कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै ज्यान गयो, दुई वर्षकी बालिका पनि संक्रमित

 माघ ११, २०७६ शनिबार १०:५०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरकै ज्यान गएको छ । सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षका डाक्टर लियाङ वुदोङको शनिबार बिहान ज्यान गएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रकोपकै रुपमा कोरोना भाइरस फैलिएको चीनमा उपचारमा संलग्न डाक्टरकै ज्यान गएको यो पहिलो घटना भएको खबरमा उल्लेख छ । अहिलेसम्म २९ वटा प्रान्तका १ हजार २ सय ८७ जनामा कोरोना भाइरस भएको पुष्टि भएकोमा ७ सय २९ जना हुवेईका बासिन्दा रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

हुबेईमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गैसकेको छ । शुक्रबारमात्रै हुबेइमा १ सय ८० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् ।

यस्तै ग्वान्झीमा दुई वर्षकी बालिकामा पनि कोरोनाको संक्रमण भएको पाइएको छ । अहिलेसम्म चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया