आफ्ना मागहरुमा सरकार सकारात्मक भए समर्थन गर्ने राजपाकाे संकेत

 माघ १४, २०७६ मंगलबार १६:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन गर्न तयार भए समर्थन जनाउन सकिने बताउनुभएको हो ।

उहाँले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफूहरु स्पष्ट भएको बताउनुभयो ।  

संविधान संशोधन, रेशम चौधरीलगायत थारुहट र मधेश आन्दोलनका सहभागीहरुमाथि लगाइएको झुटा मुद्दा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानका राम्रो पक्षलाई संस्थागत गर्न  र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ । सरकारले संविधान संशोधनको प्रकृया अगाडि बढाउनुपर्‍यो । सरकारले जति भन्छ त्यति दिनका लागि समर्थन दिन्छौँ । सरकारले हाम्रा मागहरु पूरा गरोस रेशम चौधरी लगायतलाई रिहाइ गरोस सरकारलाई समर्थन गर्न तयार छौँ ।’

अहिलेकै अवस्थामा सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको भएपनि संघीयता मजबुत पार्ने र गणतन्त्रलाई बलियो बनाउनका लागि सरकारले पार्टीले उठाएका मुद्दाहरु गम्भीर रुपमा लिए समर्थन गर्न सकिने उहाँले बताउनुभयो ।

सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गर्नुभएको छ । आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्ने कुराहरु बाहिर आएको र यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ । उसले कसरी दिन्छ । राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो सरकारले स्पष्ट पारोस्।’

सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडि नबढेको आरोप उहाँले लगाउनुभयो । उहाँले उखु किसानहरुको पैसा भुक्तानी गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया