सभामुखपछि उपसभामुखको चर्चा सुरु, राजपासँगै काङ्ग्रेस पनि दाैडमा

 माघ ८, २०७६ बुधबार १२:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अग्नि सापकोटा सभामुख बन्ने निश्चित भएसँगै उपसभामुखको चर्चा सुरु भएको छ ।

अरु दलले सभामुखमा उम्मेदवारी नदिएपछि सापकोटा सभामुख बन्ने पक्का भएको हो । अब १२ गतेको संसद बैठकले सापकोटालाई औपचारिकरुपमा सभामुख घोषणा गर्नेछ ।

सभामुख पदमा नेकपाबाहेक कसैको दाबी नपरे पनि उपसभामुखका लागि भने मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसकाे दाबी रहने बताइएको छ । यस्तै राष्ट्रिय जनता पार्टीले पनि उपसभामुखमा दाबेदारी रहने बताइसकेको छ । 

गएको पुस २ गते सत्तारुढ दल नेकपा र राजपाबीच राष्ट्रिय सभा चुनावका लागि सहकार्य गर्ने सहमति भएसँगै उपसभामुखमा नेकपाले राजपालाई सघाउने सङ्केत देखिएको छ । 

सभामुखको उम्मेदवारी दर्ताका क्रममा सापकोटाको समर्थकमा राजपा नेता लक्ष्मणलाल कर्ण बस्नुले उपसभामुख राजपालाई दिने नेकपा र राजपाबीच भित्री सहमति भएको देखाएको छ ।  

सभामुखको उम्मेदवार बनेका सापकोटाको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा कर्णसहित देव गुरुङ र ओनसरी घर्तीमगर बन्नु भएको थियो । फरक दलबाट राजपा नेपाल सभामुखको समर्थक बनेपछि उपसभामुख उसैले लिने पक्का देखिएको हो । 

तर राजपा नेपालका महासचिव केशव झाले उपसभामुखका लागि नेकपासँग छलफल नभइसकेको बताउनु भयो । ‘पुस २ गते भएको सहमति राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने भन्ने हो । उपसभामुखको बारेमा कुनै छलफल भएको छैन तर यसबारेमा छलफल हुन नसक्ने भन्ने पनि होइन’ उहाँले भन्नुभयो । 

दुवै दलबीच राजनीतिक विषयमा सहमतिका साथ अघि बढ्ने सहमति भएकाले उपसभामुखको विषयमा फरक दलकै हुनु पर्ने भएकाले राजपाले पाउने सम्भावना भने यथावत् रहने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला सभामुख चयन गरौँ, त्यसपछि उपसभामुखको पालो आउँछ । समय आएपछि यसबारेमा छलफल भएर निर्णय होला ।’ 

सभामुखका उम्मेदवारलाई राजपाका नेताले समर्थन गर्नुले दुवै दलबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न सकिने सन्देश दिएको महासचिव झाले बताउनु भयो ।  

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीले अहिले नै उपसभामुख कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गरि नसकेको बताउनु भयो । 

सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक प्रावधान रहेकाले सभामुख नेकपाको तर्फबाट हुने पक्का भएपछि उपसभामुख फरक दलको हुनै पर्छ । 

अब १२ गतेको संसद् बैठकबाट सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको गृहकार्य अघि बढ्ने गुरुङले बताउनु भयो । राजपा नेपालसँग पार्टीले राष्ट्रिय सभाको चुनावमा सहकार्यका लागि सहमति गरिसकेको भन्दै उहाँले आउँदा दिनमा उहाँहरुसँगै सहमति भएर अघि बढ्न सकिने अवस्था यथावत् नै रहेको बताउनु भयो । 

पार्टीे अहिले राष्ट्रिय सभा चुनाव र सभामुख चयनको विषयमा मात्रै केन्द्रित रहेकाले उपसभामुखको प्रक्रिया प्रारम्भ भएपछि त्यही बेला यसबारे आवश्यक निर्णय हुने गुरुङ बताउनु हुन्छ ।  

उपसभामुखमा राजपाको दाबेदारी रहने चर्चासँगै पार्टीभित्र कसलाई उपसभामुखको उम्मेदवार बनाउने भन्ने चर्चा पनि चल्न थालेको छ । सभामुख नेकपाबाट पुरुष हुने पक्का भएपछि फरक दल र फरक लिङ्गको आधारमा उपसभामुख अब महिला हुनु पर्नेछ । राजपाभित्र उपसभामुखको उम्मेदवारको रुपमा चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा छ ।

उपसभामुख राजपाले पाउने निश्चित भए अग्रहरी भन्दा चौधरी नै उपसभामुखमा पार्टीबाट सिफारिस हुने सम्भावना रहेको राजपाका एक नेताले बताए । चौधरी पार्टी नेता महन्थ ठाकुर निकट रहेकाले सम्भावना उनैको देखिएको ती नेताको दाबी छ । तर अध्यक्ष मण्डलले निर्णय गरेर पठाउने भएकाले निर्णयपछि मात्रै त्यसबारे जानकारी हुनेछ । 

काङ्ग्रेस पनि दौडमा

काङ्ग्रेस पनि उससभामुख पदको दौडबाट बाहिर छैन । सभामुखमा उम्मेदवार नदिएको काङ्ग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । उपसभामुख आफूले पाउने रणनीतिअनुरुप नेकपासँग काङ्ग्रेसले छलफल सुरु गरेको छ । 

मङ्गलबार नेकपाका कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गर्नु भएको छ । भेटमा उपसभामुखमा काङ्ग्रेसलाई प्रस्ताव गर्न पौडेलले अध्यक्ष प्रचण्डसँग आग्रह गर्नु भएको बुझिएको छ । 

नेकपाले राजनीतिक संस्कार देखाउन पनि मुख्य विपक्षी दललाई उपसभामुख दिनु पर्ने पौडेलले बताउनु भएको थियो । जवाफमा अध्यक्ष प्रचण्डले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै अघि बढ्न सकिने जवाफ दिनु भएको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उपसभामुखका लागि काङ्ग्रेसले उम्मेदवारी दिने बताउनु भयो । ‘संसदीय दलले यसबारेमा निर्णय गरिसकेको छैन, तर उपसभामुखमा हाम्रो उम्मेदवारी रहन्छ,’ उहाँले भन्नुभयो । उपसभामुखका लागि काङ्ग्रेसले कसलाई अघि बढाउने भन्ने बारे पनि छलफलपछि मात्रै निर्णय हुने उहाँले बताउनु भयो । 

१२ गतेको संसद् बैठकले सभामुख निर्वाचित गर्ने र त्यसपछि सभामुखले सपथ लिएपछि बस्ने संसद् बैठकले उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया