रुघाखोकी र ज्वरो प्रभावित हुम्लामा डाक्टर भोलि मात्रै पुग्ने

 माघ १२, २०७६ आइतबार २०:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - रुघाखोकी र ज्वरोका कारण हुम्लामा सातजनाको ज्यान गएको छ ।

हुुम्लाको चंखेली गाउँपालिकामा गएको १६ दिनमा पाँचजनाको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीले जानकारी दिनुभयो । यस्तै सर्केगाड र खार्पुनाथ गाउँपालिकामा एक-एक जनाको ज्यान गएको छ ।

हुम्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप रहेको तथा प्रकोपबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका पनि स्थानीयले जानकारी दिएका छन् । समयमै उपचार नहुुँदा प्रकोप नियन्त्रण हुन नसकेको गाउँपालिकाका उपाध्यक्ष बिमलाकुुमारी शाहीको भनाइ छ ।

रुघाखोकी र ज्वरोका विरामी बढेपछि प्रभावित क्षेत्रमा मुगुबाट डाक्टरसहितको टोली गएको छ । तर यो प्रभावित क्षेत्र सडक सञ्जालमा नजोडिएकाले डाक्टरसहितको टोली भोलि साेमबार मात्रै पुग्ने चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागार्ईंले जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेश सरकारले पनि औषधिसहितको  प्राविधिक टोली पठाएको छ । यो टोली पर्सी म्गलबार मात्रै प्रभावित क्षेत्रमा पुग्नेछ । खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले विरामीलाई रुघाखोकी लाग्ने, टाउको दुःखने समस्या देखिएको उज्यालोलाई जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया