‘विदेशबाट पठाएको पैसा दबाइ र बुढेसकालको सहारा भएको छ’

 माघ १४, २०७६ मंगलबार १४:५६:३३ | मेरो कथा मेरो भोगाई

कुमार थापा/मेचीनगर ७, झापा।

उबेला भनेको सुनेको थिएँ, ‘मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ पनि ।’ आज ७० वर्ष टेक्दै गर्दा हो रहेछ जस्तो लाग्दैछ । मेरा कोही नभएर म एल्लो भएको होइन । सबैजना छन् । छोराछोरी, नातिनातिना पनि । तर अहिले हामी बुढाबुढी मात्रै छौं ।

दुईमध्ये एकलाई केही भए एक्लै त भइन्छ होला नि । मेरा चार भाइ छोरा र तीन बहिनी छोरी हुन् । कोही बिराटनगरतिर छन् । कोही परदेश तिर । छोरा र नाति पनि साउदी गएको थुप्रै भइसक्यो । सबैजना हुँदा घरमा हराभरा थियो । अहिले घर मात्र हैन, खेतबारीमा पनि सुख्खा लागेको छ ।

आआफ्नो कर्म अनि भविष्य त बनाउन पर्यो । हाम्रो पालामा साउदी कतारको नाम सुनेको थिएन । विदेश भनेकै मेचीखोला पारी हो जस्तो लाग्थ्यो । मेरो उमेर ढल्कियो । म बुढो भएँ, तर जमाना तन्नेरी भयो ।

छोराहरुको पालामा के समय आयो यस्तो, जागिर खोज्न जहाज चढेर जानुपर्ने रे । अहिले मेरो मात्र हैन गाउँका सबैका छोरा घरमा छैनन् । कोही काठमाण्डौ त कोही विदेश गएका छन् । खेतीपाती कसले गर्छ र ।

हिजोआज गाउँमा गोरु पाल्दैनन् । मैले पनि बाख्रा मात्र पालेको छु । खेतीपाती गर्न बुढापाका मजस्ताको पाखुरा चल्दैन । सक्नेहरु अरुको देशमा छन् । धन्न ट्याक्टर आएको छ र अलि सहज भएको छ ।

हिजोआज म धान रोप्दिनँ । एक त खेत पनि खोलाले बगायो । भएको खेतमा पनि धान रोप्न कहाँ सजिलो छ र । त्यसैले गेडागुडी रोप्यो । छोराछोरीले पैसा पठाइदिन्छन् चामल किन्यो ।

त्यही खायो बस्यो । तर सजिलो चाहिँ छैन है । पहिले आफ्नै भकारीको धान निकाल्नजस्तो कहाँ हुन्छ र । बुढो भइयो । नाडीमा दम छैन । उही त हो छोराछोरीको आश गर्यो बस्यो । छोराछोरी साथमा नहुँदा अनेक समस्या हुने रहेछ ।

ज्यान सद्दे भए पनि केही भयो भने के होला भन्ने मनको पीर सधैं हुने रहेछ । गाउँमा अहिले सबै बुढापाका मात्रै छन् । अराइपराई गर्न पनि मानिस छैनन् । विदेशबाट आउने पैसा नै सबैथोक भएको छ । दबाई र बुढेसकालको सहारा पनि ।

अन्तिम अपडेट: बैशाख १८, २०७७

तपाईको प्रतिक्रिया