वित्तीय संस्थालाई अर्थमन्त्री खतिवडाको आग्रह : जीडीपीमा सघाउन कर्जा गुणस्तरमा ध्यान ‍दिनू

 माघ १०, २०७६ शुक्रबार २०:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई सघाउ पुग्नेगरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ । 

शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औंँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराउनु भएको हो ।

उहाँले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘कर्जा र जीडीपीको अनुपात पनि ८० प्रतिशत नाघ्न थाल्यो यात त कर्जा धेरै छिटो बढिरहेको छ या त जीडीपी अलि सोचेजस्तो वृद्धि भएको छैन ।’ 

उहाँले अहिलेको अवस्थामा कुल गार्हस्थ उत्पादनको गणना विधि परिमार्जन गर्नुपर्ने अवस्थासमेत आएको बताउनुभयो । तर पनि बैंकहरुले कर्जा बढाउँदै गए राष्ट्र बैंकले क्रेडिट सिलिङ लगाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुल गार्हस्थ उत्पादन बढाउने तर्फ बैंकहरु लाग्न पर्‍यो । कर्जाको आयतन बढाएर अब हामीले उत्पादन बढाउन सकेनौँ भने यस्तो दिन आउँछ जुन दिन हामीले पहिला पहिला क्रेडिट सिलिङ लगाउने गथ्र्यौँ ।’

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताउनुभयो । उहाँले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिनुभयो । उहाले बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पुँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया