राष्ट्रियसभा चुनाव : प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका चारै जना विजयी

 माघ ९, २०७६ बिहिबार १८:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । 

दुबै दलले २-२ सिट बाँडेर चुनावमा होमिएका थिए । विपक्षी कांग्रेस र समाजवादी पार्टीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा र राजपा गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् । 

प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल, दलित तर्फ राधेश्याम पासवान र अन्यतर्फ मृगेन्द्रकुमार सिंह र अल्पसंख्यकतर्फ शेखरप्रसाद सिंह विजयी हुनुभएको हो । 

विजयी हुनुभएका दाहाल र पासवान नेकपातर्फबाट हुनुहुन्छ भने यादव र सिंह राजपाको तर्फबाट हुनुहुन्छ । महिलातर्फ विजयी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतभारले पराजित गर्नुभएको हो । दाहालले ५२०८ मतभार प्राप्त गर्दा कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गर्नुभयो ।  

यस्तै दलिततर्फ विजयी राधेश्याम पासवानले ५ हजार २ सय ९२ मत ल्याउँदा विपक्षी समाजवादी पार्टीका रामप्रित पासवानले ४ हजार ७ सय ४ मत ल्याउँदै पराजित हुनुभयो ।  

यस्तै अल्पसंख्यकतर्फ विजयी राजपाका शेखकरप्रसाद सिंहले कांग्रेसका भोला पञ्जियारलाई पराजित गर्नुभयो । राजपाका सिंहले ५५०२ मतभार ल्याएर विजयी हुँदा कांग्रेसका भोला पंजियार ४५१२ मतभार ल्याउँदै पराजित हुनुभयाे ।

अन्य तर्फ राजपाका मृगेन्द्रकुमार सिंह विजयी हुँदा समाजवादीका अनिरुद्धकुमार सिंह पराजित हुनुभयो । मृगेन्द्रकुमार सिंह र अनिरुद्धकुमार सिंह नातामा दाजुभाइ हुनुहुन्छ । 

चुनावमा भाइ अनिरुद्धलाई दाइ मृगेन्द्रले ८८८ मतभारले पराजित गर्नुभयाे । मृगेन्द्रले ५४ सय मत ल्याउँदा अनिरुद्धले ४५१२ ल्याएकाे निर्वाचन आयाेगले जनाएकाे छ । 

चुनावमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी प्रतिस्पर्धामा उत्रिएका थिए ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया