रसुवागढी नाका बुधबारदेखि १५ दिनसम्म बन्द

 माघ १५, २०७६ बुधबार ११:५७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ ।

रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनकाे जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ ।   

नाका बन्द गर्नुअघि नेपाली तथा चिनियाँ अधिकारीहरूबीच मङ्गलबार बिहान रसुवागढीमा बैठक बसेको थियो । बैठकले कोरोना भाइरसको सङ्क्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुङ्गाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।

रसुवागढीमा मङ्गलबार बिहान बसेको बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि केरुङ जान पाउने छैनन् । 

चाइना पास भएका व्यक्ति नाका पारीसम्म मात्र जान पाउँछन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले मङ्गलबार साँझ एक विज्ञप्ति निकाल्दै नाका पूर्णरुपमा बन्द भन्ने हल्ला निराधार भएको बताएको छ । 

नाकाबाट सवारी साधन तथा मानिसले आवतजावत गर्न नमिल्ने तर रसुवा तथा केरुङका भन्सार अध्यागमन खुल्ने जानकारी दिएको हो । सीमा बैठकमा दुई देशका सुरक्षा अधिकारी बीच छलफल हुनुपर्नेमा सीमाका सुरक्षाकर्मीले मात्र छलफल गरेर निर्णय गरेको प्रति कार्यालयले असन्तुष्टि जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया