्यो र ! कहिले गुन्द्रुकको झोलमा, कहिले मोहीमा त कहिले हरियो खुर्सानीमै चित्त बुझाउँथ्यो ढिंडोलो । बिहान, बेलुका, हिजो, आज कति मात्र ढिंडो खानु ?

कसौंडी र ताप्केबाट थालसम्म र थालबाट मुखसम्म पुगेपछि रहलपहल ढिंडोलाई रछ्यानसम्म निस्कन पनि साह्रो थियो । ढिंडो खानेले शानसँग ढिंडो खाएको देखाउन र भन्न सक्दैनथियो । 

जसरी अहिलेका नेताहरुका विगत टीठलाग्दो थियो, ढिंडोको हालत पनि ठ्याक्कै दुरुस्तै थियो ।

पहिले भूमिगत जस्तै अवस्थामा रहेर सबैको हेलाँहोचो सहँदै आएको ढिंडो अहिले एकाएक मात्तिएको छ । कसैले कसैलाई गाली गर्दा ‘तँलाई ढिंडाको काल’ ‘तँलाई ढिँडे’ भन्ने चलन कायमै रहे पनि ढिंडोको हैसियत र अस्तित्व भने त्योभन्दा नाघेर कसैले छुनै नसक्ने ठाउँमा पुगेको छ । पहिले ढिंडै खाएर अहिले मार्सी चाख्दै हिँडेका नेताहरुलाई वास्ता गर्नतिर नलागौं । बरु ढिंडोको विगत र वर्तमानको चर्चा गरौं ।

जसरी अहिलेका नेताहरुका विगत टीठलाग्दो थियो, ढिंडोको हालत पनि ठ्याक्कै दुरुस्तै थियो । ढिंडो खानेहरुले भन्दा ढिंडोले चाहिँ धेरै गोता खाएको थियो ।

उबेला खेतबारीमा धानभन्दा धेरै मकै, कोदो, गहुँ र फापर फल्थे । जसकोमा जे फल्यो, त्यही खानुपर्ने बाध्यता थियो । मकै, कोदो, गहुँ र फापर त पखेरामा पनि फल्ने । धान फलाउन त खेत नै चाहिने, पानी नै चाहिने । धान नै फलाउन नपाएपछि चामल पकाउने कुरा पनि भएन ।

भान्सामा दुईथरी भात पाक्थ्यो । ठूलो कँसौंडीमा ढिंडो । एक माना चामल पनि मुश्किलले पाक्ने सानो कसौंडीमा चामलको भात । ढिंडोलाई ढिंडो मात्रै भनिन्थ्यो, भात भनिंदैन थियो । भात भनेपछि चामलको मात्रै बुझिन्थ्यो ।

घरकै बुढीआमैले सकीनसकी ढिंडो ओढाल्थिन् । थालभरी त्यही ढिंडो पस्किन्थिन् । छेउमा दुई गास जति चामलको भात हुन्थ्यो । ढिंडोभन्दा चामल मीठो । पहिल्यै चामलको भात खायो भने ढिंडो नरुच्ने । मन लागी नलागी पहिले गुन्द्रुक र महीसँग ढिंडो खायो । त्यसपछि उठ्ने बेला दूधसँग चामलको भात मुछ्ने । 

ट्रक ड्राइभरले भात खाने छाप्रे होटल हुँदै अहिले ढिंडो फाइभस्टार होटलमा बिराजमान हुन पुगेको छ ।

जिब्रोले चामलको भातको स्वाद फेर्न नपाउँदै थाल रित्तो हुन्थ्यो । ढिंडोले पेट भरिए पनि चामलको भातले आँत भरिंदैनथियो । घरमा कि पाहुना आएको बेला अलि धेरै चामलको भात खान पाइन्थ्यो कि त अर्काको घरमा पाहुना लाग्न थाँदा अलि आँत भरिन्थ्यो । 

ढिंडोले मान्छे वाक्क थिए । घरमा ढिंडो पकाएको कुरा अरुले चाल पाउँछन् कि भन्ने त्राहीत्राही थियो । ढिंडो पकाएको कसौंडी, ढिंडो पस्किएको थाल र ढिंडो खाएको पेटभित्र मात्रै ढिंडो गुपचुप हुन्थ्यो । भाँडा माझ्ने ठाउँ रछ्यानसम्म पनि ढिंडोको अवशेष भेटिन मुश्किल पर्थ्याे । अझ ढिंडोको भात खाने घर भनेर छोरी दिन पनि डर मान्थे मान्छे ।

यो त विगतको कुरा । ढिंडोले हेला सहँदाको कहानी । तर आज त्यही ढिंडो हेर्दाहेर्दै कहाँबाट कहाँ पुगिसक्यो । त्यही कसैले मन नपराउने ढिंडो खाएर अहिले अरुले आफूलाई मन पराउनुपर्छ भन्ने ठाउँमा पुगेकाहरुलाई समेत उछिनेर त्यहीँ ढिंडो मै हुँ पल्टेको छ ।

ट्रक ड्राइभरले भात खाने छाप्रे होटल हुँदै अहिले ढिंडो फाइभस्टार होटलमा बिराजमान हुन पुगेको छ । पहिले गुन्द्रुक, मोही र पानी हालेको तरकारीसँग मिल्नुपर्दा उकुसमुकुस हुने ढिंडो अहिले खसी र कुखुराको मासुसँग रमाउन थालेको छ । यहाँ ढिंडो पाइन्छ भनेर नलेख्ने होटलमा ग्राहक पस्न छाडेका छन् । ढिंडो नपकाउने होटल सुक्न थालेका छन् ।

हेर्दाहेर्दै ढिंडो फेरियो । ढिंडेहरु पनि फेरिए ।

अन्तिम अपडेट: फागुन १, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया