स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुखको रुपमा आउनुको विकल्प छैन : उपमेयर खड्गी

 माघ १०, २०७६ शुक्रबार २०:५२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महिलाको अपमानको अन्त्य गर्न ५० प्रतिशत महिला अबको निर्वाचनमा प्रमुखको रुपमा आउनुको विकल्प नभएको बताउनुभएको छ । 

शुक्रबार महिला, कानून र विकास मञ्च (एफडब्लूएलडी)ले काठमाण्डौमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपमेयर खड्गीले पालिकाका उपप्रमुखलाई दिइएको अधिकार पर्याप्त नभएको बताउनुभयो । उहाँले महानगरको प्रमुखको अपमानमा बसेर काम गर्न निकै कठिनाइ हुने गरेको समेत बताउनुभयो ।

अहिले धेरै पालिकाहरुमा प्रमुखहरु पुरुष रहेको र प्रमुखहरुले उपप्रमुखहरुलाई अपमान गर्ने गरेको भन्दै उपमेयर खड्गीले राजनीतिक रुपमा महिला अगाडि नबढेसम्म महिलाको आवाज अगाडि आउन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले संविधानले नै आमा वा बुवाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था मिलाएकाले काठमाण्डौ महानगरका ३२ वटै वडाका अध्यक्षहरुलाई राखेर प्रशिक्षण दिन आवश्यक रहेकोले छिटै प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । 

महिला कानुन र विकास मञ्चले सन् २०१९ मा काठमाण्डाैबाट मात्र बाबु नभएकाहरु १३ जनालाई कानुनी मुद्दा लडेर नागरिकता प्रदान गरेको मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया