सफलताकाे कथा समेटिएकाे पुस्तक 'युएईले बाँडेको मुस्कान’ आबुधाबीमा सार्वजनिक

 माघ ११, २०७६ शनिबार १५:३३:६ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - संयुक्त अरब इमिरेट्स यूएई आएर सफल बनेका नेपालीहरुको कथा समेटिएको पुस्तक ‘युएईले बाँडेको मुस्कान’ शुक्रबार आबुधाबीमा सार्वजनिक गरिएको छ ।

३ सय २५ पृष्‍ठ रहेकाे पुस्तकमा ४० जना सफल व्यक्तिका कथाहरु समेटिएका छन् ।

उज्यालो रेडियाे नेटवर्कका गोपाल गुरागाईँ तथा अच्युत घिमिरेको सम्पादन रहेको यस पुस्तकका लागि यूएईबाट जे.सागर र रामप्रसाद ढुङेलले कथा संकलन गर्नुभएको हो । बुलबुल पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको विमोचन गैरआवासीय नेपाली संघ संस्कृतिक तथा भाषा साहित्य प्रवर्द्धन समितिको मुख्य आयोजनामा नेपाली दूतावास आबुधाबीमा गरिएको हो ।

पुस्तक विमोचन गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पुस्तक एउटा अभिलेख पनि भएकाले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन पुस्तकले सेतुको काम गर्ने बताउनुभयो । पसिना बगाएर मेहनतपछिको सफलता अरुको लागि पनि प्रेरणादायी हुने भन्दै राजदूत ढकालले भन्नुभयो,‘यो सित्तैँमा पाएको सफलता होइन, त्यसैले यसको महत्व फरक छ।'

अवसरको खोजी गर्दै कामका लागि अर्को देश जानुलाई नियत र बाध्यताका दुई पाटाले छुट्ट्याउने भएकाले नेपालीले दु:ख नपाएको कुनै देश नभएको पुस्तकका सम्पादक गोपाल गुरागाईँले बताउनुभयो ।

तर यो पुस्तकले त्यो कुरालाई तोड्न सफल व्यक्तिहरुका कथा समेटेको उल्लेख गर्नुभयो । पुस्तकमा समेटिएका २६ जनाको कथा गुरागाईँले सम्पादन गर्नुभएको हो ।

पुस्तकमा पढेलेखेका वा धन कमाएका व्यक्तिका मात्रै नभएर काम गरेर सफल बनेकाहरुकाे कथासमेत समेटिएको छ । सामान्य साक्षर भएर यूएई आएका तनहुँका फडिन्द्र खनालले यूएईमा पाएको सफलतादेखि यूएईमै आएर कामसँगै अध्ययन गर्दै अहिले पीएचडी गर्दै गर्नुभएका दाङका नरेश सेनलगायतको कथा पुस्तकमा समावेश छन् ।  

काम गर्दा बगाएको पसिना डुंङडुङ गन्हाउने तर त्यो गन्हाएका पसिनाले दिएको सफलताको कथा मगमगाउँदाे बास्नादार भएका कारण पुस्तक सार्वजनिक भएको कार्यक्रममा उपस्थितहरुले बताउनु भयो ।

खाडीमा सधैं दु:खका कथामात्रै आमरुपमा सार्वजनिक भइरहेका बेला नेपालीले पाएका र पाउनसक्ने सफलतालाई पुस्तकमा समावेश गर्ने प्रयास गरिएको प्रकाशकले जनाएको छ ।

यो एउटा सुरुवात मात्रै भएको र क्रमिक रुपमा यसकाे अंक बढाउदै लैजाने बुलबुल पब्लिकेशनका अध्यक्ष ध्रुव केसीले बताउनुभयो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्य तथा पुस्तकको सम्पादन गर्नुभएका उज्यालो रेडियाे नेटवर्कका सञ्चालक गोपाल गुरागाईँ र अच्युत घिमिरेको विशेष आतिथ्यमा भएको कार्यक्रममा यूएईका विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

पुस्तक बजारमा ल्याएको बुलबुल पब्लिकेशनले कथामा समावेश पात्रहरुलाई मायाको चिनोसहित सम्मान गरेको थियो । एनआरएन यूएईका सह-कोषाध्यक्ष फडिन्द्र ढकालको सभापतित्व रहेको कार्यक्रममा पुस्तकबारे निमेष गिरीले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली दूतावासका पदाधिकारी, स्थानीय नेपाली व्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेकाे थियो ।

पुस्तकको नेपालमा बजार मूल्य  ३७५ रुपैयाँ रहेको छ भने यूएइका लागि २५ दिराम ताेकिएकाे छ ।

पुस्तकमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले समेत शुभकामना सन्देश लेख्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया