दिउँसाे घाम लाग्दा पनि अधिकतम तापक्रम घट्दा चिसो बढ्याे : माैसमविद्

 माघ ११, २०७६ शनिबार ७:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उहाँले बताउनुभयो । बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री घटेर काठमाण्डौको अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार काठमाण्डौको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यसैगरी दाङमा अस्तिको भन्दा ७ डिग्री सेल्सियसले अधिकतम तापक्रम घटेको छ । दाङको शुक्रबारकाे तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।

यसैगरी जनकपुर, विराटनगर, धरान, पोखरा, लुम्ले, जीरी आसपासका ठाउँको अधिकतम तापक्रम ३ डिग्री सेल्सियससम्म घटेको महाशाखाले जनाएको छ । तर जुम्ला, डढेलधुरा, धनगढी, नेपालगन्ज, दिपायल, भैरहवा, धनकुटा, ताप्लेजुङको अधिकतम तापक्रम भने बिहीबारकाे भन्दा शुक्रबार बढेको छ ।

बिहीबार ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम शुक्रबार ५ डिग्रीले बढेर अधिकतम तापक्रम १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै शनिबार पनि केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया