राष्ट्रिय स्वार्थमा आँच नआउने सुनिश्चितता गरेर मात्रै एमसीसी स्वीकृत गराैँ : साझा पार्टी

 माघ १३, २०७६ सोमबार १८:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साझा पार्टीले एमसीसीमा भएका केही प्रावधान संशाेधन गरेर मात्रै लागू गर्नुपर्ने धारणा राखेको छ । साझा पार्टीले परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा आँच नआउने सुनिश्चितता गरेर एमसीसी परियोजनालाई स्वीकृत गर्नुपर्ने बताएको हाे । 

‘वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान हो’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालको कानुनसँग बाझिने वा नेपालको कानुन अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो देशको सहमति लिनुपर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत हुने साझा पार्टीको भनाइ छ ।

अहिलेको विवादले अमेरिकासँग लामो समयदेखि रही आएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न गराउने खतरा भएको साझाले उल्लेख गरेको छ। 

खतरा उत्पन्न हुनुमा वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता र नेपाल सरकारको कमजोर तयारी र संवाद तथा एमसीसीको पक्ष र विपक्षमा आइरहेका अतिरञ्जित तर्क, वितर्क रहेको साझाले जनाएको छ । संवेदनशील विषयहरूको निरूपण नगरी सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त नदेखिने विज्ञप्तीमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया