डेब्यू खेलमै हाल्याण्डकाे ह्याट्रिक, बाेरुसिया डर्टमण्ड ५–३ ले विजयी

 माघ ५, २०७६ आइतबार ७:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले अग्सबर्गलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा डर्टमण्डले अग्सबर्गलाई पाँच–तीन गाेल अन्तरले हरायो ।

जर्मन क्लब डर्टमण्डको लागि एर्लिङ हाल्याण्डले आफ्नाे डेब्यू खेलमा नै ह्याट्रिक गरे । अग्सबर्गको मैदानमा भएको खेलमा फ्लोरियन निदरल्च्नरले गोल गर्दै अग्सबर्गलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै मार्को रिचरले गोल गर्दै अग्सबर्गको अग्रता दुई–शून्यमा लम्ब्याए ।

४९औँ मिनेटमा जुलियन ब्राण्ड्टले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए । तर ५५औँ मिनेटमा निदरल्च्नरले व्यक्तिगत दोस्रो गोल गर्दा अग्सबर्गले तीन–एकको अग्रता लियो । 

५९औँ मिनेटमा हाल्याण्डले गोल गर्दै अग्सबर्गको अग्रता तीन–दुईमा छोट्याए । त्यसको दुई मिनेटपछि जाडोन सान्चोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । खेलकाे ७०औँ र ७९औँ मिनेटमा हाल्याण्डले ह्याट्रिक पूरा गर्दा डर्टमण्डले पाँच–तीन गाेल अन्तरकाे जित निकाल्यो ।

जितसँगै डर्टमण्ड ३३ अङ्क बनाउँदै चौथो स्थानमा उक्लिएको छ । अग्सबर्ग भने २३ अङ्कसहित दशौं स्थानमा छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया