सरकारले हरेक कानुन गलत मनसायले ल्याएको छ : कांग्रेस नेता पौडेल

 माघ १४, २०७६ मंगलबार १८:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानुन गलत मनसायका साथ ल्याएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकूल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

नेकपाले एकदलिय निरङ्कुशतातर्फ अगाडि बढेकाे भए पनि जनताको बहुदलसँग जोडेर आफूलाई जनवादसँग जोड्न लागेको आरोप लगाउनुभयो । ‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ । जनमतको दबाबमा बाहाना अर्कोथरी गर्नुपरेको छ’, उहाँले भन्नुभयो ।

पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भए पनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताउनुभयो ।संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइँदैन भनेर खबरदारी गर्न पाइएको उहाँले बताउनुभयो ।

सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उहाँले बताउनुभयो । पाैडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भए पनि आफ्नो सधै सहयोग हुने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले नेपाली कांग्रेसभित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंँल्याउनुभएको छ । कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पुर्‍याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया