राेनाल्डाेकाे दुई गाेल : युभेन्टसले पर्मालाई हरायाे

 माघ ६, २०७६ सोमबार ७:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इटालियन सिरी एमा युभेन्टसले पर्मालाई दुई–एक गाेल अन्तरले हराएको छ ।

एलिनाज एरेनामा भएको खेलमा घरेलु टिमका लागि दुवै गोल रोनाल्डोले गरेका थिए । ३४ वर्षे रोनाल्डोले खेलको ४३औँ मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८औँ मिनेटमा उनले अर्को गोल गरे ।

पर्माका एन्द्रियस काेर्निलुइसले खेलकाे ५५औँ मिनेटमा गोल गरे । तर त्यसपछि अरु गाेल थप्न नसक्दा पर्मा युभेन्टससँग पराजित बन्न पुग्याे । 

यो जितसँगै युभेन्टसले चार अङ्कको अग्रता लिएको छ । युभेन्टसलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले रेकर्ड पनि बनाएका छन् । पर्माविरुद्धको गोल रोनाल्डोको पछिल्लो सात खेलमा लगातार गाेल थियो । उनी सिरी एको सात खेलमा लगातार गोल गर्ने डेविड ट्रेजेग्वेटपछि पहिलो खेलाडी बने ।

ट्रेजेग्वेटले सन् २००५ मा युभेन्टसका लागि लगातार सात खेलमा गोल गरेका थिए । पर्माविरुद्धको दुई गोलसँगै रोनाल्डोले यो सिजनको सिरी ए गोल सङ्ख्या १६ पुर्‍याएका छन् । रोनाल्डो पछिल्लो १४ सिजनमा शीर्ष पाँच युरोपियन लिगमा १५ वा त्याेभन्दा गोल गर्ने एकमात्र खेलाडी बनेका छन् ।

सन् २००६–०७ को सिजनदेखि युरोपेली लिगमा उदाएका रोनाल्डोले म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसमा गरी चार सय १४ लिग गोल गरिसकेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया